नक्कली अक्सिमिटर बेच्ने ७ पक्राउ

काठमाडौँ — महानगरीय अपराध महाशाखाले पाएको सूचना थियो, काठमाडौंमा कम्पनीको नाम र उत्पादनसम्बन्धी विवरण पनि नखुलेको नक्कली अक्सिमिटर चर्को मूल्यमा बिक्री भइरहेको छ ।

नक्कली अक्सिमिटर बेच्ने ७ पक्राउ

उक्त सूचनालाई पछ्याउँदै महाशाखाको टोली मंगलबार बल्खुस्थित शिखर श्रेष्ठले सञ्चालन गरेको बायोप्लस फार्मेसीमा पुग्यो ।

सूचनामा भनिएजस्तै फार्मेसीमा ५५ थान अक्सिमिटर भेटियो । सोधपुछकै क्रममा थुमराज उपाध्याय झोलामा थप ३० थान अक्सिमिटर बेच्न फार्मेसीमै आइपुगे । थुमराज पक्राउ गरेपछि प्रहरी यसको गिरोहसम्म सहजै पुग्यो ।

त्यसपछि थापाथलीस्थित नानोटेक फार्मेसीका सञ्चालक शेषकान्त अधिकारी, रातोपुलको चिरायु केडी ग्रुपका पुष्कर घिमिरे पक्राउ परे । घिमिरेले महाराजगन्जको अहा इन्डस्ट्रिज कम्पनी प्रालिबाट अक्सिमिटर किनेको र १६० थान बुटवल पठाएको बताए ।

अहाका सञ्चालक विशाल आचार्यलाई पक्राउ गरेपछि उनले न्युरोडको डी एन्ड डी इन्टरप्राइजेजमार्फत चीनबाट मास्कको तुना ल्याउँदा लुकाएर अक्सिमिटर नेपाल ल्याएको र त्रिपुरेश्वरमा

रहेको पशुपति मार्केटिङलाई बेचेको बयान दिए । प्रहरीले त्यसका सञ्चालक भारत राजस्थान घर भएका जगदीशप्रसाद रानासरियालाई पनि पक्राउ गर्‍यो । उनको गोदामबाट मात्रै ३ सय ९६ थान अक्सिमिटर बरामद भयो ।

यो कारोबारमा संलग्न सन्तोष भण्डारी पक्राउ परेका छन् भने सुरज थापा फरार छन् । महाशाखाले काठमाडौंबाट ७ सय ६५ थान र बुटवल पुर्‍याइएको एक सय ८० थान अक्सिमिटर बरामद गरेको छ ।

महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार ४/५ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई २२ देखि २५ सय रुपैयाँसम्म बिक्री गरेको पाइएको छ ।

अक्सिमिटरको उत्पादन मिति, कम्पनी र ब्रान्डको विवरण नभएको र भन्सार छलेर ल्याई बिक्री गरेको देखिएकाले कालोबजारी ऐनअन्तर्गत ५ दिन थुनामा राखेर अनुसन्धान गर्ने म्याद लिएको छ ।

प्रकाशित : वैशाख २९, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?