बसले नाकामै ओरालिदिँदा यात्रुलाई सास्ती

‘सरकारले सवारीसाधनलाई रोक्ने तर यात्रुलाई प्रवेश दिने कस्तो नीति ल्याएको हो ?’
लिला श्रेष्ठ

भक्तपुर — कालीमाटीमा ज्यामी काम गर्ने काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ भुम्लुटारका रूपक थापामगर सरकारले निषेधाज्ञा गर्ने भनेपछि वैशाख दोस्रो साता गाउँ गए । झन्डै दुई महिनापछि उपत्यकामा निषेधाज्ञा खुकुलो हुन थाल्यो । फेरि काम गर्न भन्दै उनी काठमाडौं फर्किए ।

बसले नाकामै ओरालिदिँदा यात्रुलाई सास्ती

तर आउने क्रममा सवारीसाधनकै कारण सास्ती खेप्नुपर्‍यो । ‘ठेकेदारले काम गर्न सहज भयो आउनुस् भनेपछि आएको हो, धेरै सास्ती खेप्नुपर्‍यो,’ उनले भने, ‘महँगो भाडा तिरेर आउँदा पनि बस चालकले बीच बाटोमै ओरालिदिए ।’ सामान्य अवस्थामा उनी गाडी चढेको फलाँटेबाट काठमाडौंसम्मको भाडा १ सय ९० रुपैयाँ मात्र हो । यसपल्ट १५ सय रुपैयाँ तिर्नुपर्‍यो ।

निषेधाज्ञा खुकुलो भए पनि स्थानीय प्रशासनले अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्नेहरूको हकमा नाकामा छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधनहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरेका छन् । रूपक चढेको गाडीले स्वीकृति नलिएको भन्दै सबै यात्रुलाई उपत्यका प्रवेश गर्ने पूर्वी नाका साँगामै झारिदिएको हो । यसरी अलपत्र पारिएका यात्रुहरू झन्डै ५ सय मिटर हिँडेर फेरि सार्वजनिक यातायात चढ्न बाध्य छन् । ‘जसरी हुन्छ यात्रुलाई उपत्यका प्रवेश गर्नु नै छ, भनसुन गरेर होस् वा विभिन्न बहाना बनाएर किन नहोस्,’ साँगा नाकामा सवारी जाँचमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘स्वीकृति नलिएका सवारीसाधनलाई नाकाबाटै फिर्ता पठाउँछौं, यात्रुलाई पैदल प्रवेशमा भने रोक छैन ।’

नाम मात्रको निषेधाज्ञाले पहुँचबाहिरका यात्रुलाई सास्ती दिएको उनको भनाइ छ । विभिन्न बहाना बनाएर उपत्यका प्रवेश गर्न खोज्नेहरूका कारण प्रहरीले थप हैरानी खेप्नुपरेको उनले गुनासो पनि गरे । उपत्यका भित्रिने सवारीसाधन र यात्रुलाई नाकामा आइसकेपछि फिर्ता गर्नुको साटो सम्बन्धित जिल्लामै रोक्नुपर्ने प्रहरीको भनाइ छ । ‘सयौं किलोमिटर पार गरेर आइपुगेका यात्रु जसरी पनि प्रवेश गरेरै छोड्छन्,’ महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश बस्नेतले भने ।

निषेधाज्ञा खुकुलो र सवारी सहजताले केही दिनयता उपत्यका भित्रिनेको संख्या बढ्दो छ । कोरोना संक्रमणको उच्च जोखिम र लामो समय निषेधाज्ञा हुन सक्ने भयका कारण उपत्यका छाडेकाहरू अहिले धमाधम फिर्ता आइरहेका हुन् । यसरी भित्रिनेमा वैदेशिक रोजगारीमा जानेहरू, विद्यार्थी, जागिरे र दैनिक मजदुरी गर्ने धेरै छन् । उपत्यका प्रवेश नपाएपछि बनेपा, धुलिखेललगायत काभ्रेबाट काठमाडौंको पुरानो बसपार्क, कलंकी, गोगंबु बसपार्कसम्म चल्ने सार्वजनिक बसले पनि साँगासम्म मात्रै यात्रु ल्याएर ओराल्ने गरेका छन् । ‘सरकारले सवारीसाधनलाई रोक्ने, यात्रुलाई प्रवेश दिने कस्तो नीति ल्याएको हो ?,’ काभ्रे धुलिखेलकी लक्ष्मी तामाङले प्रश्न गरिन्, ‘सर्वसाधरणलाई सास्तीबाहेक केही छैन, नामको मात्र निषेधाज्ञाले कोरोना रोकिन्नँ ।’

प्रकाशित : असार २७, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?