२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

महामारीमा स्वरोजगार

‘कोरोनाको लहर–लहर आए पनि कृषिलाई उतिसारो असर नपार्दो रहेछ, बेरोजगार भएर बस्नुपर्ला भन्ने डर छैन’ 
विद्या राई

काठमाडौँ — चाबहिल चोकस्थित एउटा फ्ल्याटमा जापानिज भाषाको कन्सल्टेन्सी छ । भाषा सिक्ने र जापान जाने रहर बोकेका युवायुवतीले सधैंजसो खचाखच भरिएका हुन्थ्यो । व्यवस्थापक दर्शन लिम्बू कार्यालयको सम्पूर्ण व्यवस्थापनमा दिनरात खटिन्थे ।

महामारीमा स्वरोजगार

छिमेकी देश चीनमा कोरोना महामारी फैलिसकेको थियो । यसको प्रभाव कन्सल्टेन्सीमा सेवाग्राही दिनानुदिन घट्दै थिए । नेपालमा संक्रमण देखिन थालेपछि सरकारले चैत्र ११ देखि देशव्यापी लकडाउन घोषणा गर्‍यो । लिम्बू कार्यरत कन्सल्टेन्सी पनि बन्द भयो । कोरोनाले रोजगारी मात्रै खोसिएन, गुजारा चलाउनै हम्मे पर्न थाल्यो । सबै व्यवसाय ठप्प भएका बेला खेतीपाती, कृषि व्यवसाय नियमित चलिरहेको देखे । ‘केही गरौं’ भन्ने ऊर्जा र जोस भएका २५ वर्षीय दर्शनले बुढानीलकण्ठको चुनिखेलमा जग्गा भाडामा लिएर कुखुरा र माछापालन विस्तार गरे ।

६ रोपनी जग्गा भाडामा लिएका छन् । प्रतिरोपनी वार्षिक भाडा ४० हजार छ । उनले लकडाउन हुनु केही समयअघि मात्रै खोलेको ‘दर्शन मल्टी एग्रो फार्म’लाई व्यावसायिक बनाउन महामारी अवसर बनिदियो । फार्ममा लोकल, ब्रोइलर, कालो कुखुरा, हाँस, बट्टाई, टर्की र माछापालन गरेका छन् । पाँच लाखबाट सुरुवात गरेको फार्म एक वर्षमा २० लाख बराबरको भइसक्यो । एक हजार कुखुरा र एक हजार माछा कहिल्यै टुट्दैनन् ।

निषेधाज्ञाले गर्दा अधिकांश मानिस घरैमा उकुसमुकुस भएर बसेका छन् । उनलाई एकैछिन फुर्सद छैन । बिहान उठेर कुखुरा र माछालाई दानापानी खुवाउँछन् । दिउँसो खाना खाएर एकछिन आराम गर्छन् । आफूलाई खानका लागि करेसाबारीमा रोपेका तरकारी बाली स्याहार्छन् । कुखुरा र माछालाई फेरि दानापानी खुवाउँछन् । दिन बितेको पत्तै पाउँदैनन् । यतिबेला उनलाई लाग्छ, दिनभरको थकानले लखतरान परेको ज्यानलाई राति निन्द्राले साथ दिँदाजति सन्तुष्टि अरू केही छैन ।

दोस्रो लहरको कोरोना महामारी फैलिनुअघि एयरपोर्टनेर आफ्नै मासुपसल ‘दर्शन मिटमार्ट’ खोलेका थिए । वैशाख १६ देखि जारी निषेधाज्ञाले मासुपसल खोल्न नपाए पनि व्यवसाय रोकिएको छैन । होम डेलिभरी गरेर फार्म चलिरहेको छ । ‘बन्दाबन्दी नभइदिएको भए राम्रै फाइदा भइसक्थ्यो, तैपनि घाटा छैन,’ उनले भने, ‘स्वरोजगार हुन सकिएको छ, गर्दा नहुने भन्ने केही रहेनछ, बन्दाबन्दी भनेर थन्को लाग्नुपरेको छैन ।’

उनले अरू तीन युवालाई पनि रोजगारी दिलाएका छन् । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३, लिवाङका उनी पढाइ र रोजगारी खोज्दै आठ वर्षअघि काठमाडौं छिरेका थिए । कन्सल्टेन्सीमा काम गर्दागर्दै युरोप जाने सोच पनि बनाएका थिए । महामारीले स्वदेशमै कृषि व्यवसायमा लगानी र उत्पादनलाई वृद्धि गर्ने सोच बदलिदियो । ‘गाउँमा पनि खेतीपातीमै निर्भर छौं, त्यो सीप अहिले व्यावसायिक बनाउन पाउँदा देशभित्रै सम्भावना र आशा पलाएको छ,’ मंगलबार बिहान फार्ममा कुखुरालाई दाना खुवाउँदै भेटिएका उनले खुसी साटे ।

उनको लोभलाग्दो व्यवसाय साथीभाइका लागि उदाहरणीय बनेको छ । गाउँमा छिमेकी दुई युवाहरू साथीहरू गणेश लिम्बू र दावा शेर्पाले दर्शनको कामबाट प्रेरित भएर कुखुरा पालन र तरकारी खेती थालेका छन् । ‘लकडाउनले हामी नि बेरोजगार भएर बसेका थियौं, साथीको फार्ममा घुम्नडुल्न आउँदाआउँदै रल्लिएर हिँड्नुभन्दा भनेर यतै लागौं भनेर थाल्यौं,’ दुवैले एकैस्वरमा भने । उनीहरूले गत सालको लकडाउन सुरु भएको केही महिनापछि फार्म सुरु गरेका हुन् । विदेश जान भनेर काठमाडौं छिरेका दावा पेन्टिङको काम गर्थे ।

अहिले तीन रोपनी जग्गामा कुखुरा फार्म छ । दावा होटल व्यवसाय गर्थे । लकडाउनले होटल सुकेपछि पाँच रोपनी जग्गामा कुखुरा पालन र टमाटर खेती हालेका छन् । ‘यता नलागेको भए कि गाउँ फर्केर बेरोजगारी भएर बस्नुपर्‍थ्यो कि त काठमाडौंमा भोकै होइने रहेछ,’ दावाले भने, ‘कोरोनाको लहर–लहर आए पनि कृषिलाई उतिसारो असर नपार्दो रहेछ, बेरोजगार भएर बस्नुपर्ला भन्ने डर छैन ।’

प्रकाशित : जेष्ठ २६, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?