१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बालाजु र इमाडोलको स्यानीटाइजर कम्पनीमा प्रहरीको छापा

काठमाडौँ — महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको इमाडोलमा र प्रहरी परिसर काठमाडौंले बालाजु औधोगिक क्षेत्रभित्र रहेको स्यानीटाइजर उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ ।

बालाजु र इमाडोलको स्यानीटाइजर कम्पनीमा प्रहरीको छापा

ब्राण्डको नाम पनि नराखी ठूलो परिणाममा स्यानीटाइजर बजार पठाएको भेटिएपछि महाशाखाले उक्त कम्पनीको स्यानीटाइजरको गुणस्तर बुझ्न औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गराएको थियो ।

परीक्षणमा उक्त स्यानीटाइजरमा २५ प्रतिशत मेथानोल प्रयोग भेटियो । जबकी मेथानोल मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने रसायन हो । महामशाखाका एसएसपी चन्द्र कुँवेर खापुडका अनुसार प्रहरीले करिब ८ ट्रकभन्दा धेरै स्यानीटाइजर बरामद गरिसकेको छ । उनले भने, 'कति परिणाममा छ भन्नेबारे हामीले गणना गरिरहेका छौं ।'

महाशाखा र प्रहरी परिसर काठमाडौंले उपत्यकाका विभिन्न स्थानमा यसैगरी नक्कली स्यानीटाइजर बनाएको भन्ने सूचनाको आधारमा अनुसन्धान जारी राखेको छ ।

एसएसपी खापुडका अनुसार बराद नक्कली स्यानीटाइजर काठमाडौं लगायत देशैभरि वितरण भएको देखिन्छ । महाशाखाका एसपी कृष्ण पंगेनीले नक्कली स्यानीटाइजर बनाउने कम्पनीका मालिक आशीष प्याकुरेल पनि पक्राउ परेको बताए ।

प्रकाशित : जेष्ठ ९, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?