२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

रहेनन् लोकसंस्कृतिविद् मोतीलाल पराजुली

काठमाडौँ — लोकसंस्कृतिविद् प्राध्यापक मोतीलाल पराजुलीको ६५ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरका बिरामी पराजुली पछिल्लो पटक कोरोनाबाट पीडित भई सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको हो । उनका धर्मपत्नीसमेत १५ दिनअघि कोरोनाका कारण निधन भएको थियो ।

२०१३ साल माघमा कास्कीको चापाकोटमा जन्मिएका पराजुली त्रिभुवन विश्वविद्यालयमा चार दशक प्राध्यापन गरेका थिए । पराजुलीका ‘नेपाली लोकगाथा’, ‘नेपाली रचना कला’, ‘धर्मात्मा राजा’, ‘विशेष लेखन’, ‘नेपाली लोकनाटक : सिद्धान्त र विवेचना’, ‘सोरठी नृत्य नाटिकाः सैद्धान्तिक अध्ययन’, नेपालीमा प्रचलित नृत्य र नाटिकाहरू’, चार भागमा ‘नेपाली लोककथा संग्रह’ (चार भाग), ‘नेपाल लोकसाहित्यको रुपरेखा’ (सहलेखन), नेपाली लोककथा सिद्धान्त र विश्लेषण’, ‘नेपाली प्रदर्शनकारी कला भाग–४’ लगायत कृति प्रकाशित छन् । ‘नेपाली लोककथामा अभिप्राय’ शीर्षकमा विद्यावारिधि गरेका पराजुलीले ‘बालन लोकनाट्य’, ‘सवाई लोककाव्य’, ‘लोक साहित्यका अध्ययन पद्धति’, ‘रामकथा’, ‘सोरठी पावरा र सोरठी लोकनाटकको तुलना’, ‘कास्की जिल्लाका गाथा’, ‘गण्डकी अञ्चलका लोकनाच’, ‘आँधीखोले भजन चुड्का’ विषयमा अनुसन्धान गरेका थिए ।

पराजुली नेपाल लोकवार्ता संस्कृति समाजका सदस्य र लोकवार्ता परिषद् नेपालका सल्लाहकार थिए । आफ्ना गुरु पराजुलीबारे लोकसंस्कृतिका अनुसन्धाता सहप्राध्यापक डा. ध्रुवप्रसाद भट्टराई उल्लेख गर्दै लोकसाहित्य तथा पूर्वीय वाङ्मयका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । पराजुलीका एक छोरा र एक छोरी छन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?