कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मूर्तिको सुरक्षामा फलामे बार

मूर्तिहरु चोरी हुने क्रम बढेपछि सुरक्षाका लागि भन्दै स्थानीयले फलामको बार, डन्डी, जाली र तारले बाँधेर राख्ने गरेका छन् । यसले मूर्तिको स्वरुप बिगारेको भन्दै अहिले सीसी क्यामेरा जडान गर्न थालिएको छ  ।
लिला श्रेष्ठ

भक्तपुर — विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर परिसरबाट २०७६ मंसिर १ मा अष्टबाहु नारायण (विष्णु) को मूर्ति चोरी भयो । २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त मन्दिर परिसरको सत्तल पुनर्निर्माणको क्रममा हनुमान र अष्टबाहु नारायणको मूर्ति झिकेर बाहिर राखिएको थियो । सोही क्रममा मूर्ति चोरी भएको हो । भूकम्पपछि क्षतिग्रस्त मन्दिर सुरक्षाका लागि २४ सै घण्टा सशस्त्र प्रहरी खटिने गरेकोमा सुरक्षा घेराबाटै मूर्ति चोरी हुनुलाई अस्वाभाविक मानिएको छ । हराएको मूर्ति अझै भेटिएको छैन ।

मूर्तिको सुरक्षामा फलामे बार

मध्यपुर थिमि नगरपालिका–५ दिगुटोलबाट २०७२ पुस २ को राति १७ औं शताब्दीको ऐतिहासिक दिगु भैरव (प्रचण्ड भैरव) मन्दिरको मुख्य मूर्ति नै चोरी भयो । सुनको जलप लगाएको धातुको मूर्ति चोरी भएको ६ वर्ष भइसक्दा अझै फेला परेको छैन । मध्यपुर थिमिको मुख्य बिस्काः (बिस्केट) जात्रा सुरु गर्न दिगु भैरवको साधना गर्नैपर्ने चलन छ । यो प्रक्रियाबिना बालकुमारी जात्रासमेत नहुने भएकाले हराएको ४ महिनापछि नयाँ मूर्ति प्रतिस्थापन गरी जात्रा गरिएको थियो ।

दिगु भैरवकै पूर्वतर्फको अष्टमातृकाको छिपो (तोरण) करिब ३ दशकअघि नै चोरी भएको हो । उक्त तोरण फेला नपरेपछि स्थानीयले नयाँ बनाएर राखे । नयाँ तोरण पनि हराउन सक्ने भन्दै स्थानीयले अहिले सुरक्षाका लागि फलामको रेलिङ बनाएर राखेका छन् । दिगु भैरव मन्दिर परिसरकै क्षतिग्रस्त जगन्नाथ मन्दिर पुनर्निर्माणको चरणमा छ । मन्दिरभित्रको मुख्य बलराम, शुभद्रा र कृष्णको मूर्ति पनि चोरी हुन सक्ने डरले फलामको डन्डीले बारेर राखिएको छ । यसरी बार्दा मूर्तिको स्वरूप नै बदलिएको छ । ‘नगरका धेरै मूर्ति हराए, कतिपय अझै फेला परेका छैनन्,’ स्थानीय राधेश्याम प्रजापतिले भने, ‘भगवान् पनि चोरी हुने जमाना आयो, बचाउन फलामले बाँध्नुपर्‍यो ।’

चोरी हुने र हराउने क्रम बढेसँगै बाँकी रहेका र नयाँ बनाइएका मूर्ति, तोरणलगायत ऐतिहासिक र पुरात्तात्विक सम्पदाको सुरक्षाका लागि स्थानीय तथा अन्य सरोकारवालाले विभिन्न उपाय लगाइरहेका छन् । मध्यपुर थिमि–७ नगदेशस्थित सिद्धि गणेशको मूर्ति र सिद्धि गणेश धोछेंको सुनको झ्याल चोरी गर्न आएको स्थानीयले सुइँको पाए । त्यसपछि सिद्धि गणेशको मूर्तिलाई फलामको चेन गेट लगाएर र सुनको झ्याललाई फलामको रेलिङ बनाई ढाकेर राखिएको वडाध्यक्ष कृष्णकुमार प्रजापतिले बताए । ‘पहिलेका मान्छेले सम्पदाको संरक्षण गर्थे, अहिले मूर्ति चोरीका पेसेवर छन्,’ प्रजापतिले भने, ‘नत्र प्राचीन मूर्तिहरू कसरी अमेरिका पुगे त ?’ उपत्यकाको सभ्यताका रूपमा रहेका यस्ता सम्पदाहरू संरक्षणको अभावमा चोरीको घटना बढेको उनको भनाइ छ ।

मध्यपुर थिमि–४ स्थित बालकुमारी मन्दिर प्रवेशद्वारको तोरणमा रहेका केही मूर्तिहरू २०५० सालमा चोरी भए । अहिले बाँकी मूर्तिलाई भने सुरक्षाका लागि भन्दै मूर्ति नै नदेखिने गरी फलामले बाँधेर राखिएको छ । बालकुमारी मन्दिरभित्रका भैरव, कुमारी, महालक्ष्मी, काली र गणेशको प्रतिमूर्ति पनि चोरी भएका थिए । ती मूर्तिहरू अझैसम्म फेला परेको छैन । मन्दिरमा नयाँ मूर्ति राखिएको छ । फेरि पनि मूर्तिहरू चोरी हुन थालेपछि मन्दिरलाई नै फलामको रेलिङले बार लगाएको थियो । पछि जीणोद्वार गर्ने क्रममा नगरपालिकाले उक्त रेलिङ हटाएको थियो । जीणोद्वारपछि मूर्ति संरक्षणका लागि नगरले सीसी क्यामेरा जडान गरेको छ । मठमन्दिरलाई कुरूप हुनबाट बचाउन मन्दिरमा लगाइएको फलामको बार हटाउने र सीसी क्यामेरा जडान कार्य सुरु भएको मध्यपुर थिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । बालकुमारी र कुमारी मन्दिर बोडेमा लगाइएको फलामको बार हटाएर सीसी क्यामेरा जडान गरिसकिएको उनले जनाए । सीसी क्यामेराको निगरानी महानगरीय प्रहरी वृत्त थिमिले गर्ने गरेको छ ।

मध्यपुर थिमिमा मात्र नभई उपत्यकाका तीनवटै जिल्लाबाट प्राचीन, ऐतिहासिक र सांस्कृतिक महत्त्वका सयौं मूर्ति चोरी भएका वा हराएका छन् । तर कति संख्यामा मूर्ति चोरी भए वा हराए भन्ने तथ्यांक पुरातत्त्व विभागसँग समेत छैन । हराएका मूर्ति फेला परेका उदाहरण पनि नगण्य छन् । कतिपय मूर्तिहरू विदेशका संग्रहालयहरूमा फेला परेका छन् । नेपालबाट हराएका अधिकांश मूर्ति युरोप, अमेरिकाको संग्रहालयमा संग्रहित हुन पुगेको सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी बताउँछन् । ‘शताब्दीऔं पुराना मूर्ति भारत, युरोप, अमेरिका, अस्ट्रेलिया, जापानलगायतका संग्रहालयमा छन्,’ उनले भने, ‘बेलाबेलामा ती मूर्तिको प्रदर्शनीसमेत हुने गरेको छ ।’

बचेका मूर्तिहरूलाई समेत स्थानीयले संरक्षणको नाममा फलामको जन्जिरले बाँधेर तथा बार लगाएर राख्दा मूर्तिको आकारलाई कुरूप बनाएको छ । ‘कानुनले पुरातात्त्विक संरचना कुरूप हुने गरी कुनै पनि क्रियाकलाप गर्न पाइँदैन,’ स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरकी प्रमुख अरुना नकर्मीले भनिन्, ‘प्राचीन सम्पदाहरूको सुरक्षाको नाममा फलाम ठोक्नुभन्दा वैकल्पिक उपाय अपनाउन जरुरी छ ।’

मूर्तिको स्वरूपसँग भन्दा पनि सुरक्षासँग सरोकार भएको स्थानीय बताउँछन् । ‘२०३०/३५ बाट मूर्ति चोरी हुने क्रम बढ्यो, चोरी रोक्नलाई नै फलामको रेलिङ राख्न थालिएको हो,’ स्थानीय अर्जुन श्रेष्ठले भने, ‘स्थानीयको मात्र पहलले सम्पदा संरक्षण हुँदैन, सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’ प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १२ अनुसार कुनै प्राचीन स्मारकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, विरूप पारेमा वा चोरी गरेमा त्यस्तो प्राचीन स्मारकको बिगोबमोजिम रकम असुलउपर गरी २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।

प्रकाशित : श्रावण ३, २०७८ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?