कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी दुर्घटना घट्यो, मृत्यु बढ्यो

निषेधाज्ञामा पनि दैनिक १२–१५ वटासम्म दुर्घटना, धेरै दुर्घटनामा पर्ने साधनमा मोटरसाइकल अगाडि
सुशीला तामा‌ङ

काठमाडौँ — गत असार २ मा भक्तपुरको मध्यपुर थिमि चारदोबाटोस्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुको लिखुपिके चौंरीखर्क घर भई हाल काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भयो ।

सवारी दुर्घटना घट्यो, मृत्यु बढ्यो

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काठमाडौंबाट भक्तपुर आउँदै गरेको उक्त मोटरसाइकलमा सवार काँडाघारीमै बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र २५ वर्षीय अमित जैरुगम्भीर घाइते भएका थिए । मोटरसाइकल अनियन्त्रित भएपछि सडकबीचको आइल्यान्डमा ठोक्किएर दुर्घटना भएको हो 

  • गत साउन ६ को राति भक्तपुरमै टिपरको ठक्करबाट स्कुटर चालक २१ वर्षीय निरज श्रेष्ठको मृत्यु भयो । सूर्यविनायकबाट जगातितर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख २०३८ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०२–०२४ प ८०३३ नम्बरको स्कुटर ठोक्किएका थिए ।
  • गएको शुक्रबार गोकेर्णेश्वर नगरपालिका–९ अत्तरखोलामा ट्रकको ठक्करबाट पैदलयात्री रामेछाप घर भई हाल गोकर्णेश्वर बस्ने ३० वर्षीय राजन खड्काको मृत्यु भयो । महानगरीय प्रहरी वृत बौद्धका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा मृत्यु भएको हो ।

पछिल्लो पटक उपत्यकाका विभिन्न स्थानमा मानवीय क्षति हुने गरी भएका यी प्रतिनिधि दुर्घटना हुन् । कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले जारी गरेको निषेधाज्ञामा पनि सवारी दुर्घटना र मृत्यु हुनेको संख्यामा कमी आएको छैन । यस क्रममा सडकमा सवारी चाप घटे पनि दुर्घटनाको संख्या भने अपेक्षित रूपमा नघटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा उपत्यकामा ९ हजार ५ सय ४५ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय ६७ जनाले ज्यान गुमाए । जसमध्ये १ सय ३६ जना पुरुष, २४ जना महिला र ७ जना बालबालिका छन् । अघिल्लो वर्ष १० हजार ३० सवारी दुर्घटना भएका थिए । जसमा १ सय ५३ जनाको मृत्यु भएको थियो । यो संख्या अघिल्लो आवको भन्दा धेरै हो ।

गत वर्ष दुर्घटनामा २ सय २६ जना गम्भीर घाइते र ७ हजार ९५ जना सामान्य घाइते भएको महाशाखाको तथ्यांक छ । दुर्घटनामा परेका सवारीसाधनको संख्या १७ हजार ६३ छ । महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासका अनुसार निषेधाज्ञाकै अवधिमा पनि उपत्यकामा दैनिक १२ देखि १५ वटासम्म सवारी दुर्घटना भइरहेको छ । ‘निषेधाज्ञामा सार्वजनिक सवारीमा पूर्ण रोक लगाउँदा उपत्यकामा दैनिक ४ देखि ५ वटाको हाराहारीमा दुर्घटनाहरू भएका थिए, अहिले १२ देखि १५ वटाको हाराहारीमा हुन्छन्,’ उनले भने, ‘सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति नै देखिइएको छ ।’

दासका अनुसार उपत्यकामा मोटरसाइकल दुर्घटनाको संख्या उच्च छ । गएको वर्ष उपत्यकामा ७ हजार ९ सय ४५ मोटरसाइकल दुर्घटना भएका छन् । अहिले सडक दुर्घटनाको मुख्य कारण सडकको भौतिक संरचनाभन्दा चालकको लापरबाही नै बढी देखिएको उनको दाबी छ । ट्राफिक नियम पालना नगरी सवारीसाधन हाँक्नेमा बढी युवाहरू नै भएकाले मोटरसाइकल दुर्घटना बढी भइरहेको उनले बताए ।

देशभर दुर्घटना र मृत्यु बढ्यो

महाशाखाको तथ्यांकअनुसार देशभर भएका सवारी दुर्घटना र मृतकको संख्या अघिल्लो आवको तुलनामा बढेको देखिन्छ । अघिल्लो आवमा देशभर १५ हजार ५ सय ५४ सवारी दुर्घटना भएकामा गत आवमा यो संख्या २० हजार ६ सय ३४ पुगेको हो । दुर्घटनामा पर्ने सवारीसाधनको संख्या भने गत वर्ष घटेको छ । गत आवमा देशभर २५ हजार ७ सय ७८ सवारी दुर्घटनामा परेका थिए । अघिल्लो आवमा यो संख्या ३३ हजार १ सय २५ थियो । गत वर्ष देशभर भएका सवारी दुर्घटनामा परेर २ हजार ५ सय ११ जनाले ज्यान गुमाए । अघिल्लो आवमा २ हजार २ सय ५१ जनाको मृत्यु भएको थियो ।

गत वर्ष उपत्यकापछि प्रदेश २ मा सबैभन्दा बढी ३ हजार ९ सय ८३ सवारी दुर्घटना भएकोमा ५ सय २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा संलग्न सवारीको संख्या ५ हजार ८ सय ११ छ । त्यस्तै, प्रदेश १ मा ३ हजार १ सय ३१ दुर्घटनामा ४ सय ४३ जना, वाग्मती (उपत्यकाबाहेक) मा १ हजार ५ सय १२ दुर्घटनामा ३ सय ३५ जना, गण्डकीमा ४ सय ५ दुर्घटनामा २ सय २० जना, लुम्बिनीमा १ हजार २ सय ११ दुर्घटनामा ५ सय २६ जना, कर्णालीमा २ सय ८५ दुर्घटनामा १ सय १० जना र सुदूरपश्चिममा ५ सय ६२ सवारी दुर्घटनामा १ सय ८७ जनाको मृत्यु भएको छ ।

काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा गत वर्ष चैत मसान्तसम्म भर्ना भएका ३ हजार २ सय बिरामीमध्ये ५ सय ६५ जना (१७∞) सडक दुर्घटनाका रहेको सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । भीर तथा रूखबाट लडेका बिरामीपछि सडक दुर्घटनाका बिरामी धेरै आएको उनको भनाइ छ । ‘सडक दुर्घटनामा टाउको, ढाडमा गम्भीर चोट लागेकाहरू ट्रमामा भर्ना हुन्छन् । त्यो संख्या भीर तथा रूखबाट लडेर घाइते भएकाहरू पछि धेरैमा पर्छ,’ पौडेलले भने, ‘त्यसमध्ये पनि विपन्न र सामाजिक कोषअन्तर्गत भर्ना हुनेहरू बढी छन् ।’ सवारी दुर्घटना न्यूनीकरणका लागि गणेशकुमार पहाडीको संयोजकत्वमा गठित ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति २०७७’ को प्रतिवेदनअनुसार नेपालमा औसत दैनिक ८ जनाको सडक दुर्घटनामा परी मृत्यु हुन्छ । प्रतिवेदनले असुरक्षित सडक संरचना, सवारीसाधनको व्यवस्थित प्रणालीको नियमन मापदण्डको अभाव, असुरक्षित सार्वजनिक यातायात, चालकको अयोग्यता, लापरबाही, ट्राफिक तथा सवारी नियमको अज्ञानतालाई सवारी दुर्घटनाको प्रमुख कारणका रूपमा औंल्याएको छ ।

समितिका सदस्य तथा ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, ‘हामीमा सडक पूर्वाधारसँगै सवारीसाधन जाँच र नियमनमा व्यवस्थित प्रणाली लागू हुन सकेको छैन । यो सिस्टममा नआएसम्म सडक दुर्घटनाहरू बढिरहन्छन् ।’

सडक दुर्घटना न्यूनीकरणका लागि अहिले काठमाडौं महानगरभित्र मात्र एक दर्जनको हाराहारीमा आकाशे पुलहरू छन् भने सडक दुर्घटनामा कमी आएको छैन । यात्रुले ट्राफिक नियम पालनामा बेवास्ता गर्दा सडक दुर्घटनामा कमी नआएको गजुरेलको ठहर छ । ‘सडक दुर्घटना बढ्नुमा सवारी चालक र पैदलयात्रीहरू बढी जिम्मेवार छन्,’ उनले भने, ‘सडकमा ट्राफिक नियम र अनुशासन पालना गर्नुको सट्टा सडक मेरै हो भन्ने हामीमा घमण्ड छ । चालकहरू उस्तै तीव्र गतिमा गाडी हाँक्छन् भने बाटो हिँड्नेले पनि नियमको पालना गरेका छैनन् ।’

प्रकाशित : श्रावण १८, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?