२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुरुङ मार्गनजिक दिनैजसो पहिरो

वर्षा कम हुनासाथ प्रभावित स्थलको भौगर्भिक अध्ययन गरिने
माटो नजाँची विस्फोट गराउँदा पहिरोको समस्या आयो : जनप्रतिनिधि
पहिरोको रोकथाम छिट्टै हुन्छ, पीडितलाई पनि क्षतिपूर्ति दिन्छौं : आयोजना
विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाको धादिङतर्फको प्रवेशद्वार धुनीबेंसी–९ मा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ । सिस्नेखोलास्थित खत्रीपौवा डाँडोबाट लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । झरिसकेको पहिरोलाई पालले छोपिएको भए पनि माथिबाट लेदो खसिरहेको छ ।

सुरुङ मार्गनजिक दिनैजसो पहिरो

गत असारयता पानी पर्नासाथ यो खण्डमा पहिरो झर्ने गरेको धुनीबेंसी–९ का वडाध्यक्ष साइँला राईले बताए । पहिरोका कारण १२ घर जोखिममा छन् । तीमध्ये ६ घरलाई आयोजनाले कोठा भाडा बेहोरेर छुट्टै राखिदिएको छ । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकअन्तर्गत यो खण्ड भएर दिनहुँ ६ हजारभन्दा बढी सवारीसाधन गुड्छन् ।

जनप्रतिनिधिलाई जानकारी नै नदिई आयोजनाले काम गर्ने गरेको राईको दाबी छ । ‘आयोजनाले पहिला सुरुङमा पर्ने जग्गाको मुआब्जा दिन र स्थानीयलाई मिलाउन सहयोग गरे पनि अहिले बेवास्ता गर्दै आएको छ,’ उनले भने । अहिलेको मुख्य चुनौती पहिरो रहेकाले नियन्त्रण गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए । पहिरोले गर्दा सडक साँघुरो भएको छ । काठमाडौं प्रवेश गर्ने नाका भएकाले पहिरो झरेपछि सवारी जाम पनि उत्तिकै हुने गरेको छ ।

गाउँबस्ती नै जोखिममा पर्ने खतरा भएपछि केही समयअघि धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सांसद, जनप्रतिनिधिलगायतको टोलीले पहिरोको अनुगमन गरी तत्काल संरक्षण गर्न पहल गर्ने निर्णय गरेको थियो । ‘आयोजनासामु टोलीले पाँचबुँदे प्रस्ताव राखेको थियो,’ उनले भने, ‘डाँडा काटेर हुन्छ कि पालले छोपेर, तत्काल उक्त क्षेत्रको सुरक्षा हुनुपर्‍यो । अन्यथा खोला नजिकैका बस्ती र फाँट तहसनहस हुन सक्ने जोखिम औंल्याएका थियौं ।’ १२ घरको उचित व्यवस्थापन गर्न पनि सुझाव दिएको राईको भनाइ छ ।

‘जोखिममा परेका घरलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गर्न भनेका थियौं,’ राईले भने, ‘आयोजनाले प्रस्ताव लग्छौं र समस्या समाधान गर्छौं भने पनि अहिलेसम्म दिगो समाधान हुन सकेको छैन ।’ सुरुङ निर्माणस्थल वरपरका डाँडाको माटो परीक्षण नै नगरी काम गर्दा यस्तो भएको हुन सक्ने उनको बुझाइ छ । ‘सुरुङ खन्ने ठाउँको माटो परीक्षण गरियो तर अहिले पहिरो खसेको डाँडाको गरिएन,’ उनले भने, ‘माटो परीक्षण नै नगरी विस्फोटन गराउँदा समस्या आएको हो कि ?’ २०७२ सालको भूकम्पले तहसनहस बनाएको जमिनमा विस्फोटको धक्काले समस्या निम्त्याएको उनको भनाइ छ । ‘त्यसमाथि बर्खामा पानी पर्दा अर्को समस्या थपियो,’ राईले भने, ‘यसबारे आयोजनालाई पटकपटक ध्यानाकर्षण गराइसकेका छौं, सुनुवाइ भने भएको छैन ।’

मुख्य रूपमा पहिरोले असर गरेका ६ घरलाई ६ महिनाको घर भाडा दिएर अन्यत्र सारिएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए । पानी परेपछि पहिरो सफा गर्दै सडक चलाउने गरिएको उनको भनाइ छ । ‘डाँडोको एकदमै ठाडो स्लोप छ,’ उनले भने, ‘३० डिग्रीभन्दा माथि स्लोप भयो भने काम गर्न गाह्रो हुन्छ ।’ भित्र चट्टान भएको र बाहिर माटो मात्र भएर समस्या भएको उनको भनाइ छ । वर्षा कम हुनासाथ उक्त ठाउँको भौगर्भिक अध्ययन हुने उनले बताए । ‘त्यसपछि माटोको अवस्था कस्तो छ, थाहा हुन्छ,’ उनले भने, ‘त्यसका लागि ड्रिलिङ मेसिन राख्न सकिएको छैन ।’

अहिले चौबीसै घण्टा कर्मचारी राखेर पहिरो आउनासाथ मनिटरिङ गर्ने गरिएको उनले बताए । ‘पहिरो गएर बीचमा बसेको माटो पानी पर्नासाथ झर्ने गरेको छ, ठूलो पहिरो भएर भने झर्दैन,’ शाक्यले भने, ‘लेदो बगेर सडकमा झर्ने गरेको छ, जसले डेढ सय मिटर सडकलाई असर गरेको छ ।’ पानी परेपछि पहिरोको समस्या बढ्दै गएको उनको भनाइ छ । ‘६ वटा घरलाई उक्त स्थानमा बस्न नमिलेको खण्डमा क्षतिपूर्ति दिएर सुरक्षित ठाउँमा स्थानान्तरण गरिने उनले जानकारी दिए । चालु आर्थिक वर्षमा पहिरोको समाधान र ५ सय मिटर सडक कालोपत्र गरिनेछ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङ मार्गको शिलान्यास गरेका हुन् । ४२ महिनामा सक्नुपर्ने सुरुङको निर्माण थालेको २२ महिना भयो । निर्माणको जिम्मा जापानिज कम्पनी हाज्मा एन्डोले लिएको छ । अहिलेसम्म धादिङ र काठमाडौं दुवैतर्फ गरेर १२ सय ५० मिटर सुरुङ खनिसकिएको छ । आयोजनाको अहिलेसम्मको भौतिक प्रगति २० प्रतिशत पुगेको छ ।

६ सय कामदार निर्माणस्थलमा खटिएका छन् । २.६८ किलोमिटर दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । निर्माण ठेक्का भने साढे २२ अर्ब रुपैयाँको छ । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारले बेहोर्नेछ । अहिले नागढुंगादेखि सिस्नेखोलासम्म साढे ८ किमि दूरी छ  ।

प्रकाशित : भाद्र १६, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?