उपत्यकामा ७ वटा फोहोर पानी प्रशोधन केन्द्र बन्दै- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा ७ वटा फोहोर पानी प्रशोधन केन्द्र बन्दै

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकाको बढ्दो फोहोर पानी व्यवस्थापनका लागि ७ वटा प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको छ । सहरी विकास मन्त्रालयले टुकुचा र खानेपानी मन्त्रालयले गुह्येश्वरी र धोबीघाटमा २/२ वटा तथा सल्लाघारी, कोड्कु र धोबीघाट प्रशोधन केन्द्र निर्माण अघि बढाएको हो ।

उपत्यकाका करिब ५३ लाख जनसंख्यालाई लक्षित गरी विभिन्न स्थानमा ती केन्द्रको निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाका कार्यान्वयन निर्देशनालयका प्रमुख कमल श्रेष्ठले जानकारी दिए । आयोजनाका अनुसार हाल निर्माणाधीन प्रशोधन केन्द्रले करिब २० प्रतिशत फोहोर पानी मात्र प्रशोधन गर्नेछ । ८० प्रतिशत फोहोर पानी प्रशोधित गर्न थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारीसमेत भइरहेको छ ।

पहिलो चरणमा सल्लाघारी र कोड्कुमा एक/एकवटा तथा धोबीघाट र गुह्येश्वरीमा २/२ वटा प्रशोधन केन्द्र निर्माण भइरहेका छन् । निर्माण सम्पन्न भएपछि गुह्येश्वरीमा ३ करोड २४ लाख, सल्लाघारीमा १ करोड ४२ लाख, धोबीघाटमा ७ करोड ४० लाख, कोड्कुमा १ करोड ७५ लाख र टुकुचामा १ करोड ७३ लाख लिटर फोहोर पानी प्रतिदिन प्रशोधन गर्नेछ ।

टुकुचामा भने सहरी विकास मन्त्रालयले प्रशोधन निर्माण गर्नेछ । अधिकार सम्पन्न वाग्मती एकीकृत आयोजनाका प्रमुख रवीन्द्र बोहराले थापाथलीस्थित टुकुचाको संगममा प्रशोधन केन्द्र निर्माण गरिने जानकारी दिए । ‘सहरको मध्यभागबाट आउने फोहोर पानी सफा गरेर वाग्मतीमा मिसाउँछौं,’ उनले भने, ‘एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुँदै छ ।’ गुह्येश्वरीको पुरानो फोहोर पानी प्रशोधन केन्द्रको क्षमता अभिवृद्धिको काम अघि बढिरहेको जानकारी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख श्रेष्ठले बताए । ११ वर्षअघि जापान सरकारको सहयोगमा निर्माण गरिएको केन्द्र पूर्णरूपमा सञ्चालनमा छैन । ‘राजधानी उपत्यकाको सम्पूर्ण फोहोर पानी प्रशोधन गर्न निर्माणाधीन ७ वटा केन्द्रले पुग्दैन,’ उनले भने, ‘अन्य ठाउँमा पनि प्रशोधन केन्द्र निर्माण गर्नेबारे छलफल भइरहेको छ ।’

दोस्रो चरणमा धोबीघाटमा २२ करोड, कोड्कुमा १ करोड ७० लाख, गुह्येश्वरीमा १ करोड ६० लाख लिटर क्षमताको फोहोर पानी प्रशोधन गर्ने केन्द्र निर्माण गरिनेछ । बाँकी ठाउँको फोहोर पानी प्रशोधनका लागि चाल्नाखेलमा प्रशोधन केन्द्र निर्माण गर्न अध्ययन भइरहेको उनले जानकारी दिए । ‘सन् २०१८ मा पहिलो चरणका ६ वटै केन्द्रको निर्माण सम्पन्न गरिने भनिए पनि निर्माण व्यवसायीले लापरबाही र कोभिड–१९ का कारण ढिलाइ भएको उनले बताए । ‘दोस्रो चरणमा सन् २०३० सम्म अरू पनि निर्माण हुनेछन्,’ उनले भने, ‘चाल्नाखेलमा बढी क्षमताकै प्रशोधन केन्द्र निर्माण गरिनेछ, यसले बाँकी रहेको सबै फोहोर पानी प्रशोधन गर्नेछ ।’

पहिलो र दोस्रो चरणका प्रशोधन केन्द्र निर्माण भइसकेपछि मात्र फोहोर पानीको व्यवस्थापन पर्याप्त हुने उनले बताए । दोस्रो चरणमा गोकर्ण, टुकुचा र भक्तपुरको हनुमानघाटमा समेत विकेन्द्रित फोहोर पानी प्रशोधन केन्द्र निर्माण हुने उनले जानकारी दिए । गोकर्णमा ३० लाख लिटर, हनुमानघाटमा १० लाख लिटर र टुकुचामा १० लाख लिटर क्षमताका प्रशोधन केन्द्र निर्माण गरिनेछ । केन्द्रमा अत्याधुनिक मेसिनबाट फोहोर पानी प्रशोधन गरेर खोलामा मिसाइने उनले बताए । हनुमानघाट, गोकर्णमा आयोजना कार्यान्वयन निर्देशनालय र टुकुचामा अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिले प्रशोधन केन्द्र निर्माण गर्ने जानकारी श्रेष्ठले दिए ।

प्रशोधन केन्द्रसम्म पुग्न ढलहरूको निर्माण वाग्मती र धोबी खोला वारिपारि भइसकेको जानकारी दिँदै उनले मनोहरा, हनुमन्ते र खस्याङखुसङ खोलामा निर्माण भइरहेको बताए । मनोहरामा ११ किमि, हनुमन्तेमा २५ किमि र खस्याङखुसङमा ७ किमि ढल बिछ्याउने काम भइरहेको छ । खस्याङखुसङ खोलामा ४५ किमि लामो इन्टरसेप्टर (ठूला पाइप) पाइपलाइन बिछ्याइएको छ । हनुमन्ते र मनोहरामा जग्गा विवादले काममा ढिलाइ भएको आयोजना निर्देशनालयका सूचना अधिकारी प्रज्वल प्रजापतिले जानकारी दिए ।

सन् २०३० सम्म ५४ लाख जनसंख्यालाई लक्षित गरेर फोहोर पानी प्रशोधनको व्यवस्था गर्न लागिएको आयोजनाको दाबी छ । २०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब ३० लाख छ । हाल गुह्येश्वरीमा रहेको फोहोर पानी प्रशोधन केन्द्रले सुरुङमार्फत तिलगंगास्थित वाग्मतीमा पानी मिसाएको उल्लेख गर्दै उनले अब गुह्येश्वरीबाट सीधै वाग्मतीमा प्रशोधित पानी मिसाइने जानकारी दिए । ‘आर्यघाटमा नुहाउन योग्य पानी हुन्छ,’ उनले भने, ‘तर पिउन योग्यचाहिँ हुँदैन ।’ ललितपुर महानगरको २० प्रतिशत र आयोजनाको ८० प्रतिशत लगानीमा पाटन दरबार क्षेत्रमा ढल बिछ्याउने काम भइरहेको उनले बताए । ‘अब करिब ६ सय मिटर बाँकी छ,’ उनले भने, ‘केही दिनमा सम्पन्न हुन्छ ।’

काठमाडौं महानगरपालिकाको ठमेल, वसन्तपुरलगायत मुख्य भागमा ढल बिछ्याउनका लागि पनि पहल भइरहेको उनले बताए । ‘डिजाइन भइसकेको छ,’ उनले भने, ‘अब सम्पूर्ण प्रक्रिया पूरा गरेर काम अघि बढाउँछौं ।’ साथै, वर्षाको समयमा बाढीको पानी प्रशोधन केन्द्रको क्षमताले धान्न नसक्ने हुँदा विभिन्न नदी किनारमा बनाइएका ‘ओभरफ्लो म्यानहोल’ बाट सीधै नदीमा जाने उनले बताए । प्रशोधन केन्द्र वातावरणमैत्री बनाउनका लागि वरपर बोटबिरुवा तथा फूल रोपिनेछ । त्यसका साथै पानी जम्मा हुने स्थानलाई सिमेन्टको ढलानले छोपिन्छ । वर्षात्को समयमा हुने ओभरफ्लोसँग जुझ्नका लागि अतिरिक्त पानी सञ्चय गर्ने पर्याप्त ठाउँ हुनेछ ।

प्रकाशित : भाद्र २४, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

शिवपुरीमा बन्ने बाँधको डीपीआर तयार

दीपेन्द्र विष्ट

काठमाडौँ — सहरी विकास मन्त्रालयले शिवपुरी नागार्जुन निकुञ्जको मध्यभाग धाप क्षेत्रमा वर्षायाममा पानी संकलनका लागि करिब ९५ मिटर उचाइको बाँध निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ । समुद्री सतहबाट करिब १९ सय मिटर उचाइमा निर्माण हुन लागेको उक्त बाँधमा ८० लाख घनमिटर पानी जम्मा हुनेछ ।

बाँधले नागमती क्षेत्रको करिब ५० हेक्टर जमिन ओगट्नेछ । मन्त्रालयका एक अधिकारीका अनुसार सुक्खायाममा वाग्मतीमा प्रतिसेकेन्ड ४ सय लिटर पानी बगाउनका लागि बाँध निर्माण गर्न लागिएको हो । ‘वातावरणीय अध्ययन (ईआईए) भइसकेको छ, अब केही दिनभित्रै टेन्डर प्रक्रियामा जान्छौं,’ ती अधिकारीले कान्तिपुरसँग भने, ‘डीपीआर पनि पुनरावलोकन भइसकेको छ ।’ एसियाली विकास बैंक (एडीबी) को ५ अर्ब रुपैयाँ सहयोगमा बाँध निर्माण हुन लागेको हो । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बाँध निर्माण प्रक्रिया अघि बढाइनेछ ।

अधिकार सम्पन्न एकीकृत वाग्मती आयोजनाका प्रमुख रवीन्द्र बोहराले संकलित पानीबाट विद्युत् उत्पादन गर्न डीपीआर पुनरावलोकन भएको बताए । ‘४/५ मेगावाट विद्युत् उत्पादन गर्न पुनरावलोकन गरेका छौं,’ उनले भने, ‘विद्युत्को चरम अभाव (पिक आवर) भएको समयमा यसले ठूलो राहत दिन्छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणले पनि विद्युत् उत्पादन हुन्छ भनेर भनिसक्यो, त्यसकारण पनि डीपीआर पुनरावलोकन गरेका हौं ।’

वन मन्त्रालयले आयोजना क्षेत्रमा पर्ने रूख काट्ने सहमतिसमेत दिइसकेको उनले बताए । उक्त क्षेत्रमा झन्डै ३४ हजार रूख काट्नुपर्ने हुन्छ । आयोजनाका इन्जिनियर निश्चल छतकुलीले बाँधले ओगट्ने क्षेत्रमा ठूला रूख नभई बुट्यान मात्र रहेको बताए । ‘निकुञ्जभित्र ठूलो क्षति हुन्छ भन्ने छैन,’ उनले भने । हाल माथिल्लो धापमा निर्माण निर्माणाधीन बाँध र नागमती बाँधबीचको दूरी करिब एक किमि फरक हुनेछ । एक किमि क्षेत्रमा जंगलबाट जनावर ओहोरदोहोर गर्न सक्नेछन् । सुक्खा मौसममा वाग्मती नदीमा पानीको बहाव बढाउन मुहानमा दुईवटा बाँध निर्माण गर्न लागिएको अयोजना प्रमुख बोहराले बताए ।

सुक्खायाममा माथिल्लो बाँधबाट प्रतिसेकेन्ड ४० लिटर र नागमती बाँधबाट प्रतिसेकेन्ड ४ सय लिटर पानी बगाइनेछ । त्यसपछि दुवै ड्यामबाट प्रतिसेकेन्ड ४ सय ४० लिटर प्रतिसेकेन्ड पानी वाग्मतीमा बग्नेछ । ग्वान्जाउ–लामा–रमण ठेकेदार कम्पनीले करिब ५२ करोड रुपैयाँमा माथिल्लो बाँधको ठेक्का पाएको छ । धाप क्षेत्रमा निर्माणाधीन ड्यामले १४ हेक्टर जमिन ओगट्नेछ । शिवपुरी नागार्जुन निकुञ्जको मध्य भाग धाप क्षेत्रमा वर्षालगायत अन्य स्रोतबाट ८ लाख ५० हजार घनमिटर पानी बाँधमा संकलन गरिनेछ ।

माथिल्लो धापदेखि कटवाल दहसम्म अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिले स्वच्छता कायम राख्न विभिन्न भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । दुइटै बाँध निर्माण सम्पन्न भएपछि नुवाकोट, काठमाडौं र सिन्धुपाल्चोकको सीमामा पर्ने यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनिने बोहराले बताए । ‘यति उचाइमा पोखरी निर्माण हुनु निकै ठूलो कुरा हो, उत्तरतिर हिमशृंखला देखिन्छन्, नजिकै चिसापानी बजार छ,’ उनले भने, ‘उपत्यकाको सबैभन्दा नजिकको ट्रेकिङ रुट पनि हो ।’

बागद्वारबाट उत्पत्ति भएर बग्ने वाग्मतीको कटवाल दहसम्मको लम्बाइ ४४ किमि छ । अधिकांश क्षेत्रमा हरित उद्यानलगायत विभिन्न भौतिक संरचना निर्माण प्रक्रिया तीव्र रूपमा अघि बढेको उनले बताए । अधिकार सम्पन्न वाग्मती एकीकृत वाग्मती आयोजनाका इन्जिनियर छतकुलीले दुवै बाँध निर्माण भए वाग्मती नदीको शुद्धता आफैं कायम हुने दाबी गरे । ‘पानी नदीको मुख्य विशेषता हो, त्यसकारण बहाव बढ्नेबित्तिकै नदी सफा हुन्छ,’ उनले भने, ‘वाग्मतीको स्वरूप चाँडै फेरिन्छ ।’ भूकम्पीय जोखिमको हिसाबले निर्माणाधीन र प्रस्तावित बाँध बलियो भएको उनले बताए । ‘कुलेखानीजस्तै ढुंगा र चट्टानको बेसमा रक बाँध बनिरहेको छ,’ उनले भने । माथिल्लो धापमा बाँध निर्माण गर्ने क्रममा निकुञ्जका २८ सय रूख काटिएको उनले बताए । काटिएका रूखको सट्टामा ७० हजार नयाँ बिरुवा रोप्ने तयारी भइरहेको उनले बताए ।

यसबाट करिब ७ वर्षदेखि जारी वाग्मती सरसफाइ अभियानले सार्थकता पाउने वाग्मती सरसफाइ अभियानमा सक्रिय माला खरेलले बताइन् । ‘उचाइमा बाँध निर्माण हुनु राम्रो हो, पर्यटकीय हिसाबले पनि धाप निकै आकर्षक स्थान छ,’ उनले भनिन्, ‘सरकारले चाँडो निर्माण गर्नुपर्छ ।’ सुन्दरीजलदेखि कटवाल दहसम्मका नदी किनार भौतिक संरचनामा पनि ढिलाइ गर्न नहुने उनले बताइन् ।

आयोजनाले गोकर्ण ब्यारेजदेखि सिनामंगल क्षेत्रको करिब १४ किमि क्षेत्रमा ‘हरित उद्यान’ बनाउन सुरु गरेको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा परम्परागत शैलीको हरित उद्यान निर्माण प्रक्रिया अघि बढाइएको हो । नदी र सडकबीचको खाली १० मिटर भागमा परम्परागत शैली हरित उद्यान गर्ने योजना छ ।

प्रकाशित : भाद्र २१, २०७८ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×