१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

'कोभिड फ्रन्टलाइनर'हरुको स्मृतिमा बनाइएको मुरल महानगरपालिकाले मेटायो

वडाको अनुमतिले हुँदैन,कार्यपालिकाको निर्णय चाहिन्‍छ : महानगर प्रवक्ता

काठमाडौँ — 'कोभिड फ्रन्टलाइनर'हरुको स्मृतिमा रत्नपार्कको आकाशे पुलमुनि बनाइएको मुरल काठमाडौं महानगरपालिकाले मेटाएको छ । भित्तामा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सरसफाइमा खटिएकाहरूको चित्र कोरिएको थियो । बुधबार महानगर प्रहरीले महानगरपालिकाबाट निर्देशन आएको भन्दै उक्त मुरल मेटेका हुन् ।

'कोभिड फ्रन्टलाइनर'हरुको स्मृतिमा बनाइएको मुरल महानगरपालिकाले मेटायो

काठमाडौंको वडा नम्बर २८ पुरानो बसपार्कले सन्देशमूलक मुरलका लागि अनुमति दिएको थियो तर महानगरपालिकाले भने वडाको अनुमतिले मात्रै नपुग्ने बताउँदै मुरल मेटाएको बताएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलसँग यस विषयमा बुझ्न खोज्दा उनले वडाले वाल पेन्टिङका लागि अनुमति दिन नमिल्ने बताए । उनले इकान्तिपुरलाई भने,'काठमाडौं‌ महानगरपालिकाले वाल पेन्टिङका लागि कसैलाई पनि अनुमति दिएको छैन । वडालाई पनि अधिकार छैन । कार्यपालिका बैठकले निर्णय गरेर दिने निर्णय गरेको भए पाइन्थ्यो तर त्यसो गरिएको छैन । नियम र प्रक्रिया नपुगेकाले मेटाइएको हो । '

आकाशेपुलको मुरल मेटिएपछि आफूहरु निकै दुखी भएको मुरलको नेतृत्वकर्ता दुजांग शेर्पाले बताए । उनले भने, 'सरकारलाई राम्रो काम गरेको मन नपर्दो रहेछ।'

एक हप्ता लगाएर चार जना कलाकार र तीन जना स्वयंसेवकहरुले सडक कलालाई अन्तिम रुप दिन खटिएका थिए । मुरल कोर्ने कलाकारहररु साङ्गे थिमे लामा, कृपा शेर्पा, सुम्निमा श्रेष्ठ र राजेश महर्जन रहेका थिए । उक्त कामको नेतृत्व दुजांग शेर्पाले लिएका थिए ।


कोरोनाको महामारीमा क्रममा अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भनेर सडक कला बनाइएको दुजांग शेर्पाले बताए । कलाका माध्यमबाट नागरिकस्तरबाट अग्रपंक्तिमा खटिनेलाई थोरै भए पनि मनोबल बढाउने काम यस कलाले गरेको उनको भनाइ छ । नेपालको झण्डा, ट्राफिक प्रहरी,डाक्टर र नर्स, जनपथ प्रहरीका सुरक्षाकर्मी, सेना र शव व्यवस्थापनमा खटिएका सैनिक, पाइलट ,सञ्चारकर्मी र सरसफाइमा खटिएका व्यक्तिहरूको चित्र मुरलमा समेटिएको थियो ।

तस्बिर : केशव थापा

कोरोनाबाट ज्यान गुमाएका 'फ्रन्टलाइनर'हरुको स्मृतिमा असार ३१ गते रत्नपार्कमा दीप प्रज्वलन समेत गरिएको थियो ।

प्रकाशित : असार १६, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?