३ किलो सुनका गहनासहित २ पक्राउ- उपत्यका - कान्तिपुर समाचार

३ किलो सुनका गहनासहित २ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानतर्फको ब्यागेज क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ३ किलो ३ सय ६० ग्राम सुनका गहना भेटिएपछि कैलालीको बर्दगोरिया–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम–२ का ४७ वर्षीय मुरारीराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । श्री एयरलाइन्सको उडानद्वारा विराटनगर जान लागेका उनीहरुको ब्याग एक्सरे मेसिनमा जाँच गर्दा सुनका गहना भेटिएका थिए । 

भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम र अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका गहना बरामद भएपछि दुवैले त्यो वैध रहेको प्रमाण देखाउन नसकेकाले सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

सुनसहित उनीहरुलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्

थप २३ जिल्लामा दुई लाख २० हजार गरिब पहिचान

यसअघि २६ जिल्लामा तीन लाख ९१ हजार आठ सय ३१ गरिब परिवारको पहिचान
प्रकाश धौलाकोटी

काठमाडौँ — सरकारले थप २३ जिल्लामा दुई लाख २० हजार ९ सय ४१ गरिब परिवारको पहिचान गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ती जिल्लाका ११ लाख २४ हजार दुई सय ९ परिवारमध्ये दुई लाख २० हजार ९ सय ४१ घरधुरी गरिब रहेको पहिचान गरेको हो । ती परिवारको तथ्यांक विश्लेषण गरी अब अति गरिब, मध्यम गरिब र सामान्य गरिबको पहिचान गर्न भने बाँकी रहेको छ । 

मन्त्रालयले ‘गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका–०७५’ मा उल्लेखित गरिब पहिचान गर्ने विभिन्न सूचकहरुका आधारमा गरिब घरधुरी पहिचान गरेको हो । निर्देशिकाले परिवारको आकार, शैक्षिक अवस्था, औसत आयु, आम्दानीका स्रोत र आश्रित व्यक्ति, घरको स्वामित्व, छानो र कोठा, पिउने पानी, शौचालय र इन्धनको उपयोग, सवारी साधन, सञ्चार सुविधा, चौपाया, भौगोलिक बनावट, जातिगत समूह र अन्य सम्पत्तिको आधारलाई गरिब पहिचानका सूचक तोकेको छ ।

तीनै सूचकका आधारमा मन्त्रालयले स्थानीय तहमार्फत आर्थिक वर्ष २०७६/७७मा गणक परिचालन गरेको थियो । त्यही सर्वेक्षणअनुसार दार्चुलामा ६२.२, डोटीमा ६३.७ प्रतिशत र डडेल्धुरामा ५३.७ प्रतिशत गरिबी रहेको छ । त्यस्तै, ताप्लेजुङमा २८.३, संखुवासभामा ३१.५, सोलुखुम्बुमा २०.४, धनकुटामा १४.२ र पाँचथरमा १५.९ प्रतिशत गरिबी रहेको छ । त्यस्तै, उदयपुरमा २६.३, महोत्तरीमा २९.३, रसुवामा २२.८, धादिङमा १४.४, काभ्रेमा १३.६, मकवानपुरमा २३.४, म्याग्दीमा १३.९, लमजुङमा १८.९ र स्याङजामा ७.५ प्रतिशत गरिबी रहेको छ । त्यस्तै, पाल्पामा ११.४, दाङमा १७.८, बाँकेमा ३०.१, दैलेखमा ३९.२, सल्यानमा २३.६ र सुर्खेतमा २६.५ गरिबी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ती जिल्लाका स्थानीय तहमार्फत चार सय ५६ गणक र ८४ जना सुपरीवेक्षक परिचालन गरेको थियो । ती गणक र सुपरीवेक्षकमार्फत संकलन भएको ११ लाख २५ हजार दुई सय ९ परिवारको अवस्थाको विस्तृत विश्लेषण भइरहेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

सरकारले गरिब घरधुरीको पहिचान गर्ने र तिनको अवस्थाका आधारमा परिचय पत्र दिएर गरिबी निवारणका लागि विभिन्न सेवा सुविधा दिने उद्देश्यले गरिब पहिचान कार्यक्रम सञ्चालन गरेको छ । यसरी पहिचान भएकामध्ये अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो रंगको परिचय पत्र वितरण गरिन्छ । तर, सरकारी ढिलासुस्तीका कारण पहिचान भएका गरिब परिवारले भने कुनैपनि सुविधा पाएका छैनन् ।

सरकारले ०६९ मा गरिब घरपरिवार पहिचान गर्ने ‘समन्वय बोर्ड’ गठन गरेको थियो । तर, त्यो खारेज भइसकेको छ । अहिले मन्त्रालयको एउटा शाखाले यो कार्यक्रम हेर्दै आएको छ । गरिब पहिचानमै ढिलाइ भएका कारण गरिबले भने राज्यका तर्फबाट कुनैपनि सुविधा पाएका छैनन् ।

मन्त्रालयले यसअघि २६ जिल्लाका तीन लाख ९१ हजार आठ सय ३१ गरिब परिवारको पहिचान गरिसकेको छ भने ओखलढुंगा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, मनाङ, मुस्ताङ, गुल्मी, रुपन्देही, कञ्चनपुर र बैतडीमा गरिब पहिचानका लागि तथ्यांक संकलन गरिसकेको छ ।

त्यस्तै, चालू आर्थिक वर्षमा इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, पर्वत, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा पनि तथ्यांक संकलन गर्ने योजना रहेको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×