कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मध्यपुरमा तिहार पछि मात्रै विद्यालय सञ्चालन : नगर प्रमुख श्रेष्ठ

रासस

भक्तपुर — मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गरेका छन् । 

मध्यपुरमा तिहार पछि मात्रै विद्यालय सञ्चालन : नगर प्रमुख श्रेष्ठ

बिहीबार निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मध्यपुर नगर समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले अरु जिल्लामा विद्यालय खालियो भन्दै हतारिएर विद्यालय खोले पछुताउनु पर्ने बताएका हुन् ।

१८ वर्ष माथि उमेरकाले कोभिड विरुद्धको भ्याक्सिन लगाए पनि १८ वर्ष मुनिका बालबालिकामा तेस्रो लहरको कोभिडको जोखिम कायमै रहेको भन्दै उनले मध्यपुरथिमि नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिका भन्दा पछि मात्रै विद्यालय खोल्ने अनुमति दिने बताए ।

दसैंमा घर गएर आउनेहरुले थप कोभिडको जोखिम बढाउने भन्दै उनले दसैं पछाडि विद्यालय सञ्चालनका लागि पूर्वाधारको तयारी गर्ने र कोभिड महामारीको अवस्था हेरेर मात्रै तिहार पछि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने उनको भनाइ थियो ।

नगर प्रमुख श्रेष्ठले भने, 'सनकको भरमा विद्यालय सञ्चालन गर्दा कोभिडका कारण एउटा विद्यार्थीको मात्रै ज्यान गयो भने के हुन्छ ? त्यसैले भौतिक रुपमा विद्यालय सञ्चालन गरेपछि कुनै पनि विद्यार्थीको भौतिक क्षति नहुने गरि विद्यालय सञ्चालन गर्नुपर्छ अहिले विद्यालय खोल्न हतार नगरौं ।'

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले कोभिडका कारण विद्यालय चल्नै नसक्ने गरी नाजुक अवस्थामा पुगेको भन्दै अनलाइन कक्षा प्रभावकारी नभएकाले भौतिक रुपमानै विद्यालय सञ्चालन गर्न नगरपालिकाले अनुमति दिनुपर्नेमा जोड दिइन् । उनले विद्यालय सञ्चालनमा मापदण्ड निर्धारण गर्ने र हरेक साता अनुगमन गर्दै मापदण्ड पुरा नगर्नेलाई कारबाही गर्ने नीति लिएर पनि दसैं अगाडि विद्यालय सञ्चालन गर्न पाउनु पर्ने बताइन् ।

प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठले कोभिडका कारण विद्यालय सञ्चालक निकै पीडामा परेको भन्दै असोज १ गतेदेखि अन्त जस्तै यहाँ पनि विद्यालय सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले बजारदेखि बस, रेष्टुरेष्ट जताततै भीड गर्न हुने तर विद्यालय सञ्चालन गर्ने कुरा आउँदा हुँदैन भन्ने प्रवृत्तिनै गलत भएको भन्दै दसैंमा शिक्षक/कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थासमेत नभएको बताए ।

अधिवेशनले निलेश आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा शंकरकर्ण कायस्थ, सचिवमा रत्नमान शंखदेव, कोषाध्यक्षमा सुमन बस्नेत र सदस्यहरुमा आशाहरि प्रजापति, बुद्ध बााडे, मनोज दिक्षित आचार्य, कृष्णहरि धवा श्रेष्ठ र अनिता श्रेष्ठलाई चयन गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?