कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

त्रिविका शिक्षक–कर्मचारीलाई कोरोनाविरुद्धको खोप

आफ्नालाई मात्र प्राथमिकता दिएको गुनासो
गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई कोरोना भाइरसविरुद्ध खोप लगाउन सुरु गरेको छ । मंगलबार र बुधबार गरी दुई दिन खोप दिइने भनिएको छ । पहिलो दिन पाँच सय जनालाई मात्र दिइने भएपछि शिक्षक कर्मचारी चर्को घाममा लामबद्ध भएर खोप लगाउन पुगेका छन् ।

त्रिविका शिक्षक–कर्मचारीलाई कोरोनाविरुद्धको खोप

‘कुपन सिस्टम छ, आइडी कार्ड लिएर आउनू, बाहिर सामाजिक सञ्जालमा कतै हल्ला नगर्नू भन्ने जानकारी दिइयो,’ एक शिक्षकले भने, ‘बिहान आठ बजेबाट लामबद्ध भएर बस्यौं । तर एघार बजेपछि पाँच सय जनालाई कुपन बाँडिसकियो भनेर पन्छाए ।’ पदाधिकारी र पहुँचका आधारमा कुपन बाँडिएको ती शिक्षकले बताए ।

यसअघि कोभिसिल्ड खोप दिइएको थियो । अहिले भेरोसेलको पहिलो डोजको व्यवस्था गरिएको जनाइएको छ । ‘परीक्षा सञ्चालनलगायत अग्रपंक्तिमा खटिने शिक्षक कर्मचारीलाई प्राथमिकता दिइएको छ,’ त्रिवि सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले कान्तिपुरसित भने, ‘सरकारसँग अनुरोध गरेका हौं । दूरदराजसम्म समेटिन पर्ने भएपनि अहिलेका निम्ति उपत्यकामा रहेका शिक्षक कर्मचारीलाई व्यवस्था गरिएको छ । ’

दुई दिन दिइने खोपको मात्रा एक हजार जनालाई लक्षित गरिएको छ । ‘यदि स्वास्थ्यकर्मीले लगाउन सक्छौं भनेमा त्योभन्दा बढीलाई खोप दिइने छ,’ दाहालले भने, ‘आज (मंगलबार) पाँच सय जनालाई टोकनका आधारमा दिइएको हो । बल्खुमा मात्र छ । स्वास्थ्य मापदपण्ड पूरा गर्न दुई ठाउँ सेवा दिन अनुरोध गरेपनि सम्भव भएन । सम्भव भएसम्म पहिलो दिने तोकिएभन्दा बढीलाई खोप दिने प्रयास जारी छ ।’ सकेसम्म विद्यार्थीलाई पनि खोप दिइनु पर्ने माग भएको तर सम्भव नरहेको उनले जनाए ।

काठमाडौंको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई खोप दिइएको हो । त्रिविमा आठ हजार कर्मचारी र सात हजार नौ सय शिक्षक छन् । सामाजिक/भौतिक दूरी कायम गर्न भनिए पनि अत्याधिक भीडभाडकामाझ खोप दिइएको छ ।

यही असार लागेसँगै सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ । हालसम्म सामुदायिक विद्यालयका शिक्षकले खोप पाएका छैनन् । विश्वविद्यालयका विद्यार्थीलाई भर्चुअल कक्षाको व्यवस्था गरिएको छ । ‘असार १ गतेबाट सामुदायिक विद्यालयको पठनपाठन सुरु भयो,’ एक शिक्षकले भने, ‘त्रासका कारण शिक्षकमात्र उपस्थित छन् । एउटा कक्षामा बढीमा १० जना जतिमात्र विद्यार्थी उपस्थित छन् ।’

प्रकाशित : असार ८, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?