२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

थानकोट वडा कार्यालय अक्सिजनसहितको आइसोलेन सेन्टरमा परिणत

सुरज कुँवर

काठमाडौँ — काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा रहेको चन्द्रागिरि नगरपालिका ३ नम्बर वडा कार्यालय (थानकोट) लाई शुक्रबार अक्सिजनसहित २५ वेडको आइसोलेसन सेन्टर बनाइएको छ ।

थानकोट वडा कार्यालय अक्सिजनसहितको आइसोलेन सेन्टरमा परिणत

साबिकको थानकोट गाविस पर्ने वडा नम्बर ३ को नवनिर्मित भवनलाई पश्चिमी भेगको अन्तिम विन्दुमा आइसोलेसन केन्द्रमा परिणत गरिएको हो । वडा अध्यक्ष दुर्गालाल महर्जनका अनुसार, शुक्रबार १० वटा बेडबाट आइसोलेसन सेन्टर सञ्‍चालन गरिएको छ । ‘हाम्रो वडा कार्यालय सार्ने तरखरमा थियौं, संक्रमण उच्च भएकाले वडा समितिले आइसोलेसन सेन्टरमा परिणत गर्ने निर्णय गर्‍यौं,’ वडाध्यक्ष महर्जनले कान्तिपुरसँग भने । साढे २ तले आइसोलेन भवन १ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

महर्जनका अनुसार, चन्द्रागिरिका मेयर घनश्याम गिरिले आइसोलेसन सेन्टरका लागि अक्सिजन उपलब्ध गराइदिएका छन् । वडाले स्थानीयको सहयोगमा चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी जुटाएको छ । ‘३ जना चिकित्सक पाएका छौं, ६ जना नर्स लिइसक्यौ,’ वडाध्यक्ष महर्जनले भने, ‘हामीलाई काठमाडौंको ओम अस्पतालले पनि सघाउने भएको छ ।’

संक्रमण रोकथाम गर्न शनिबारदेखि लागू हुने गरी ७ दिन ( जेठ ७ बिहान ५ बजे) सम्म चन्द्रगिरि नगरपालिका सिल गरिएको छ । नगरपालिकाले यो अवधिमा गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिसँग सहकार्य गर्दै यी ७ दिन २४ सै घन्टा ५ वटा साना गाडी र एउटा बाइक र एउटा एम्बुलेन्स अत्यावश्यक पर्ने स्थानियका लागि संचालन गर्ने निर्णय गरेको छ । गर्भवती, बिरामी, दीर्घरोगी लगायतले ती सवारी साधन प्रयोग गर्नुपर्ने भएमा नगरपालिकाले आफ्नो फेसबुक पेजमा चालक र गाडीको नम्बरसहित राखेको छ । यस नगरपालिकामा बिहीबारसम्म ३ हजार १ सय ४४ जना संक्रमित देखिएका छन् । यस नगरपालिकामा निको हुने दर ७४ प्रतिशत रहेको छ । हालसम्म ३४ जनाको मृत्यु भइसकेको छ ।

२ करोड १५ लाख रुपैयाँमा मात्रै नयाँ भवन निर्माण गरेको थियो । कोभिड संक्रमण नभइदिएको भए पुरानो कार्यालयबाट यहाँ सार्ने तयारी थियो ।

प्रकाशित : वैशाख ३१, २०७८ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?