सभाहल खाली, महानगरका कार्यक्रम होटलमा
काठमाडौँ — गत वर्षको असार २६ मा रविभवनस्थित होटल क्राउन इम्पेरियलमा काठमाडौं महानगरपालिकाले सेमिनार गर्यो । सेमिनारबापत होटललाई १ लाख २ हजार पाँच सय ४८ रुपैयाँ भाडा बुझाइयो । गत माघ २१ मा सिनामंगलको एयरपोर्ट होटलमा अर्को एउटा सेमिनार आयोजना भयो ।
त्यसका लागि पनि महानगरले ६ लाख ३६ हजार ४ सय १६ रुपैयाँ खर्च गर्यो । यी दुवै दिन महानगरमातहतको राष्ट्रिय सभागृहमा भने कुनै कार्यक्रम हुने तय थिएन । कार्यक्रमका लागि सभागृह उपलब्ध हुँदाहुँदै महानगरले ठूलो रकम खर्च गरेर होटलमा कार्यक्रम गरेको हो ।
यस्तो घटना पहिलोपटक भएको भने होइन । महानगरले ०७६/७७ मा १६ वटा (१६ दिन) अभिमुखीकरणलगायत कार्यक्रमहरू विभिन्न होटलमा गरेको देखिन्छ । त्यसमध्ये २ दिन मात्र सभागृहको हल अन्य कार्यक्रमका लागि लिइएको थियो । ब्रिटिस गोर्खा सैनिक संगठन र रसुवागढी हाइड्रोपावरले ती दुई दिन सभागृहमा कार्यक्रम गरेका थिए । तर महानगरले १६ दिन होटल तथा रिसोर्टमा कार्यक्रम गरेबापत ७६ लाख २ हजार ८ सय १२ रुपैयाँ खर्चेको छ ।
जबकि सरकारले २०७५ सालमै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न भन्दै मार्गदर्शन नै जारी गरेको थियो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन २०७५’ जारी गरेका थिए । उक्त मार्गदर्शनको बुँदा नं ११ मा सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तरक्रियाजस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्नुपर्ने उल्लेख छ । खतिवडापछिका अर्थमन्त्री विष्णु पौडेलले पनि कोरोना महामारीका कारण राज्यको ढुकुटीमा दबाब परिरहेको भन्दै ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड २०७७’ जारी गरेका थिए । तर काठमाडौं महानगरले खर्चमा मितव्ययिता अपनाउनु त परको कुरा, भएको स्रोतसाधन प्रयोग नगरी अनावश्यक व्ययभार बढाउने काम गरेको छ ।
महानगरको यो प्रवृत्तिलाई महालेखा परीक्षकको कार्यालयले पनि औंल्याएको छ । महालेखाको ५८ औं लेखापरीक्षण प्रतिवेदन (आव ०७६/७७) ले पनि काठमाडौं महानगरले १६ वटा सेमिनारबापत ७६ लाख २ हजार ८ सय १२ रुपैयाँ खर्च गरेको जनाएको छ ।
महानगरमातहत २ वटा सभाहल छन् । महानगरको कार्यालय रहेको सुन्धारास्थित जेडिए भवनमा ४० जनासम्म अटाउने हल छ । त्यस्तै, राष्ट्रिय सभागृहमा ५ सय जनाभन्दा बढी क्षमताको सभाहल छ । आफ्नै हल हुँदा पनि महानगरले राजधानीका विभिन्न होटलमा गएर सेमिनार, अभिमुखीकरणलगायत विभिन्न कार्यक्रम आयोजना गरेको हो ।
महानगर प्रवक्ता ईश्वरमान डंगोलले होटलमा मात्र नभएर आफ्नै हलमा धेरै कार्यक्रम तथा सेमिनार आयोजना गरेको दाबी गरे । ‘समीक्षा, विभागीय कार्यक्रम, जनचेतनालगायत धेरै कार्यक्रम राष्ट्रिय सभा गृहमै गरेका छौं,’ उनले भने, ‘होटलमै गएर गर्नुपर्ने कार्यक्रम मात्र बाहिर गरेका छौं ।’ शान्त वातावरणमा र ध्यान केन्द्रित गर्नुपर्ने, योजना बनाउने कार्यक्रम मात्र बाहिर गरेको उनको दाबी छ । ‘सातामा दुईदेखि तीनवटा कार्यक्रम गर्नुपर्छ, त्यो राष्ट्रिय सभागृहमै हुन्छ,’ उनले भने, ‘लामो छलफल गरेर निचोड निकाल्नुपर्ने कार्यक्रम तथा सेमिनारचाहिँ बाहिर गरेको हो ।’
पूर्वसचिव गोपीनाथ मैनाली भने बाध्यात्मक अवस्थाबाहेक होटलमा सेमिनार तथा कार्यक्रम गर्न नहुने बताउँछन् । स्थानीय तहले मितव्ययी सोच राखेर काम गर्नुपर्ने उनको भनाइ छ । ‘आफ्नो सभाकक्ष, सभाहल छ भने बाहिर होटलमा सेमिनार गर्नु राम्रो हुँदैन,’ उनले भने, ‘कोरोना महामारीको अवस्थामा बाहिर जमघट गर्ने तथा खर्च गर्ने काम कम गर्नुपर्छ ।’ संघीय सरकारले जारी गरेको मितव्ययी मार्गदर्शनको उल्लंघन गर्न नहुने उनले बताए । ‘जनताको पैसा भएकाले जनताकै पसिना पुछ्नका लागि मात्र खर्च गर्नुपर्छ,’ उनले भने ।
प्रकाशित : भाद्र ३०, २०७८ १२:१६