२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार

रासस

काठमाडौँ — वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि गत बुधबार साँझबाट ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार

उनलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए । उनले भने, 'आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो । कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो ।”

उनका भतिज तथा उद्योग वाणिज्य सङ्घ, ललितपुरका पूर्वाध्यक्ष अजरमान जोशीले आज उनको स्वास्थ्यमा निकै सुधार भएको र आउँदो आइतबार घर फर्काइने सम्भावना रहेको बताए । गत वैशाख ३० देखि जोशी एक सय एक वर्ष पुरा गरी एक सय दुई वर्षमा प्रवेश गरेका छन् ।

मुलुकमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना महामारीबीच जोशी निवास बखुम्बहाल पुगेर उनको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुस्वास्थ्य एवं दिर्घायुको कामना गरेका थिए । मदन पुरस्कारप्राप्त जोशीको मुहारअङ्कित रु १० को हुलाक टिकट पनि प्रकाशन भइसकेको छ । जोशीको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट उनको तस्बिर अङ्कित चाँदीको विभिन्न सिक्कासमेत निस्कासन भइसकेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?