१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सडकको हिलो घरमा

भक्तपुर — भक्तपुर–नगरकोट–सिपाघाट सडकअन्तर्गत नयाँगाउँ, गडगडे, बाँस्तोला गाउँ, फेदी, खरिपाटीलगायत क्षेत्रमा सडक छेउछाउका घर हिलाम्य बनेका छन् ।

सडकको हिलो घरमा

ठेकेदारले समयमै सडकको नाली र कल्भर्ट निर्माण नगरिदिँदा बिहीबार दिउँसोको वर्षासँगै करिब ३ दर्जनभन्दा बढी घर हिलाम्य बनेको स्थानीय उद्धव बाँस्तोलाले बताए । ‘लेदो माटो सडकमुनिका घरमा छिरेर हिलाम्य भएको छ,’ उनले भने, ‘घाम लाग्दा धूलो खायौं, अहिले घरका कोठाभरि हिलो थुप्रिएको छ ।’

‘एक्जिम बैंक इन्डिया’ को ऋण सहयोगमा शैलुङ कन्स्ट्रक्सन प्रालि र आरामाली इन्फ्रा पावर लिमिटेड जेभीले २०७३ कात्तिक ४ मा काम सक्ने गरी २०७१ जेठ २२ मा सडक विस्तार सम्झौता गरेका थिए । हालसम्म ६ पटक म्याद थपिए पनि करिब ७५ प्रतिशत मात्रै काम सकिएको छ । गत फागुनमा अन्तिमपटक भन्दै आगामी असार मसान्तसम्म काम सक्न भनिएको छ ।

भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिका अनुसार १६ किमिमध्ये १० किमि सडक मात्रै कालोपत्र भएको छ । काममा ढिला गरिँदा लागत झन्डै ६ करोड रुपैयाँ बढेको छ । ठेकेदारकै लापरबाहीका कारण बनेको सडकसमेत जीर्ण बनेको छ ।

स्थानीयले विस्तारको नाममा सडक निर्माण अलपत्र पार्ने कम्पनीको ठेक्का रद्द गर्न पटक–पटक माग गर्दै आएका छन् । गत वर्ष उनीहरूले शैलुङका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो सडक आसपास टाँसेर विरोधसमेत गरेका थिए । गत साउनमै प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले अनुगमन गरी तत्काल काम गर्न निर्देशनसमेत दिएको थियो ।

गत पुसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उक्त क्षेत्रको अनुगमन गरी सडक विस्तारको काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका दिए । तर निर्माण कम्पनीले विभिन्न बहानाबाजी गर्दै सडकको काममा आलटाल गर्दै आएको छ ।

स्थानीय र पर्यटन व्यवसायीहरूले भने सम्बन्धित सबै निकायलाई गुहार्दा पनि राजनीतिक संरक्षणमा ठेकेदारलाई कारबाही हुन नसकेको दाबी गर्छन् । ‘सडककै कारण वर्षौंदेखि पर्यटन व्यवसाय धरासायी बन्दै आएको छ, दुर्घटनाको जोखिम मोल्दै यात्रा गर्न बाध्य छौं,’ नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले भने, ‘राजनीतिक संरक्षणमा ठेकेदारले नगरकोट सडकलाई थप जीर्ण बनाए ।’

प्रकाशित : जेष्ठ २९, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?