५ दिनदेखि बेडको पर्खाइमा

मेडिकल अक्सिजन अभाव रहेको भन्दै अस्पतालहरुले बेड खाली भए पनि नयाँ संक्रमितको भर्ना लिनै छाडे
प्रशान्त माली

काठमाडौँ — ललितपुरको पाटन र किस्ट मेडिकल कलेजमा कोरोना संक्रमितका लागि छुट्याइएका केही बेड खाली छन् । पाटनमा ६५० बेड संख्यामध्ये संक्रमितका लागि २६० बेड छुट्याइएको छ । तर पूरै भरिएको छैन । ५५० बेड क्षमताको किस्टमा पनि संक्रमितलाई छुट्याइएको सबै २ सय बेड भरिभराउ छैनन् ।

५ दिनदेखि बेडको पर्खाइमा

यी अस्पतालमा आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने गम्भीर बिरामी त परै जाओस्, सामान्य भर्ना लिनसमेत बन्द गरिएको साता दिन बितिसक्यो । तर दुवै अस्पताल प्रशासनले भने अक्सिजन सिलिन्डर अभावका कारण नयाँ बिरामी भर्ना नलिएको बताउँछन् ।

टीकाथलीकी ६१ वर्षीया रामदेवी महर्जनले पाटन अस्पतालमा बेड पाउन कोही बिरामी डिस्चार्ज भएर जाने प्रतीक्षामा बसेको ५ दिन बित्यो । कारण हो अक्सिजन र बेड अभाव । उनलाई त्यहाँबाट अन्यत्र जान पटक–पटक भनिसकिएको छ तर विकल्प कतै छैन । अहिले उनलाई बेलाबेलामा आउने चिकित्सक र नर्सले स्वास्थ्य अवस्था बुझ्ने र अक्सिजन भने दिइरहेका छन् । रामदेवीलाई सुरुमा टेकु अस्पताल लगिएको थियो । त्यहाँ भर्ना नलिएपछि वीर अस्पताल पुर्‍याइयो । त्यहाँबाट पनि फिर्ता पठाइएपछि केही निजी अस्पतालको चक्कर काटे । अन्ततः सबै अस्पतालबाट फर्काइएपछि बाध्य भएर पाटनमा ल्याएको छोरी शोभाले सुनाइन् । ‘हामीले ओत लाग्ने ठाउँ मात्र भए पनि दिन आग्रह गरेपछि इमर्जेन्सीमा सारिएको हो,’ उनले भनिन् ।

पाटनको इमर्जेन्सी वार्डमा २० बेड छन् । मेसिनबाट अक्सिजन दिने व्यवस्था भने ४ बेडमा मात्रै छ । पेप्सीकोलाका ४३ वर्षीय राम थापाको पाटनमा पीसिआर जाँच गराउँदा कोरोना पोजिटिभ देखियो । चिकित्सकले उनलाई अक्सिजन लेबल निकै कम भएको जानकारी गराए तर भर्ना हुन खोज्दा लिएनन् । इमर्जेन्सीमा पनि राख्न मानेनन् । उनकी श्रीमतीले अक्सिजनको जोहो गर्न धेरै प्रयास गरिन् तर व्यवस्था भएन ।

अस्पतालअगाडि ‘यहाँ मेडिकल अक्सिजन ग्यास पाइन्छ’ भनेर फोन नम्बरसहित लेखिएको बोर्ड छ । फोन गर्दा सिलिन्डर सकिएको बताइयो । आफूहरू ढुवानीकर्ता मात्र रहेको र पाटन औद्योगिक क्षेत्रका उद्योगमा पाउन सकिने सम्भावना रहेको जनाइएपछि थापाकी श्रीमती त्यहाँ पुगिन् । उनका अनुसार इमर्जेन्सीका अरू पनि कुरुवा अक्सिजन पाउने आसमा सगरमाथा अक्सिजन उद्योग पुगे । त्यहाँ सिलिन्डरमा ग्यास भर्न आउनेको अत्यधिक भीड थियो । सशस्त्र र जनपथ प्रहरीको निगरानीमा सिलिन्डर वितरण भइरहेको थियो ।

बल्लतल्ल सगरमाथाका व्यवस्थापक रिकेश महर्जनलाई भेटे पनि उनले हात उठाए । अहिले उत्पादनभन्दा तेब्बर माग बढेको र अक्सिजन सिलिन्डर अभावका कारण नयाँ बिरामीलाई उपलब्ध गराउन नसकिने उनको भनाइ थियो । उनका अनुसार उद्योगमा १०, २० र ४७ लिटर क्षमताका सिलिन्डर छन् ।

अहिले सबैभन्दा बढी ४७ लिटर जाने सिलिन्डरको माग बढी छ । यो सिलिन्डर पहिला दैनिक ७ सयदेखि साढे ७ सय थानसम्म मात्र उत्पादन हुन्थ्यो । अहिले माग बढेर १४ सयदेखि १५ सयसम्म आवश्यक परेको महर्जनले सुनाए । ‘उद्योग २४ सै घण्टा सञ्चालन गरेर पनि माग पूर्ति गर्न सक्ने सम्भावना छैन । सरकारले सिलिन्डरको वैकल्पिक व्यवस्था नगरीकन समस्या समाधान हुँदैन,’ उनले भने ।

ललितपुर घुसेलका १९ वर्षीय राम तामाङलाई उच्च ज्वरो आएपछि आफन्तले कोरोना संक्रमणको शंका लागेर पाटन अस्पताल पुर्‍याए । उनी पनि अस्पताल प्रांगणमै छटपटिरहेका थिए । सबैले चिकित्सक र नर्सलाई अनुरोध गरेपछि इमर्जेन्सीभित्र त लगियो तर तत्काल अक्सिजन दिनुपर्ने उनलाई उक्त व्यवस्था हुन सकेन । अक्सिजन नभएकाले इमर्जेन्सीमा मात्र राखेर के गर्ने भन्दै त्यहाँ कार्यरत नर्सले भनिन्, ‘उनी मात्र होइन, यस्ता छटपटिरहेका बिरामी अस्पतालमा थुप्रै छन् ।’

किस्टमा ५७ संक्रमित उपचाररत छन् । तीमध्ये १३ जना भेन्टिलेटरमा छन् । यहाँ पहिला २४ घण्टाका लागि ८० वटा सिलिन्डरले २ सय बिरामीलाई पुग्थ्यो । अहिले ५० संक्रमितका लागि २५० सिलिन्डर पनि अपुग भएको छ । अस्पताल प्रशासनले अक्सिजनको व्यवस्थापन गरिदिन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), स्वास्थ्य मन्त्रालयलगायत निकायलाई पटक–पटक ध्यानाकर्षण गराइसकेको छ । तर कतैबाट कुनै प्रतिक्रिया नआएको किस्टका चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताए । ‘डीसीसीएमसीलाई पनि जानकारी गराइसकेका छौं । तर कुनै निकायबाट न अनुगमन छ न त निरीक्षण नै,’ उनले भने, ‘भोलि अक्सिजन आपूर्ति गर्न नसकेर कोही बिरामी तलमाथि परेमा कसले जिम्मेवारी लिन्छ ?’

साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने क्रममा अक्सिजन अभाव हुन नदिन ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट स्थापना गरिने, सञ्चालनमा नआएका प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने बताएका थिए । तर किस्ट, पाटनलगायत अस्पतालको हकमा कुनै सुरसार छैन । पाठकले बिग्रेका प्लान्ट तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गरे । ‘अक्सिजन वितरण पनि बराबर गर्ने व्यवस्था मिलाउनुपर्‍यो,’ उनले भने ।

पाटन अस्पतालका कोभिड फोकल पर्सन डा. आशिष श्रेष्ठले अक्सिजनको व्यवस्थापन नभईकन भर्ना लिएर मात्र काम नभएको बताए । ‘अहिले अक्सिजन आवश्यक नपरेको भन्दै भर्ना लिऊँला । पछि आवश्यक परेर दिन नसकेर केही भएमा अस्पताल जिम्मेवार हुनुपर्छ,’ उनले भने । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अधिकांश अक्सिजन प्लान्टले २४ सै घण्टा उत्पादन गरिरहेको बताए । ‘केही बिग्रेका प्लान्ट मर्मत आवश्यक छ,’ उनले भने, ‘धेरै अस्पतालले अक्सिजन उत्पादन गरिरहेका छन् ।’

प्रकाशित : वैशाख २८, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?