मेहन्दी क्रेज : संस्कृति कि देखासिकी ?

संस्कृतिविद् भन्छन्– ‘धार्मिक, प्राकृतिक तथा साउन महिनाका अन्य मौलिक पक्षलाई युवा पुस्ताले बुझेन’
सुशीला तामा‌ङ

काठमाडौँ — दुवै हातमा मेहन्दी लगाउन व्यस्त थिइन्, भक्तपुरकी मञ्जु कस्पाल । इन्द्रचोकमा भेटिएकी उनले बायाँ हातमा भने श्रीमान्को नाम लेखाइन्– राम शाक्य । मेहन्दीको आकर्षक बुट्टासँगै नाम लेखाएपछि श्रीमान्तिर हेरिन् र मुसुक्क हाँस्दै भनिन्, ‘हातमा नामसँगै मेहन्दी लगाउँदा ऊ खुसी हुन्छ के !’ मेहन्दीमा अरूको क्रेज देखेर आफूले पनि लगाएको उनले सुनाइन् । आफ्नो मान्छेको नाम लेखाउँदा खुसी र प्रेम बढ्ने उनको विश्वास छ ।

मेहन्दी क्रेज : संस्कृति कि देखासिकी ?

मञ्जुजस्ता महिलालाई मेहन्दी लगाउँदैमा सन्दीप कुमारलाई साउन लागेपछि फुर्सद छैन । झन्डै डेढ दशकदेखि काठमाडौंमा बसेर मेहन्दी लगाउन थालेका उनी अरू समय भने कपडाको व्यापार गर्छन् । हरेक साल साउनमा मेहन्दी लगाउने महिलाको संख्या बढेको उनले अनुभव गरेका छन् । ‘कोरोना आएर मात्रै हो, नत्र बर्सेनि मकहाँ मेहन्दी लगाउन आउनेको संख्या बढिरहेको छ,’ उनले भने । साउनमा विवाहित मात्रै नभएर सबैजसो उमेर समूह र धर्मका महिलाले मेहन्दी लगाउन थालेको उनको भनाइ छ । ‘पहिले व्रत बस्ने र बिहे गरेका महिलाले लगाउँथे,’ उनी भन्छन्, ‘हिन्दुबाहेक अरू धर्म मान्नेहरू पनि आएका छन् ।’

हरियो महिनाका रूपमा लिइने साउनमा हरियो चुरा र मेहन्दी लगाउने चलन बढ्दो छ । काठमाडौंजस्ता ठूला सहरका सडकपेटीमा मेहन्दी लगाउने महिलाहरूको भीड साउनभर देख्न सकिन्छ । हिन्दु शास्त्रअनुसार साउन शिवभक्तिको महिना हो । यो महिनाभर हरियो/पहेँलो चुरा, सारी, मेहन्दी लगाएर महिलाहरू सोमबारको व्रत बस्ने चलन छ । बोलबममा भने पुरुष पनि सामेल हुन्छन् । हिन्दु धर्ममा शिवभक्ति, उपासना र त्यागको भावनाले हरियो चुरा, वस्त्र र मेहन्दी लगाउने प्रचलन बढेको संस्कृतिविद् चुन्दा बज्राचार्यले बताइन् । ‘नेवारी समुदायमा गठेमंगलको दिन आफैंले बनाएको मेहन्दी त लगाइन्थ्यो तर साउन लाग्नेबित्तिकै यसरी हरियो चुरा र मेहन्दी लगाउने चलन पहिलेचाहिँ थिएन,’ उनले भनिन् ।

प्रकृति चक्रमा पनि साउन हरियाली हुन्छ । खेतीपातीको असारे चटारो सकेपछि फुर्सदमा रहेका महिलाले शृंगार सामग्रीका रूपमा हातमा मेहन्दी लगाउने प्रचलन बसेको अर्का संस्कृतिविद् राज जोशी बताउँछन् । ‘खेतीपाती गर्दा बसेको मायाप्रीतिपछि सुन्दर हुन महिलाले मेहन्दी लगाउने र शृंगार गर्ने गर्थे । यसले भावनात्मक सम्बन्धलाई समेत नजिक बनाउँछ,’ उनले भने । त्यसैबाट अहिलेको मेहन्दी संस्कृति विकसित भएको उनको बुझाइ छ । उनका अनुसार पहिलेपहिले महिलाहरू चिसो इँटामा बनेको सेतो ढुसीलाई गोलमा बालेर निस्केको पदार्थलाई बेसारमा मिसाएर मेहन्दीका रूपमा लगाउँथे । आफ्नै बारीमा मेहन्दीको बोट रोपेर त्यसैको पात प्रयोग गर्ने चलन पनि रहेको जोशीले सुनाए । साउनमा चुरा लगाउने प्रचलन भने मुस्लिम समुदायबाट भित्रिएको उनको बुझाइ छ । ‘काठमाडौंमा चुरापोतेको व्यवसाय गर्ने धेरैजसो मुस्लिम समुदायका छन् । यही प्रभावबाट अहिलेका पुस्तामा चुरा लगाउने चलन विकसित भएको देखिन्छ ।’

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ भने यसलाई आयातित संस्कृतिका रूपमा लिन्छन् । ‘मेहन्दी लगाउने मात्र हाम्रो संस्कृति होइन, अरू पनि छन्,’ उनले भने, ‘यो लहर मौलिक होइन । एक/डेढ दशकयता यस्तो प्रवृत्ति देखिन्छ ।’ साउन लाग्नेबित्तिकै हरियो चुरा र मेहन्दी लगाउनेको भीड पहिले कहिल्यै नदेखेको उनले सुनाए । धार्मिक, प्राकृतिक तथा साउन महिनाका अन्य मौलिक पक्षलाई अहिलेका युवा पुस्ताले नबुझेको उनले बताए । साउनमै हरिशयनी एकादशी, चर्तुमास व्रत आरम्भ, चार नारायण (चाँगुनारायण, शेषनारायण, विशंखुनारायण र इचंगुनारायण) को दर्शन महत्त्वपूर्ण मानिन्छ । महेश्वरसँगै हरियो वर्णकी महेश्वरीको आराधनासमेत साउनै विशेष मानिन्छ । यस्ता मौलिक आस्था भने युवापुस्ताको बेवास्तामा परेको श्रेष्ठले गुनासो गरे ।

स्वास्थ्यलाई कति जोखिम ?

मेहन्दी क्रेजसँगै उसको उत्पादन पनि बढेको छ । तर, सबै गुणस्तरीय छैनन् । गत वर्ष मात्र मेहन्दी र कस्मेटिक उत्पादन गरी बिक्री गर्ने ‘हबिब काला कोकिला हिनाज’ उद्योगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको थियो । उक्त उद्योगमा मेहन्दी र कस्मेटिक उत्पादनमा स्वास्थ्यमा हानि पुर्‍याउने रसायन प्रयोग गरेको फेला परेको थियो । त्रिपुरेश्वस्थित भन्सार विभागका अनुसार शृंगार सामग्रीकै रूपमा कपाल तथा हातमा लगाउने मेहन्दी भारतबाट पनि आयात हुन्छ । ‘शृंगार सामग्रीभित्र नै मेहन्दीलाई समेटिएको हुन्छ । हातमा लगाउनेभन्दा पनि हेयर कलर नाम दिएर बढी आयात भएकाले मेहन्दीको छुट्टै तथ्यांक विभागमा छैन,’ विभागका सूचना अधिकारी शिशिर घिमिरेले भने ।

जथाभावी रूपमा उत्पादन तथा आयात गरिएको मेहन्दीबाट स्वास्थ्यमा प्रतिकूल असर पर्ने छाला रोग विशेषज्ञ स्मृति श्रेष्ठले बताइन् । उनका अनुसार हातमा गाढा कालो बनाउन विभिन्न रसायन मिसाएका मेहन्दीले छालामा एलर्जी तथा फोका उठ्ने हुन सक्छ । मेहन्दी लगाउनुअघि हरेकले एकपटक सोच्नैपर्ने अर्का छालारोग विशेषज्ञ कमलराज धितालले बताए । हातमा लगाउनुअघि कुनै ठाउँमा पहिले थोरै लगाएर परीक्षण गर्न उनले सुझाव दिए । ‘मेहन्दी लगाएपछि छालालाई सुरक्षित राख्न मस्चराइजर पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘सबैको छाला एकै किसिमको नहुन सक्छ । यसमा प्रयोग हुने रसायनले छालासँगै स्वास्थ्यलाई नकारात्मक असर पार्न सक्छ । त्यसैले गुणस्तरीय कम्पनी, उत्पादन र छालालाई उपयुक्त मात्र थोरै प्रयोग गर्न सकिन्छ ।’

प्रकाशित : श्रावण १६, २०७८ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?