कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीमा फेरिएको भक्तपुर अस्पताल

सेवा, जनशक्ति, पूर्वाधार विस्तार तथा चुस्त व्यवस्थापनले महामारीकै बीच बन्यो प्रदेशकै उत्कुष्ट अस्पताल
लिला श्रेष्ठ

भक्तपुर — कोरोना संक्रमितको उपचारमा खटिँदा–खटिँदै भक्तपुर अस्पतालका ५ चिकित्सक र ४ जना स्टाफ नर्स संक्रमित भइसकेका छन् । तर उनीहरूले आफूजस्तै संक्रमितको उपचारलाई रोकेका छैनन् । यसमध्येमै पर्छिन् अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. सुमित्रा गौतम पनि ।

महामारीमा फेरिएको भक्तपुर अस्पताल

स्वास्थ्य प्रतिकूलताकै बीच उनी आइसोलेसन व्यवस्थापन र अक्सिजन जुटाउन प्रयासरत छिन् । ‘हामीसँग २५ वटा अक्सिजन सिलिन्डर थियो, १३० वटा पुर्‍याइसक्यौं,’ उनले भनिन्, ‘अझै सय वटा थप्न सके अर्को कोभिड वार्ड चलाउन सक्थ्यौं ।’

आइतबारसम्म भक्तपुर अस्पतालमा ८० संक्रमित उपचाररत छन् । जसमध्ये ५ भेन्टिलेटर र ६ जना आईसीयूमा छन् । कोरोना महामारी फैलिँदै जाँदा अस्पतालले २५ एचडीयू बेडसहित ६८ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको थियो । तर अहिले यो वार्ड संक्रमितले भरिभराउ छन् । संक्रमितको चाप बढ्न थालेपछि इमर्जेन्सी र वेटिङ वार्ड पनि सञ्चालन गरिएको छ । लक्षणसहितका बिरामीलाई पीसीआर गराएर रिपोर्ट नआउँदासम्म वेटिङ वार्डमा राखिने गरिएको छ ।

मुलुककै दोस्रो जेठो भएपनि भक्तपुर अस्पतालले कोरोना महामारीकै बीच मुहार फेरेको छ । संक्रमणको पहिलो लहरमा चुस्त व्यवस्थापन गरेको भन्दै प्रदेशभरमा उत्कृष्ट अस्पताल बनेको थियो । हाल क्षमता विस्तार गर्दै २ सय बेड पुर्‍याउने तयारीसमेत छ । ‘आगामी असार मसान्तसम्ममा ७५ बेडको अस्पताललाई २ सय बेडमा विस्तार गर्दै छौं,’ डा. गौतमले भनिन् । ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ नामबाट विसं १९६१ मा स्थापित यो अस्पताल सुरुमा १५ बेडको थियो । शताब्दीपछि (२०६०) ७५ बेडको बनाइयो । अहिले यसको दोब्बरभन्दा बढी बेड थप्न लागिएको हो ।

स्थापनाको ११६ वर्षपछि अस्पतालमा ६ भेन्टिलेटरसहित आईसीयू सेवा दिन थालियो । यो पनि महामारीकै बीचमा सम्भव भएको हो । संघीयता कार्यान्वयनयता वाग्मती प्रदेशमातहत रहेको अस्पतालमा हाल बेडको एचडीयू, बालबालिकाका लागि ६ बेडको एनआईसीयू, सिस्टेस्कोपी, हिस्टेस्कोपी, अर्थोस्कोपी, इन्डोस्कोपीलगायत सेवासमेत थप्ने तयारी छ । नाक, कान तथा घाँटी रोग, मुटु रोगको उपचार हुने ओपीडी सेवा सञ्चालन र मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई परिमार्जन गरी सञ्चालनमा ल्याउने पनि डा. गौतमको भनाइ छ ।

केही समयअघिसम्म भक्तपुर अस्पताल रेफरल अस्पतालको रूपमा चिनिथ्यो । तर पछिल्लो एक वर्षमा अस्पतालमा एक हजार ६ सय ६२ वटा शल्यक्रिया भएको डा. गौतम बताउँछिन् । ‘पहिलाजस्तै अलिकति क्रिटिकल भयो कि रेफर गर्ने सिस्टम पूर्णरूपमा बन्द भइसक्यो, हामीसँग भएको इक्विपमेन्टले भ्याएसम्म सबै शल्यक्रिया यहीं गरिरहेका छौं,’ उनले भनिन्, ‘अहिले त रेफर शून्यजस्तै छ ।’

अस्पतालको सेवाले गति लिए पनि दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी भने अझै पाउन नसकेको उनको गुनासो छ । अस्पतालमा १०२ कर्मचारीको दरबन्दी छ । जसमध्ये मेसुसहित ६० जना मात्रै दरबन्दीका हुन् । ‘त्यसमध्ये पनि ४ प्रशासन र २२ जना कार्यालय सहायक छन्, मेडिकल अफिसर ३४ जना मात्र हुन्,’ उनले भनिन् । बाँकी सबै अस्पताल विकास समिति, नेपाल सरकारको करार र छात्रवृत्तिका कर्मचारीले धानेको उनको भनाइ छ । ‘अहिले १८७ स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन्,’ उनले थपिन् ।

डा. गौतमका अनुसार यहाँ हालै ल्याप्रोस्कोपी सर्जरी गर्न समेत थालिएको छ । पार्किन्सोनिजम (बिर्सिने रोग) को उपचार थाल्ने प्रक्रिया पनि अगाडि बढाइएको छ । आँखाको शल्यक्रियासम्बन्धी सेवा दिन तिलगङ्गा आँखा अस्पतालसँग सहकार्य भइरहेको छ । कोरोना महामारीकै बीच अस्पतालमा दैनिक ६ सयभन्दा बढी बिरामीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा ओपीडी र अन्तरंग विभागअन्तर्गतका १८ वटा सेवा सञ्चालनमा छन् ।

महामारीकै बीच अस्पतालको पानी चुहिने भवन मर्मत गरी सभाहल, मेसु कक्षलगायत बनाइएको छ । अर्को सुविधा सम्पन्न भवन निर्माण तथा रेट्रोफिटिङको प्रक्रिया पनि सुरु गरिएको डा. गौतमले बताइन् । उनका अनुसार अस्पतालका लागि पर्याप्त जग्गा भने छैन । अस्पतालको नाममा भएको १८ रोपनी ४ आना जग्गामध्ये भक्तपुर क्यान्सर अस्पतालले ६ रोपनी, नेपाल रेडक्रस सोसाइटीले १ रोपनी ७ आना र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले त्योभन्दा पनि बढी क्षेत्र भोगचलन गर्दै आएको छ । अस्पतालका लागि बनाइएको भवनमा हाल प्रत्यारोपण केन्द्र सञ्चालित छ ।

प्रकाशित : वैशाख २८, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?