केमिकल नहुँदा रोकियो रगत परीक्षण

बिरामीका आफन्त चर्को मूल्य तिरेर निजीमा धाउन बाध्य
प्रशान्त माली

काठमाडौँ — पाटन अस्पतालमा केमिकल नहुँदा ‘एबीजी’ रगत जाँच दुई सातायता बन्द छ । बिरामीका आफन्तहरू चर्को मूल्य तिरेर निजीमा धाउन बाध्य छन् । एबीजी जाँच विशेष गरी आईसीयूमा उपचार गर्नुपर्ने बिरामीको गरिन्छ । बिरामीको रगतको नमुना लिएर त्यसमा अक्सिजन, कार्बनडाइअक्साइड, सोडियम, पोटासियमलगायतको मात्रा जाँच गरिन्छ ।

केमिकल नहुँदा रोकियो रगत परीक्षण

ललितपुरकी रत्नदेवी महर्जन एक्कासि पेट दुखेपछि पाटन अस्पताल भर्ना भइन् । उनको अवस्था असामान्य बन्दै गएपछि आईसीयूमा सारियो । चिकित्सकले तत्काल सीबीसी, आरएफटी, एलएफटी र एबीजी जाँच गर्न भने । आफन्तले सबै जाँच गराउन २ हजार ५ सय २८ रुपैयाँ तिरे । तर, अस्पतालको ल्याबमा जाँदा एबीजी अन्त गराउन भनियो । पुल्चोकको अल्कामा पुगेर जाँच गराउँदा १ हजार ८ सय ५० रुपैयाँ तिर्नुपर्‍यो । पाटनमा भए त्यसको १ हजार १ सय रुपैयाँ तिरे पुग्थ्यो ।

दोलखाबाट आएर आईसीयूमा उपचार गराइरहेका सुवास केसीका आफन्तले पनि सुमेरु अस्पतालमा एबीजी जाँच गराए । ‘केमिकल अभाव त निजीमा पनि हुनुपर्ने हो’ सुवासका दाइ सुनीलले दुःख व्यक्त गरे । उनीहरू जस्तै एबीजी रगत जाँच गर्न केमिकल नहुँदा निजीमा धाउने थुप्रै छन् । अस्पताल प्रशासनले भने निषेधाज्ञाका कारणले केमिकल बजारमा अभाव भएको दाबी गरेको छ । ‘एबीजी चेक गर्न केमिकल बेलायत, अमेरिकालगायत मुलुकबाट झिकाउनुपर्छ । अन्तर्राष्ट्रिय उडान बन्द भएका कारणले ल्याउन नसकेको हो,’ पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले भने ।

अस्पतालमा खोकीको औषधिको उत्पादन पनि सातायता ठप्प छ । अस्पतालबाट उत्पादन गरिने यो औषधि प्राइभेट फार्मेसीको भन्दा आधा सस्तो छ । भरपर्दो मानेर अस्पतालमै पुगेर खरिद गर्ने बिरामी धमाधम फर्किरहेका छन् । नुवाकोटका रामकुमार ढुंगानाको पिसाब थैलीको क्यान्सरका कारण अप्रेसन भयो । चार वर्षयता उनी कृत्रिम पिसाब थैलीलगायत औषधि अस्पतालबाट लिँदै आएका छन् । रामकुमारका छोरा नवराजले पिसाब थैली सात पिस मागेकामा दुई वटा मात्र पाए । ‘पेटमा झुन्ड्याउने यो ब्याग अस्पतालबाहिर फार्मेसीमा पाइँदैन । कुनै डेढ/दुई महिना पनि टिक्दैनन् । अभाव भएको भन्दै मागेजति दिएनन्,’ उनले भने ।

शान्त भवनका रूपमा परिचित पाटन अस्पताल स्थापनाको ६९ वर्ष बित्यो । युनाइटेड मिसनले सरकारलाई हस्तान्तरण गरेकै १५ वर्ष बित्यो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा चलेको १३ वर्ष बित्यो । मुलुकको केन्द्रीय अस्पताल भए पनि अझै यहाँ जनरलबाहेक विशिष्ट उपचारको सुविधा छैन । सस्तो र सुलभ भएकाले मुलुकभरबाट सर्वसाधारण उपचार गर्न पाटन आइपुग्नेको घुइँचो लाग्ने गर्छ । तर, यहाँ नसा, न्युरो, रक्तनली, क्यान्सरजस्ता रोगसम्बन्धी विशषेज्ञ छैनन् । प्लास्टिक र बर्न सर्जरी हुँदैन । यी रोग लागेका बिरामी महँगो शुल्क तिरेर निजीमा उपचार गराउन बाध्य छन् ।

सबै स्रोतसाधनले सम्पन्न मानिएको अस्पतालमा मुटु रोग विशेष सेवा छैन । आँखासम्बन्धी हेर्ने विभाग छ तर अप्रेसनको व्यवस्था छैन । ६० बेडको अप्रेसन वार्ड पनि अपुग छ । यहाँ नाक, कान, घाँटी र पेटको उपचार भने राम्रो मानिन्छ । ‘नसाको उपचारका लागि युनिट खडा गरी १० देखि १५ करोड लगानीमा अप्रेसन थिएटर खोल्न सकिन्छ । यसका लागि ठाउँ पनि पुग्छ । लगानी उठ्न एक वर्ष पनि लाग्दैन । बिरामीलाई फर्काउनुपर्दा अस्पताललाई उल्टो घाटा भइरहेको छ,’ एक चिकित्सकले भने, ‘अन्य रोगका विभागहरू पनि ८ देखि १० करोड लगानीमा सुरु गर्न सकिन्छ । तर, यसप्रति कसैको ध्यान जान सकेको छैन ।’

प्रकाशित : जेष्ठ २६, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?