२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जनसहयोगबाट ख्वप: अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

भक्तपुर — भक्तपुर नगरपालिकाले जनताको सहयोगबाट अक्सिजन प्लान्ट निर्माण गरी उत्पादनको थालनी गरेको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित च्याम्हासिंहस्थित ख्वप: अस्पतालमा मंगलबारबाट अक्सिजनको उत्पादन थालिएको हो । 

जनसहयोगबाट ख्वप: अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

ख्वप: अस्पतालमा १ करोड २३ लाख ३६ हजार रुपैयाँको लागतमा अक्सिजन प्लान्ट निर्माण भएको हो । उक्त प्लान्टले दैनिक ४० लिटर क्षमताको १ सयदेखि १ सय २० सिलिन्डर अक्सिजन उत्पादन गर्ने नगरप्रमुख सुनील प्रजापतिले बताए । कोभिड–१९ संक्रमित बिरामीहरु थपिने क्रम बढेसँगै आइसोलेसन केन्द्र र आकस्मिक सेवामा अक्सिजनको माग बढ्न थालेको थियो ।

त्यसपछि नगरपालिकाले नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग अक्सिजन आपूर्तिको लागि पटक–पटक आग्रह गर्‍यो । वैशाख २७ गते दैनिक ३० सिलिन्डर र २८ गते दैनिक ८० सिलिन्डर अक्सिजन ख्वप: अस्पताललाई प्रदान गर्ने भनी सीसीएमसीले निर्णयसमेत गर्‍यो तर त्यो निर्णयअनुसार अक्सिजन पाएन ।

सरकारी तवरबाट सहयोगको कुनै प्रतिक्रिया नआएपछि कोभिड युनिटमा आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणका लागि नगरपालिकाले सहयोगका लागि आह्वान गर्‍यो । नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरुले आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

ख्वप: अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट निर्माणका लागि नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा मंगलबारसम्म ५ करोड ९३ लाख ९८ हजार एक सय ७६ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ । कोभिड य्निटमा आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणका लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै जेठ ५ गतेदेखि विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरुले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

ख्वप: अस्पतालका लागि २ वटा भेन्टिलेटर, ५ वटा आईसीयूको टेन्डर भइसकेको र अन्य स्वास्थ्य उपकरणहरु खरिदको तयारी भएको नगरप्रमुख प्रजापतिले बताए । कोभिड–१९ को दोस्रो लहर सुरु भएयता नगरपालिकाले वैशाख १७ देखि नै २५ शय्याको एचडीयू, ५० शय्याको आइसोलेसनसहित ख्वप: अस्पताल कोभिड युनिट सञ्चालन गर्‍यो । कोभिड युनिटबाट जेठ मसान्तसम्म २ सय १० जनालाई नि:शुल्क सेवा दिइएको जनाएको छ ।

प्रकाशित : असार २, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?