कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नक्कली बम’ राखेर फिरौती माग्ने ३ जना पक्राउ

काठमाडौँ — काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘नक्कली बम’ राखेर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घरभई काठमाडौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक कुँवर र रोल्पा परिवर्तन गाउँपालिका–१ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर छन् ।

‘नक्कली बम’ राखेर फिरौती माग्ने ३ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । बिहीबार आशिषले अस्पतालका एक डाक्टरलाई पटक–पटक फोन गरी अस्पताल र घरमा बम राखेर पड्काइदिन्छु, परिवारलाई पनि ध्वस्त पार्छु भन्दै धम्की दिएका थिए । अस्पताल र घर परिवारलाई सुरक्षित राख्ने भए ३ करोड रुपैयाँ लिएर नागढुंगा आउनु भनेर धम्की दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।

बिहीबार उनीहरुले अस्पतालको तेस्रो तलाको शौचालयमा बम राखेको र अस्पतालका रिसेप्सनिस्टलाई फोन गरेको प्रहरीले जनाएको छ । धम्की आएपछि बम राखिएकोबारे प्रहरीलाई खबर भएको थियो । परिसरबाट प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा प्रहरीको टोली खटिएको थियो । सेनाको डिस्पोजल टोली पनि घटनास्थल पुगेको थियो । उक्त बम तर्साउनलाई मात्रै राखेको डिस्पोजल टोलीले बताएको थियो । यद्यपि त्यसमा के–कस्ता विस्फोटक पदार्थहरू थिए भन्ने बारेमा परीक्षण भइरहेको एसएसपी सिंहले बताए ।

प्रहरीका अनुसार आशिष कुँवरले उक्त अस्पतालमा आफ्नो आँखाको शल्यक्रिया गरेका थिए । जसकारण उनले अस्पतालका कर्मचारीदेखि डाक्टरहरू समेतको सम्पर्क नम्बर लिएका थिए । उनीहरूले बम युट्युबबाट हेरेर बनाएको प्रहरीलाई बताएको एसएसपी सिंहले बताए ।

प्रकाशित : भाद्र २७, २०७८ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?