त्रिवि पुस्तकालयलाई एक लाखको पुस्तक उपहार

३ हजारभन्दा बढी ऐतिहासिक मूर्तिकलाका स्रोत र विवरण खुलाइएको पुस्तकमा ९० प्रतिशत उपत्यकाकै सम्पदा
गणेश राई

काठमाडौँ — झट्ट सुन्दा पत्याउन गाह्रो पर्छ । तर, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले झन्डै एक लाख मोलको पुस्तक यसै साता उपहारमा पाएको छ । लेखक उल्रिच भोन स्क्रोइडरले नै पुस्तकालयलाई यस्तो महँगो दुई सेट पुस्तक उपहारमा दिएका हुन् ।

त्रिवि पुस्तकालयलाई एक लाखको पुस्तक उपहार

पुस्तक हो– ‘नेप्लिज स्टोन स्कल्प्चर्स’ (नेपालको प्रस्तर मूर्तिकलाहरू) । स्क्रोइडरद्वारा लिखित पुस्तक ‘हिन्दु’ (हिन्दु मूर्तिकला) र ‘बुद्धिस्ट’ (बौद्ध मूर्तिकला) गरी दुई भागमा प्रकाशित छ । स्विडेनको भिजुअल ड्रामा पब्लिकेसन्सले छापेको पुस्तकको मूल्य ८ सय अमेरिकी डलर राखिएको छ । पुस्तकालयमा संगृहीत पुस्तकमध्ये यो नै सबैभन्दा बढी मूल्यको हो ।

पुस्तकालयले अहिलेसम्म एउटा पुस्तक बढीमा ३० हजार रुपैयाँसम्म मूल्यमा किनेको प्रमुख पूर्णलाल श्रेष्ठले बताए । ‘नेपालको ऐतिहासिक, पुरातात्त्विक महत्त्वका प्रस्तर मूर्तिकलाहरू समेटेर लेखिएको पुस्तक अहिलेसम्मकै बृहत् पुस्तक यही नै हो,’ उनले भने, ‘देशको मूर्तिकला सम्पदा अध्ययन गर्नेका लागि यो ज्यादै महत्त्वपूर्ण छ । मूल्य सुन्दै अत्यासलाग्दो छ, धन्न उपहारमा पाइयो ।’ इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागलाई पनि लेखकले प्रतिनिधिमार्फत उक्त पुस्तकको सेट उपलब्ध गराएका छन् । राष्ट्रिय पुस्तकालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, राष्ट्रिय अभिलेखालय, हनुमानढोका दरबार हेरचाह अड्डा र पाटन संग्रहालयले पनि उपहारस्वरूप पुस्तक पाएका छन् ।

‘१५ हजार मूर्तिका तस्बिर नेपाललाई उपहार’

पुस्तकभित्र तीन हजारभन्दा बढी ऐतिहासिक तथा पुरातात्त्विक मूर्तिकलाका तस्बिर छन्, तिनको आधिकारिक स्रोत र विवरण पनि खुलाइएको छ । श्रेष्ठका अनुसार तीमध्ये ९० प्रतिशत काठमाडौं उपत्यकाकै मूर्तिकलासम्बन्धी छन् । एक सेट संग्रह गर्ने र अर्को सेट सर्वसाधारण र अनुसन्धाताका लागि उपलब्ध गराउने पुस्तकालयको योजना छ । लेखकले पुस्तकका अतिरिक्त पुस्तकमा समेट्न नसकिएका विभिन्न मूर्तिका १५ हजार डिजिटल तस्बिरको संग्रहसमेत पुस्तकालयलाई दिएका छन् ।

‘नेप्लिज स्टोन स्कल्प्चर्स’ पुस्तकलाई नै आधार बनाएर नेपालबाट चोरी भएर बिदेसिएका मूर्ति नेपाल फर्काउने प्रयास पनि सुरु भएको छ । यही पुस्तकमा समावेश तस्बिर र विवरणको आधारमा नेपालबाट चोरी भएको प्रमाणित भएपछि हालैमात्र एउटा मूर्ति अमेरिकाबाट फिर्ता आएको छ । उक्त मूर्ति अहिले स्वयम्भूमा राखिएको श्रेष्ठले जनाए ।

लेखक स्क्रोइडर सन् १९६५ मा पहिलोपटक नेपाल आएका थिए । यहाँ रहँदा उनले मूर्तिकलाको अध्ययन, अनुसन्धान गरेका थिए । छ महिनाअघि पुस्तक लिएर ७८ वर्षीय स्क्रोइडर आफैं नेपाल आएको र केही संस्थालाई पुस्तक उपहार दिएको फोटोग्राफर सुनील डंगोलले बताए । ‘वर्षौंदेखि नेपालको मूर्तिकला अध्ययन गर्नुभयो तर फोटोग्राफी राम्रो नभएपछि पुस्तक प्रकाशनमा ल्याउन सक्नुभएको थिएन,’ पुरातत्त्वसम्बन्धी फोटोग्राफर डंगोलले भने, ‘उहाँले लिनुभएको फोटो क्वालिटी राम्रो थिएन । मैले करिब १० वर्षदेखि गुणस्तरीय फोटो उपलब्ध गराएपछि उत्साहित भएर पुस्तक प्रकाशनमा ल्याउनुभएको हो ।’

केन्द्रीय पुस्तकालयमा ४ लाख २० हजार किसिमका पुस्तक तथा पत्रिका (बाउन्ड भोलुम) छन् । पुस्तकालयकी सहप्रशासक इन्दिरा घिमिरे (कोइराला) का अनुसार पुस्तकालयमा मूर्तिकलासम्बन्धी १ सय ५० शीर्षकका पुस्तक छन् । तीमध्ये लैनसिंह वाङ्देलको ‘मूर्तिकला पुस्तक’ निकै चर्चित छ । त्रिवि इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. प्रेमकुमार खत्रीका अनुसार नेपालको मूर्तिकलाको इतिहास इसापूर्व दोस्रो शताब्दीयताका प्रमाण फेला परेका छन् ।

‘हाँडीगाउँमा फेला परेको जयबर्माको मूर्ति दोस्रो शताब्दीको मानिएको छ,’ उनले भने, ‘तेस्रो र चौथो शताब्दीमा किरातकालीन मूर्तिकला प्रारम्भ भएको हो । त्यसको उदाहरण पशुपतिनाथ परिसरमा विरुपाक्षको मूर्तिलाई लिइएको छ । त्यतिखेर हिन्दु वा बौद्धको मूर्तिकला सुरु भएकै थिएन ।’ लेखक स्क्रेइडरले लिच्छविकालपछिको मूर्तिकलाको अध्ययन गरेको उनले जनाए ।

प्रकाशित : भाद्र ३१, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?