विद्यार्थीलाई नगर चिनाउँदै स्थानीय तह- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीलाई नगर चिनाउँदै स्थानीय तह

लीला श्रेष्ठ

भक्तपुर — जिल्लाका स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम निर्माण गरी अध्ययन–अध्यापन गरिरहेका छन् । स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ लागू भएपछि स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेका थिए ।

उक्त कार्यदलको सहयोगमा पाठ्यक्रम निर्माण गरी विद्यार्थीलाई नगर चिनाउने काम सुरु भएको हो । हालसम्म भक्तपुर, चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गरिसकेका छन् । सूर्यविनायक नगरपालिका भने स्थानीय पाठ्यक्रम निर्माणको तयारीमा रहेको नगर उपप्रमुख जुना बस्नेतले बताइन् ।

भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘ख्वपःको पहिचान’ भाग–१ र २ प्रकाशन गरेको छ । पुस्तकमा ख्वपःको संस्कृति, सम्पदा, इतिहास, जीवनशैली, रैथाने व्यवसाय, सीप र प्रविधि, परम्परागत खेलहरू, वेशभूषा, भाषा र लिपि, पर्यटन, विभिन्न व्यक्तित्वहरूका बारेमा आधारभूत तथ्य र तथ्यांक समावेश गरिएको छ । स्थानीय तहले पाठ्यक्रम निर्माण गरी नगरको विशेषता र पहिचानबारे आधारभूत तहसम्म अध्ययन–अध्यापन गराउन सक्ने स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसार नगरपालिकाले कार्यदल गठन गरी पाठ्यक्रम तयार गरेको नगर प्रमुख सुनील प्रजापतिले बताए । उनका अनुसार पहिलो वर्ष २०७५ मा कक्षा १ र ६ तथा दोस्रो वर्ष कक्षा २ र ७ का सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई स्थानीय पाठ्यक्रमअनुसार पठनपाठन थालिएको थियो । ५० पूर्णाङ्कको पाठ्यक्रम तयार गरेको नगर शिक्षा सदस्य रवीन्द्र ज्याख्वले बताए ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकाले कक्षा ६, ७ र ८ का विद्यार्थीलाई लक्षित गरेर ‘हाम्रो चाँगुनारायण’ पाठ्यक्रम तयार गरेको छ । पाठ्यक्रममा स्थानीय परम्परा, संस्कृति, रीतिरिवाज, सम्पदा, चाडपर्व, सामाजिक व्यवहार, पेसा/व्यवसाय, वातावरण संरक्षण, आर्थिक गतिविधि, स्थानीय प्रविधिलगायतका विषयवस्तु समेटिएको चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्रले बताए । ५०/५० अंकभार रहने गरी सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिने गरिएको छ ।

मध्यपुर थिमि नगरपालिकाले पनि पाठ्यक्रम तयार गरी लागू गरेको छ । नगर क्षेत्रभित्रका आधारभूत तहका विद्यार्थीका लागि ‘मध्यपुर थिमि म्हसिका’ (मध्यपुर थिमि परिचय) नामक पाठ्यक्रम निर्माण गरिएको हो । पाठ्यक्रममा परम्परागत शिक्षण विधि (संस्मरण र घोक्ने) भन्दा सिकाइ केन्द्रित विधि अपनाइएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । ‘सैद्धान्तिकलाई भन्दा प्रयोगात्मक, व्यावहारिक विधिलाई अपनाइएको छ,’ उनले भने, ‘जसमा ४० पूर्णाङ्कको सैद्धान्तिक र ६० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा लिइन्छ ।’

प्रकाशित : श्रावण २९, २०७८ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

१९ वर्षदेखि ओछ्यानमै

अवधेशकुमार झा

सप्तरी — आर्थिक अभावका कारण उचित उपचार हुन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का एक जना झन्डै १९ वर्षदेखि ओछ्यानमै छन् । शैलेन्द्रकुमार र कौशिलादेवीका छोरा प्रल्हाद मण्डलको अवस्था जन्मिँदै शारीरिक रूपमा असामान्य थियो ।

परिवारले भारत बिहारको दरभंगामा उपचारका लागि लगेका पनि थिए । तर चिकित्सकले नसा च्यापिएका कारण उक्त स्थानमा उपचार सम्भव नभएको भन्दै फर्काइदिएका प्रल्हादका ठूलोबुबा शिवेन्द्र मण्डलले बताए ।

‘जन्मेदेखि नै ओछ्यानमा छन्,’ शिवेन्द्रले भने, ‘सानै छँदा उपचार गराए पनि निको भएन, अहिले उपचार गर्न ठूलो रकम चाहिने भएकाले अस्पताल लैजान सकेका छैनौं ।’ उनको शरीरका कुनै पनि भाग चल्दैन । दिनभर परिवारका अन्य सदस्यले हेरचाह गरे पनि बेलुका ८५ वर्षीय हजुरआमा सुखिया देवीले उनको स्याहार गर्दै आएकी छन् । प्रल्हादका बुबाआमा भने कमाउन भारतको पञ्जाब गएको १४ वर्ष बित्दासमेत अझै फर्किएका छैनन् । ‘कमाउन गएका छोराबुहारी फर्केर आएनन्, अपांग नातिको स्याहार गर्दै जिन्दगी बितेको छ,’ नातिको अवस्थाले सधैं पिरोल्ने गरेको सुनाउँदै हजुरआमा सुखियादेवीले भनिन्, ‘नाति ठूलो होला अनि बुढेसकालको सहारा होला भन्ने सोचेकी थिए । तर बालकदेखि जवान भइसक्दा पनि ओछ्यानको ओछ्यानमै छ ।’ नातिको उपचार सम्भव भए सहयोग गरिदिन उनले आग्रहसमेत गरिन् ।

प्रल्हादका भाइ ध्रुव भने शारीरिक रूपमा सबल छन् । उनी इनरुवास्थित फुपूको घरमा बसेर अहिले कक्षा ९ मा पढिरहेका छन् । ‘प्रल्हाद अहिले बाँचिरहेका मात्र छन् । अरू केही छैन,’ तिलाठी कोइलाडी–४ का अध्यक्ष गोपी मण्डलले भने, ‘उनका लागि सिंगो परिवार र समाज चिन्तित छ ।’

प्रजिअले दिए नागरिकता

जन्मेदेखि नै थलिएका प्रल्हाद राज्यका तर्फबाट पाउने सुविधावाट वञ्चित हुँदै आएका थिए । उनको अवस्थाबारे जानकारी पाएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य बुधबार उनको घर पुगेर जनप्रतिनिधि र स्थानीयको रोहवरमा वंशजका आधारमा नेपाली नागरिकता प्रदान गरे । ‘शारीरिक अशक्तताले उनी प्रशासन कार्यालयसम्म पुग्न सक्ने अवस्था थिएन । त्यसैले म आफैं नागरिकता दिन आएको हुँ,’ नागरिकता प्रदान गरेपछि प्रजिअ आचार्यले भने, ‘यिनलाई सहयोगको खाँचो छ । हामीले आफ्नो स्तरबाट सकेसम्म सहयोग गर्छौं । अरूको पनि सहयोगको खाँचो छ ।’

नागरिकता नहुँदा उनी सेवासुविधावाट वञ्चित हुनु परिरहेकाले घरमै आएर नागरिकता दिएको प्रजिअ आचार्यले बताए । सो अवसरमा सप्तरी युथका तर्फबाट कोषध्यक्ष विष्णु यादवले प्रल्हादका लागि पौष्टिक आहार खरिद गर्न ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

प्रकाशित : श्रावण २९, २०७८ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×