कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अपांगतामैत्री छैनन् फुटपाथ

सर्वसाधारणका लागि हिँडडुल गर्न गाह्रो हुने काठमाडौंका फुटपाथ अपांगता भएका व्यक्तिहरुका लागि झनै कष्टकर  

काठमाडौँ — उपत्यकाका फुटपाथ (सडकपेटी) कतै साँघुरा त कतै हिँड्दा हिँड्दै टुंगिन्छन् । फुटपाथकै बीचमा खाल्डाखुल्डी, रूख बिरुवा र पोलहरू पनि प्रशस्त छन् । फुटपाथमा सिँढीजस्तै गरी उबडखाबड पारिएको छ । सामान्य मानिसकै लागि हिँडडुल गर्न गाह्रो हुने फुटपाथ अपांगता भएका व्यक्तिहरूका लागि त झनै कष्टकर छन् । 

अपांगतामैत्री छैनन् फुटपाथ

ह्वीलचियर प्रयोगकर्ताका लागि अधिकांश स्थानका फुटपाथ साँघुरा हुन्छन् । उनीहरूले फुटपाथ छाडेर सडक किनारबाटै यात्रा गर्नुपर्छ । जसका कारण दुर्घटनाको जोखिम बढ्दो छ । यस्तै समस्याका भुक्तभोगी हुन्, कैलाली घर भई शान्तिनगर बस्दै आएकी कृष्णा चौधरी पनि ।

‘घर बाहिर निस्केपछि हाम्रा लागि केही पनि सरल र सहज छैन,’ उनले भनिन्, ‘सडक, फुटपाथ, अस्पताल, सार्वजनिक वन, शौचालय केही पनि अपांगमैत्री छैनन् ।’ फुटपाथमा हुनुपर्ने मापदण्ड नअपनाईकन निर्माण गरिएकाले समस्या भइरहेको उनको भनाइ छ । ‘फुटपाथमा ह्वीलचियर चढ्नका लागि स्लोप नै हुँदैन, कतै चढ्ने ठाउँमा हुन्छ तर अर्कोतिर हुँदैन,’ उनले भनिन्, ‘न त ह्वीलचियर घुमाउनका लागि पर्याप्त ठाउँ नै हुन्छ ।’

जोरपाटीका रामकाजी कार्की ११ वर्षदेखि ह्वीलचियर प्रयोग गर्छन् । उनका अनुसार ह्वीलचियर प्रयोगकर्तालाई लक्षित गरी कुनै संरचना नै बनेको छैन । सार्वजनिक बसले चढाउन मान्दैनन्, सडकमा आफैं ह्वीलचियर गुडाएर जान सक्ने अवस्था पनि नहुँदा समस्या परेको उनले बताए । ‘जहाँ फराकिला सडक हुन्छन्, त्यहाँ पसल राखेका हुन्छन्,’ उनले भने, ‘फुटपाथ साँघुरो भएको ठाउँमा सडकबाटै हिँड्नुपर्ने हुन्छ, त्यहाँ पार्किङ गरेको हुन्छ ।’ अपांगमैत्री र ह्वीलचियरमैत्री फुटपाथ निर्माणका लागि पटक–पटक आन्दोलन गरे पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।

‘साँघुरा फुटपाथमा ह्वीलचियर अटाउँदैनन् । फराकिला फुटपाथमा पसल हुन्छन् । सडकको किनारमा पार्किङ गरिएको हुन्छ, हामी सडकको बीचमा हिँड्नुपर्छ,’ २२ वर्षदेखि ह्वीलचियर प्रयोग गरिरहेकी जोरपाटीकै सानु श्रेष्ठले भनिन् । फुटपाथकै दुरवस्थाले बाहिर निस्कनुपरे सधैं साथी बोकेर हिँड्नुपर्ने अवस्था रहेको उनले सुनाइन् । जोरपाटी, माकलबारी, जावलाखेल, बागबजार, छाउनी क्षेत्रमा ह्वीलचियर प्रयोगकर्ताको अधिक बसोबास छ ।

अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९ अनुसार सडकपेटीको चौडाइ कम्तीमा ७१ इन्च (१८०० मिमि) हुनुपर्छ । सडकपेटीमा ह्वीलचियर गुडाउँदा सडकमा हिँड्ने अन्य व्यक्तिबाट वा अन्य व्यक्तिलाई ह्वीलचियर प्रयोगकर्ताबाट कुनै अवरोध हुन नहुने उक्त निर्देशिकामा उल्लेख छ । त्यस्तै, सडक पार गरिसकेपछि फुटपाथमा उक्लिनुपर्ने ठाउँमा ‘कर्भ र्‍याम्प’ को व्यवस्था गर्नुपर्छ । सडकपेटीमा पार्किङलगायत विभिन्न किसिमका पसल राख्न नहुने पनि निर्देशिकामा स्पष्ट लेखिएको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार देशभर बौद्धिक अपांगता, शारीरिक अपांगता, दृष्टिविहीन, श्रवणविहीन, स्वरबोलाइसम्बन्धी अपांगता, मनोसामाजिक अपांगता, अटिजम, हेमोफोलिया र बहुअपांगतालगायत अपांगता भएका व्यक्तिको संख्या ५ लाख १३ हजार ३ सय २१ छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार राजधानीमा हालसम्म ३.५ किलोमिटर फुटपाथ पुनर्निर्माण गरिसकिएको छ । करिब १२ वर्षअघि बिछ्याइएको ब्लक टुट्ने, फुट्ने र पुरानो भएकाले नयाँ आकर्षक ब्लक बिछ्याइएको डिभिजनका प्रमुख कुवेर नेपालीले बताए । ‘खाल्डाखुल्डी पुर्ने, पिच गर्नेलगायत सबै काम सडकमै सीमित हुन्थ्यो,’ उनले भने, ‘यस वर्ष हामीले फुटपाथको खाल्डाखुल्डी पुर्ने, नयाँ फुटपाथ बनाउने काम गर्‍यौं ।’

झन्डै १० करोड रुपैयाँ खर्चेर फुटपाथको स्वरूप फेर्ने र भएकै फुटपाथलाई अपांगमैत्री बनाइरहेको उनले बताए । फरक क्षमता भएका दृष्टिविहीनका लागि गाइडिङ ब्लक, ह्वीलचियरका लागि उक्लन र ओर्लन मिल्ने स्लोप र्‍याम्प राखिएको उनले दाबी गरे । डिभिजनले थापाथली, सिंहदरबार, दरबारमार्ग, पुतलीसडकलगायत स्थानमा सडकपेटी बनाएको जनाएको छ । एयरपोर्ट सडक खण्डका फुटपाथमा भएकै ब्लकलाई मिलाउने र हिँड्न सहज हुने बनाइएको नेपालीले बताए । त्यस्तै, ललितपुर महानगरपालिकाको पुल्चोकदेखि कुपन्डोलसम्म एकतर्फी फुटपाथ निर्माण गरिएको छ ।

यसैबीच, उपत्यकाका अधिकांश सार्वजनिक शौचालयमा महिला र पुरुष जस्तै अपांगता भएका व्यक्तिका लागि पनि एउटा कोठा छुट्याइएको हुन्छ । तर अधिकांशमा गोदाम घर बनाइएका छन् । ती शौचालय मापदण्डअनुसार पनि बनाइएको हुँदैन । बजार निस्केपछि शौचालयका लागि घरमै पुग्नुपर्ने बाध्यता रहेको जावलाखेलकी नम्रता श्रेष्ठले बताइन् । हालसालै बनेका मंगलबजार र स्वयम्भूका शौचालय ह्वीलचियरमैत्री छन् । अपांगतामैत्री बनाइए पनि मापदण्डअनुसार नबनाइएको चौधरीको भनाइ छ ।

प्रकाशित : श्रावण ७, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?