कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

परीक्षा नै नदिई मेडिकल काउन्सिलको लाइसेन्स !

लिला श्रेष्ठ

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकलाई तथा नेपाल फार्मेसी काउन्सिलले फर्मासिस्ट र फार्मेसी सहायकलाई लाइसेन्स दिन्छ । यस्तो लाइसेन्स पाउन विद्यार्थीले अनिवार्य काउन्सिलको परीक्षा पास गरेको हुनुपर्छ ।

परीक्षा नै नदिई मेडिकल काउन्सिलको लाइसेन्स !

तर विदेशमा चिकित्सा शिक्षा पढेर आएका तर लाइसेन्स लिन नसकेका तथा फार्मेसीमा स्नातक वा प्रमाणपत्र तह नै नपढेकाले पनि काउन्सिलबाट लाइसेन्स लिइरहेको तथ्य फेला परेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले सोमबार बागलुङ बडिगार्ड–९ का युद्धबहादुर केसीलाई पक्राउ गरेपछि उक्त तथ्य खुलेको हो ।

ललितपुर प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार केसीलगायतले फार्मेसीमा डिप्लोमा गरेकोदेखि फार्मेसी काउन्सिल र मेडिकल काउन्सिलबाट दिइने लाइसेन्ससम्म नक्कली बनाउँदै बेच्ने गरेको पाइएको छ । नेपाल तथा भारतका विभिन्न कलेजबाट फार्मेसी उत्तीर्ण गरेको भन्दै नक्कली प्रमाणपत्र बनाउने र त्यही आधारमा काउन्सिलको लाइसेन्ससमेत नक्कली निकाल्ने गरेको अनुसन्धानबाट खुलेको छ । लाइसेन्स परीक्षाका लागि काउन्सिलले प्रवेशपत्र उपलब्ध गराएपछि त्यसमा रहेको फोटो उप्काएर परीक्षा पास गर्न सक्ने व्यक्तिको फोटो टाँसी परीक्षा दिन लगाउने र प्राप्त लाइसेन्स बेच्ने गरेको भेटिएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् ।

‘फार्मेसी पासै गर्न नसकेका व्यक्तिको पनि काउन्सिलबाट लाइसेन्स निकाल्दिएर २ देखि ५ लाख रुपैयाँसम्म रकम लिने गरेको केसीले स्विकारेका छन्,’ उनले भनिन्, ‘यस्ता व्यक्तिले औषधि पसल सञ्चालन गरे नागरिकको स्वास्थ्य के होला ?’ उनका अनुसार यो कार्यमा केसीसँगै अर्का एक व्यक्तिको पनि संलग्नता पुष्टि भएको छ । उनी फरार छन् । ‘फरार व्यक्तिको पहिचान भइसकेकाले छिट्टै नियन्त्रणमा लिन्छौं,’ उनले भनिन् ।

केसीको साथबाट नक्कली लाइसेन्स, नक्कली प्रवेशपत्र, फार्मेसी पास परेको नक्कली मार्कसिटलगायत कागजातको डिजिटल कपी बरामद गरेको प्रवक्ता महर्जनले बताए । ‘सीटीईभीटी, नेपाल र भारतका विभिन्न कलेजको नाममा बनाइएका नक्कली कागजात बरामद भएका छन्,’ उनले भने, ‘वैधानिकता जाँचका लागि सम्बन्धित कलेज तथा सीटीईभीटीमा पठाउने तयारी छ ।’

उनीहरूले त्यस्ता कागजात कहाँ र कसरी प्रिन्ट गर्थे भन्ने नखुलेको उनले बताए । केसीको सम्बन्ध असार १४ मा पक्राउ परेका भन्सार छलेर चारपांग्रे सवारी काठमाडौं भित्र्याई बिक्रीवितरण गर्ने र नक्कली प्रमाणपत्र बनाउने व्यक्तिहरूसँग रहेको समेत खुलेको छ ।

प्रकाशित : भाद्र २६, २०७८ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?