१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

तेस्रो लहरको तयारीमा अस्पताल

लिला श्रेष्ठ

काठमाडौँ — कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै काठमाडौं उपत्यकाका अस्पतालहरूले तयारी थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहर आउन सक्ने र बालबालिका बढी जोखिममा पर्न सक्ने विज्ञहरूको आकलनअनुसार २० प्रतिशत शय्या बालबालिकाको उपचारका लागि छुट्याउन देशभरका अस्पताललाई निर्देशन दिएको थियो ।

तेस्रो लहरको तयारीमा अस्पताल

उक्त निर्देशनअनुसार बालबालिकालाई लक्षित गरी उपत्यकाका अस्पतालहरूले एनआईसीयू, पीआईसीयू, आईसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत साधन स्रोत, जनशक्ति र क्षमता विस्तारमा जोड दिएका छन् ।

सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड अस्पतालका रूपमा सञ्चालनमा ल्याइसकेको छ । ‘आवश्यक परेको खण्डमा नयाँ भवनको ५ सय र पुरानो भवनको ४ सय गरी ९ सय शय्या कोभिड युनिटका रूपमा सञ्चालन गरिनेछ,’ अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमले भने । हाल सय शय्याको आईसीयू/भेन्टिलेटर रहेकोमा आवश्यकताअनुसार २ सय शय्यासम्म पुर्‍याउन सकिने उनको भनाइ छ ।

दोस्रो लहरमा संक्रमितको उपचारमा अब्बल सावित भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अक्सिजन प्लान्टलाई थप मजबुत बनाउँदै छ । ‘अक्सिजनसहितको आइसोलेसन विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र थप तालिमको तयारीमा छौं,’ अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले भने । २२ भेन्टिलेटर, २४ आईसीयू शय्या तयारी अवस्थामा रहेकोमा ४ वटासम्म आईसीयू शय्या थप्न सकिने उनले बताए ।

नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले बालबालिकाकेन्द्रित आईसीयू, एचडीयू, भेन्टिलेटर र अन्य शय्या थप्ने काम भइरहेको जनाएको छ । दोस्रो लहरमा अस्पतालले १६ शय्याको आईसीयूसहित १ सय २ शय्यामा संक्रमितलाई उपचार सेवा दिएको थियो । ‘अस्पतालको प्रशासकीय भवन रहेको स्थानमा बालबालिकाका लागि कोभिड वार्ड बनाउन सुरु गरेका छौं,’ मध्यपुर थिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘नगरका ९ वटै वडामा बालबालिकालक्षित आईसीयूसहितको कोभिड वार्ड सञ्चालन गरिनेछ ।’

त्यसैगरी, भक्तपुर अस्पतालमा भर्खरै जन्मिएका शिशुका लागि एनआईसीयू, १८ वर्षमुनिकाका लागि १० शय्याको पीआईसीयू र थप १० शय्याको आईसीयू कक्ष सञ्चालनको तयारी छ । ७५ शय्याको अस्पताललाई २ सय शय्या पुर्‍याइएको छ । अस्पतालले ८० लाख रुपैयाँमा लिक्विड अक्सिजन प्लान्ट र रेडक्रस सोसाइटीको ५ करोड रुपैयाँमा अक्सिजन (ग्यास) प्लान्ट निर्माण गरिरहेको अस्पतालकी मेसु डा. सुमित्रा गौतमले बताइन् ।

९० शय्या सञ्चालनमा ल्याइरहेको बानेश्वरस्थित निजामती अस्पतालले आवश्यकताअनुसार क्षमता विस्तार गरी १ सय ५० शय्यासम्म पुर्‍याउन सकिने जनाएको छ ।

प्रकाशित : श्रावण ४, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?