ललितपुरको नगरसभा स्थगित- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरको नगरसभा स्थगित

प्रशान्त माली

ललितपुर — राजनीतिक खिचातानीका कारण ललितपुर महानगरपालिकाले कानुनले तोकेको समय असार १० गतेभित्र बजेट पेस गर्न सकेन । एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि नगरसभा शनिबारका लागि सारिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ मा बजेट, नीति तथा कार्यक्रम कार्यपालिका बैठकबाट पारित गरेर मात्र नगर सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बुधबार कार्यपालिकामा प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रमको खाका अध्ययनकै क्रममा रहेका बेला बिहीबार नगरसभा बोलाएर पारित गर्न लागेको भन्दै एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका हुन् ।

महानगरका ३९ जना कार्यपालिका सदस्यमध्ये २६ जना र ९२ जना नगरसभा सदस्यमध्ये ६६ जना एमाले र मओवादी केन्द्रका छन् । उनीहरूले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को मर्म र भावनाविपरीत प्रमुख चिरीबाबु महर्जनले बजेट ल्याउन खोजेको आरोप लगाएका छन् ।

ललितपुर–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले बजेट, नीति तथा कार्यक्रम जनप्रतिनिधिबीच समन्वय र छलफल गरेर ल्याउनुपर्ने बताए । ‘हामी ताली बजाउन मात्र बसेका होइनौं,’ उनले भने ।

प्रकाशित : असार ११, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

रगत पाउन ‘डोनर’ कै भर

‘बी’, ‘एबी’ तथा नेगेटिभ समूहको रगत ब्लड बैंकमा पनि कमै संकलन हुन्छ । यस्तोमा बिरामीलाई आवश्यक परे रक्तदाता खोज्नुको विकल्प छैन । कोरोना महामारी र निषेधाज्ञाले यसमा झनै सास्ती थपिदिएको छ ।
प्रशान्त माली

काठमाडौँ — दुवै मिर्गौला खराब भएका नुवाकोटका ५ वर्षीय असीम घलेको शरीरमा रगतको मात्रा बढ्न सकिरहेको छैन । उनलाई प्रत्येक तीन सातामा दुई पिन्ट रगत चढाउनुपर्छ । पाटन अस्पतालमा सातामा दुई पटक डायलसिस गराउँदै आएका छन् ।

ललितपुरको पाटनमा पटुको डट कम र पटुको टोल सुधार समितिले संयुक्त रुपमा आयोजना गरेको रक्तदान शिविर । फाइल तस्बिर : कान्तिपुर

उनका बुबा हिल्लराजले रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मा रगत खोज्नै छोडिसकेका छन्, कारण रगत पाउन निकै मुस्किल पर्छ ।

केही समययता उनले निजी अस्पतालमा रक्तदाता (डोनर) लगेर रक्तदान गराएर छोरालाई चाहिने रगतको पूर्ति गर्दै आएका छन् । असिमको ६ महिनाअघि मिर्गौला खराब भएको हो । त्यसयता हिल्लराजको दैनिकी ‘एबी पोजिटिभ’ रक्त समूहका व्यक्तिको खोजीमा बित्ने गरेको छ । डोनर जम्मा पार्न उनले निकै हन्डर खाइसकेका छन् । डोनर नपाएर दुई पटक त आफैं पनि रगत दिइसकेका छन् । भन्छन्, ‘सधैं आफैंले दिन पनि नमिल्ने, कोरोनाका कारण साथीभाइ, आफन्त सबै गाउँमा छन् । सहरमा चिनेजानेका कम छन् । सातामा एक पटक रगत र किड्नी जाँच गराउनुपर्छ । समयमा रगत चढाउन नसके बच्चाले खाना नखाने र सुन्निने गर्छ ।’

छोरासँग मिल्दो रक्त समूह भएका व्यक्ति नपाउँदा उनी गाउँ फर्कन चाहन्छन् । गाउँमा डोनर छन्, नुवाकोट अस्पतालमा हालै मात्र डायलसिस मेसिन पनि जोडिएको छ तर छोराको प्रत्येक साता गराउनुपर्ने जाँचको व्यवस्था नहुँदा उनी काठमाडौंमै बस्न बाध्य छन् । ‘छोरालाई दिनुपर्ने १४/१५ थरी औषधि राजधानीमै पनि पाउन मुस्किल छ । गाउँमा झन् सम्भव छैन,’ उनले भने ।

स्याङ्जाका २० वर्षीय नाजिल राणाले डायलसिस गराउँदै आएको तीन वर्ष भयो । उनको रगतमा हेमोग्लोबिनको मात्रा कम छ । मासिक दुई पटक रगत चढाउनुपर्छ । कोरोना महामारी फैलिएयता उनले पनि रगत पाउन निकै सकस झेल्दै आएको बताए । रक्तसञ्चार केन्द्रहरूले रगत अभाव छ भन्दै फर्काउने गरेकाले पछिल्लो समय आफूले पनि सम्पर्क गर्न छोडेको उनले सुनाए । अहिले डोनरकै भर रहे पनि उनलाई रक्त समूह मिल्ने व्यक्ति खोज्न हम्मे परेको छ ।

१८ वर्षीय रञ्जन आचार्यको समस्या पनि उस्तै छ । समयमा रगत चढाउन नसक्दा शरीर सुन्निएको अवस्थामा आचार्य पाटन अस्पतालमा भेटिए । उनलाई प्रत्येक १५ दिनमा दुई पिन्ट रगत दिनुपर्छ । उनी डोनर खोज्न सक्ने अवस्थामा छैनन् । बालाजु बस्ने उनको ब्लड ग्रुप ‘ओ पोजिटिभ’ हो । ५ वर्षदेखि डायलसिस गराउँदै आएका उनले लकडाउनले रगत अभाव हुँदा निकै सास्ती बेहोर्नुपर्‍यो । रगत अभावले समस्यामा परेका यी केही प्रतिनिधि मिर्गौलापीडित मात्रै हुन् । धोबीघाटका भरत थापाको आकस्मिक डायलसिस गराउनुपर्‍यो । तर रगत अभावका कारण तीन दिनपछि मात्र गराए । छोरी शर्मिला भन्छिन्, ‘रगत पाउन निषेधाज्ञाले मात्र नभई रक्तसञ्चार केन्द्रको नीतिले पनि समस्या निम्तिएको हो । पहिला रक्तदान गरेपछि कार्ड दिन्थ्यो । त्यही कार्डबाट रगत पाउन सहज हुन्थ्यो । त्यतिबेला नचाहनेहरूले पनि रक्तदान गर्थे । कार्ड सिस्टम हटेयता रक्तदान गर्नेको संख्या घट्यो ।’

सामान्यतया डायलसिस ३० वर्ष उमेर पुगेकालाई सातामा दुई पटक, वृद्धवृद्धालाई तीन पटकसम्म गराउनुपर्छ । यस्ता बिरामीलाई प्रत्येक दुई सातामा रगत चढाउनुपर्छ । त्यसो नभए शरीरमा विभिन्न समस्या थपिन्छन् । विभिन्न रक्त समूहमध्ये ‘ओ’ र ‘ए’ सहज रूपमा पाउन सकिन्छ । ‘बी’ र ‘एबी’ कम मात्रामा पाइन्छ । नेगेटिभ रगत झनै कम पाइन्छ । यस्ता बिरामी यो बेला अझ मर्कामा छन् ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार पोजिटिभ र नेगेटिभ गरी रगत ८ थरीका हुन्छन् । मुलुकमा ए, ओ र बी समूहका ९० प्रतिशत र एबी समूहका १० प्रतिशत रक्तदाता छन् । केन्द्रसम्म आउने एबी समूह भएकामध्येमा ३ प्रतिशतमा मात्रै नेगेटिभ समूहको रगत हुने निर्देशक दिव्यराज पौडेलले बताए । यसकारण नै डोनरको आवश्यकता पर्ने गरेको उनको भनाइ छ । ‘अहिले पनि डोनर कार्ड दिने व्यवस्था छ । तर कार्ड सिस्टम मुलुकभर लागू गर्न सक्ने सम्भावना कम भएकाले हटाइएको हो । त्यसमाथि पहिला आउनेलाई प्राथमिकता दिनुपर्ने भएकाले पनि यो व्यवस्था हटायौं । तैपनि यसको विकल्प सोचिरहेका छौं ।’

उनका अनुसार निषेधाज्ञा, मनसुन सक्रिय भई खोलानाला बढ्दा र खेतीपातीको काम सुरु भएकाले पनि देशभर रक्तदान शिविर कम आयोजना भइरहेको छ । अहिले मुस्किलले ४० प्रतिशत रगत मात्रै शिविरबाट संकलन भइरहेको छ ।

संकलित रगतमध्ये एक तिहाइ मात्रै प्रयोग

संकलन भइरहेको रगत पनि उचित भण्डारणको अभाव र रक्तदान प्रक्रियामै सावधानी नअपनाइँदा नालीमा फाल्नुपर्ने अवस्था छ । यसबारेमा सम्बन्धित निकाय जानकार भए पनि व्यवस्थापनमा खासै चासो देखाएको पाइँदैन । संकलित रगतमध्ये हाल ३०–३५ प्रतिशत मात्र प्रयोगमा आउने गरेको नेपाल स्वयंसेवी संघका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य दाबी गर्छन् । भन्छन्, ‘हामी डोनरलाई हारगुहार गरी धेरै दुःख खप्दै रक्तदान शिविर आयोजना गर्छौं तर नेपाल रेडक्रस सोसाइटीलगायत सम्बन्धित निकायको लापरबाहीका कारण संकलित रगतमध्ये आधा पनि प्रयोगमा आउँदैन ।’

उनका अनुसार अस्पतालले चाहिनेभन्दा बढी रगत माग गर्ने गर्छन् । ‘बिरामीलाई प्रयोगमा नआएको रगत पनि फर्काउन चासो दिँदैनन् । बिरामीका आफन्तले पनि प्रयोग नभए रगत फर्काउँदैनन्,’ उनले भने, ‘रेडक्रस सोसाइटीमा राम्रोभन्दा हाम्रो मान्छे नियुक्ति गर्ने प्रवृत्तिले समस्या देखिएको हो । यसले रक्तदाताले दुःख गरेर पठाएको रगतको मूल्यांकन भएन ।’

राष्ट्रिय रक्तसञ्चार नीति २०७१ मा बिरामीले रगत निःशुल्क पाउनुपर्ने व्यवस्था छ । तर रेडक्रस र अस्पतालहरूले रगत दिएबापत चर्को मूल्य लिने गरेको आरोप नयाँ होइन ।

अहिले रेडक्रसले एक पिन्ट रगतको ४ सय ९५ र निजी अस्पतालहरूले २ हजार २ सयदेखि २ हजार ४ सय रुपैयाँसम्म लिने गरेका कर्माचार्य बताउँछन् । रेडक्रस निर्देशक पौडेलले भने रगत खेर जान नदिन अस्पताल प्रशासन र बिरामीका आफन्तलाई फर्काउन अनुरोध गर्ने गरेको दाबी गरे । ‘परीक्षणबाट रिजेक्ट भएका, निश्चित आयु भएका, अस्पतालले व्यवस्थापनमा चासो नदिएको रगत मात्र खेर जाने हो,’ उनले भने, ‘खेर जाने रगत अत्यन्त न्यून छ ।’

बिरामीका आफन्तले पनि लगेको रगत अस्पतालमा प्रयोग भए/नभएको बारेमा जानकारी नलिने गरेको उनको आरोप छ । ‘मापदण्डमा प्रयोग नभएको रगत फर्काउनुपर्छ भन्ने उल्लेख छ । अनुगमनका लागि स्वास्थ्य विभागसँग पनि सहकार्य गर्न माग गरेको छु,’ उनले भने ।

प्रकाशित : असार ७, २०७८ १०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×