१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रणलाई प्राथमिकता

ज्येष्ठ नागरिकको उपचार गर्न सुविधासम्पन्न सय बेडको अस्पताल, सहरी स्वास्थ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा
विद्युतीय सवारी करमा शतप्रतिशत छुट, स्टार्टअप बिजनेस गर्ने २० परियोजनालाई जनही ५ लाख अनुदान
सीमा तामाङ

काठमाडौँ — कोरोना नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राख्दै काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रिय सभागृहमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रणलाई प्राथमिकता

कोरोना प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्य उपचार र मानवीय सहायताका लागि सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ निर्माण गर्ने पनि घोषणा गरिएको छ ।

‘कोरोना संक्रमित बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारका लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्टलगायतका सेवा निःशुल्क उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सबै वडा कार्यालयमा सञ्चालित सहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी विशेषज्ञ चिकित्सकद्वारा महानगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइनेछ ।’

नेपाल एम्बुलेन्स सेवाले प्रदान गर्दै आएको सेवाको प्रभावकारिता अध्ययन गरी एम्बुलेन्स सेवालाई निःशुल्क, सरल र पहुँचयोग्य बनाइने पनि उल्लेख छ । महानगर सुलभ फार्मेसी सञ्चालन गर्न प्रोत्साहन गर्ने, यस्ता फार्मेसी सञ्चालकहरूलाई महानगरमा बुझाउनुपर्ने कर, शुल्क, दस्तुरमा सहुलियत दिने, सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्थानीयको स्वास्थ्य बिमा गर्ने र बिमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने महानगरले नीति लिएको छ । नाकामा भेहिकल क्लिनिङ सेन्टर स्थापना गर्ने, मेयर रिसर्च फेलोसिप र यहाँका अमूर्त सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि परम्परागत बाजा सिकाउने गुरुहरू तथा सामुदायिक गुम्बा सञ्चालनमा संलग्न प्रमुख लामालाई सम्मान गर्ने कार्यलाई भने निरन्तरता दिने भएको छ ।

‘होटल, रेस्टुरेन्ट, खाजाघर, अनलाइन खाद्य वितरकको उत्पादन स्थल, खाद्य उत्पादन गुणस्तर, पद्धति, प्रक्रिया, संलग्न जनशक्तिको सरसफाइ र सेवाग्राहीले खाना–खाजा उपभोग गर्ने स्थलसमेतको समग्र मूल्यांकन गरी त्यस्ता सेवा प्रदायकहरूको सेवाको गुणस्तर सुनिश्चित गर्न सूचीकृत एवं वर्गीकरण गरी महानगरले प्रमाणपत्र जारी गर्नेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । यसैगरी, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शतप्रतिशत छुट दिने भएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेसन निर्माण हुनेछ । सरकारको निर्णयअनुसार मासिक २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीलाई खानेपानी शुल्क मिनाहा गरिनेछ । ‘सुक्खा क्षेत्रका ग्राहकहरूको बक्यौता रकम मिनाहा गर्ने व्यवस्था मिलाइनेछ,’ प्रमुख शाक्यले भने ।

उनका अनुसार उपत्यकाका स्थानीय तहहरू, काठमाडौंसँग भगिनी सम्बन्ध स्थापना भएका पालिका, स्थानीय समुदाय र उद्योगी व्यवसायीसँगको सहकार्यमा ‘पौरखी मेला’ आयोजना गरिने भएको छ । ‘महामारीका कारण संकटमा परेका लघु, घरेलु र साना उद्योगहरूको पुनरुत्थानका लागि ‘रिभल्विङ फन्ड’ को स्थापना गरी सहुलियत दरमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ,’ नीतिमा भनिएको छ, ‘सार्वजनिक निजी साझेदारी प्रारूपमा सञ्चालित परियोजनाहरूमा सम्झौताको पूर्ण पालना भए–नभएको, परियोजना सञ्चालनको अवस्था, वित्तीय तथा भौतिक प्रगतिको स्थिति, अपेक्षित उपलब्धि, रोयल्टी प्राप्तिको स्थितिलगायत विवरण समावेश गरी सार्वजनिक निजी साझेदारी श्वेतपत्र जारी गरिनेछ ।’

उपभोक्ताको गुणस्तरीय तरकारी तथा खाद्यवस्तुको उपभोग गर्ने हक सुनिश्चित गर्न प्रत्येक वडामा कम्तीमा एक नमुना उपभोक्ता सहकारी संस्था स्थापना गरी बजार सञ्चालन गरिने प्रमुख शाक्यले घोषणा गरे । ‘युवापुस्ताको नवीन सोच र प्रविधिप्रतिको आकर्षणलाई बढावा दिन काठमाडौं बिजनेस हबको स्थापना गरिनेछ । स्टार्टअपको माध्यमबाट उद्यमी बन्न चाहने युवाहरूलाई डिजाइन, उत्पादन, प्रविधि, बजार, वित्त व्यवस्था, कानुनी प्रक्रिया आदिको परामर्श एकै थलोबाट उपलब्ध गराइनेछ,’ नीतिमा भनिएको छ, ‘के हबको रणनीतिबमोजिम छनोट भइआएका बढीमा २० वटा परियोजनाहरूलाई पाँच लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ ।’

महानगरपालिकाले ‘एक वडा एक नमुना विद्यालय कार्यक्रम’ पनि अघि सारेको छ । जसअन्तर्गत छनोट भएका ३२ विद्यालयलाई नमुना सिकाइ केन्द्र र तालिम हबका रूपमा विकास गरिनेछ । ‘महानगर क्षेत्रभित्र प्रत्येक वडामा कम्तीमा एउटा सुविधासम्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुँच सुनिश्चित गरिनेछ,’ नीतिमा भनिएको छ, ‘महानगरभित्रका प्रत्येक विद्यालयमा कक्षा ४ देखि नैतिक शिक्षालाई समावेश गरी पठनपाठन प्रारम्भ गरिनेछ ।’

त्यसैगरी, महानगरभित्र भएका विभिन्न विकासका गतिविधि एवं व्यक्तिगत घटनालगायत अन्य तथ्यांकलाई व्यवस्थित रूपमा संकलन गरी महानगर डाटा बैंकको स्थापना गर्ने नीति लिइएको छ । महानगरका गतिविधिबारे महानगरवासीलाई सुसूचित गराउन समाचार तथा समाचारमूलक सामग्री उत्पादन गर्ने रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा काम गर्ने पत्रकार वा सञ्चारगृहलाई लेखनवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

जनप्रतिनिधि, सहरी योजना आयोगका पदाधिकारी तथा सहायक विज्ञ, स्थायी तथा करारमा कार्यरत कर्मचारी र शिक्षक, नेपाल भाषा सहायक प्रशिक्षक, वडामा कार्यरत सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका, दमकल सञ्चालनमा काजमा खटिएका सशस्त्र प्रहरीको १० लाखको सामूहिक दुर्घटना बिमा र १ लाखको स्वास्थ्य बिमा प्रिमियमको व्यवस्था गरिने भएको छ ।

‘महानगरको सहरी व्यवस्थापन र राजस्व प्रशासनका लागि भौगोलिक सूचना प्रविधिमा आधारित एकीकृत सहरी नक्सा तथा महानगर सूचना प्रणाली विकास गरिनेछ,’ प्रमुख शाक्यले भने, ‘महानगरक्षेत्रभित्र विकासयोग्य जमिनको अभाव भएकाले विकासमा आधारित जग्गा मूल्य अधिग्रहणको सिद्धान्त अपनाई सहरको पुनर्विकास गर्न प्रेरित गरिनेछ ।’

प्रकाशित : असार ४, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?