जोखिममा एम्बुलेन्स चालक

बढ्दो गर्मीमा दिनभर पीपीईमा गुम्सिनुको सकस, अर्कोतर्फ आफैं संक्रमित हुने डर । संक्रमितलाई अस्पताल ओहोरदोहोर गराउने एम्बुलेन्स चालक जोखिम उच्च रहे पनि मनोबल भने घट्न नदिएको बताउँछन् ।
प्रशान्त माली

ललितपुर — वैशाखयता मात्रै दर्जनौं कोरोना संक्रमितलाई अस्पतालसम्म ओहोरदोहोर गराइसकेका छन् । यसमध्ये २ जनाको मृत्यु भएको छ । अस्पताल पुर्‍याएको १२ र २४ घण्टापछि उनीहरूको मृत्यु भएको हो ।

जोखिममा एम्बुलेन्स चालक

ललितपुर ठेचोका कृष्ण केसी बज्रबाराही चापागाउँ अस्पतालको ‘कोभिड एम्बुलेन्स’ चालक हुन् । हाल दिनमा औसतमा ५ देखि ७ जना संक्रमितलाई सेवा दिइरहेका छन् ।

लगातार संक्रमित ओसार्दै आइरहेका उनले अत्यधिक जोखिम रहेको बताउँछन् । हिँडडुल गर्न नसक्ने संक्रमितलाई आफैंले बोकेर एम्बुलेन्समा बसालिदिन्छन् । भन्छन्, ‘पहिला अन्य रोगका बिरामी बोक्दै आइरहेको थिएँ । पछि कोरोना महामारी फैलियो ।

हामी नै भागेर हिँडेमा जनतालाई कसले सेवा दिन्छ ?’ उनले कोरोनाको पहिलो लहरको तुलनामा अहिले मनोबल धेरै बढेको बताए । ‘सुरुमा पीपीई, पन्जा, सेनिटाइजर त परको कुरा, मास्कसमेत कपडाको लगाएर बिरामी ओसार्नुपर्थ्यो । गाडी साबुनपानीले पखालेर चित्त बुझाउनुपर्थ्यो,’ उनले भने ।

वैशाखयता राजधानीसहित मुलुकभर नै संक्रमित संख्या ह्वात्तै बढेको छ । अहिले उनलाई आफ्नोभन्दा पनि घरका सदस्यलाई संक्रमण सारिएला कि भन्ने डर छ । घरमा स–साना दुई नानीहरू र वृद्ध आमाबुबा छन् । काम सकेर फर्किएपछि छुट्टै बस्दै आएका छन् । काममा हुँदा पनि एक्लैजस्तो हो । त्यसमाथि गर्मीमा दिनभर पीपीई लगाउनुको सकस त छँदै छ । ‘यो पेसा जो पायो त्यसले गर्न मुस्किल छ,’ उनी भन्छन्, ‘तलबको कुरा त उस्तै हो । सेवामा लागेर सबैले राम्रो मानेका छन् । यसैमा खुसी छु ।’

ठेचोकै सरोज केसी पनि कोभिड एम्बुलेन्स चालक हुन् । सेवा अवरोध हुन नदिन दुवै जना दिन बिराएर पालैपालो ड्युटीमा खटिने गरेका छन् । सरोज पनि घरमा पस्नासाथ नुहाई–धुहाई गरेर छुट्टै बस्छन् । गोदावरी नगरपालिकामा संक्रमितबाहेक अन्य बिरामी बोक्ने ६ वटा एक्बुलेन्स छन् । बज्रबाराही चापागाउँ अस्पतालका निमित्त प्रमुख हीराबहादुर कार्कीले बिरामीको चाप बढिरहेकाले संक्रमित बोक्ने छुट्टै अर्को एम्बुलेन्स थप्ने योजनामा रहेको बताए ।

चापागाउँका केदार कठायतले लेलेको आनन्दवन अस्पतालको एम्बुलेन्स चलाउन थालेको ३३ वर्ष भयो । लामो अनुभवकै कारण उनलाई यसअघि बिरामी बोक्ने क्रममा कहिल्यै डर लागेन । तर कोरोना महामारीयता भने ‘सातो गएको’ उनी बताउँछन् । ‘बिरामी बोक्ने क्रममा कति मृतक शरीर बोकें, राति–राति एक्लै चलाएर कति हिँडे, त्यति डर लागेको थिएन । तर यो महामारीले भने सातो खायो । अब डरलाग्दो रोग आयो भनेर छोडेर हिँड्ने कुरा पनि भएन । हुन त अस्पतालले पीपीई, मास्क, ग्लोब्स र सेनिटाइजर दिएको छ । तैपनि दिनैभर बिरामी बोक्दा मन डराइरहन्छ ।’

उनको घरमा १०३ वर्षीय आमा र तीन बालबालिका छन् । जोखिम मोलेर काम गरे पनि भत्ता नपाउँदा भने मन खिन्न हुने गरेको कठायतले सुनाए । ‘गत वर्ष संक्रमित बोकेबापत भत्ताको व्यवस्था थियो । यो पटक दिएको छैन,’ उनले भने, ‘तैपनि सेवा नै धर्म सोचेर काममा खटिरहेको छु ।’ ड्युटी मिलाएर दिउँसो र राति आलोपालो गरी चलाउनुपर्छ । अहिले रातिमा दीपक बोगटीको पालो छ । बोगटी अस्पतालमा ३ वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका छन् । राति जतिखेर फोन आउँछ, उनी उठेर बिरामी लिन पुग्छन् । एम्बुलेन्स चलाउने काम छोड्न घरबाट दबाब आइरहँदा पनि आफ्नो कर्तव्य भुल्न नसकेको उनी सुनाउँछन्, ‘बिरामीले रुँदै फोन गर्छन्, जानैपर्‍यो ।’

कोरोनाको नयाँ भेरिएन्टले युवायुवती र बालबालिकासमेतको ज्यानै जोखिममा परेको खबरले उनी आत्तिएका छन् । ‘परिवारका सदस्यहरूलाई नजिक आउन दिएको छैन । एक्लै सुत्छु । खाना खाएर थाल आफैं माझ्छु,’ उनले भने, ‘भगवान्को कृपाले परिवार र मलाई अहिलेसम्म ज्वरो र रुघाखोकीले भेटाएको छैन ।’ आनन्दवन अस्पतालका कोभिड इन्चार्ज डा. प्रदीपकुमार सापकोटाका अनुसार अस्पताल विदेशी अनुदानबाट चल्छ ।

‘सरकारबाट अनुदान आउँदैन । कोरोनाकै कारण विदेशी अनुदान पनि रोकिएको छ । यसले गर्दा कर्मचारीको तलब वितरणमा समेत समस्या देखिएको छ,’ उनले भने, ‘डोनरहरू खोजिरहेको छु । सहयोग प्राप्त भएमा एम्बुलेन्स चालकलाई पनि भत्ता उपलब्ध गराउँछौं ।’

ललितपुर महानगरद्वारा सञ्चालित एम्बुलेन्स चालक बाबुरत्न महर्जन भने महामारीभर महानगरमै खाने–बस्ने व्यवस्था भए सुरक्षित हुने बताउँछन् । ‘दुई/दुई जना चालक र हेल्पर छन् । दुई जनाको त खाने–बस्ने व्यवस्था भयो । दुई जनाको बाँकी छ,’ उनले भने । नेपाल एम्बुलेन्स चालक संघका अनुसार उपत्यकामा २ सय ८४ जना चालक दर्ता छन् ।

सबैले जोखिम मोलेरै बिरामी बोक्नुपरेको संघका काठमाडौं जिल्ला अध्यक्ष गणेश सापकोटा बताउँछन् । ‘बिरामी जस्तोसुकै भए पनि सुरक्षित अस्पताल पुर्‍याउने जिम्मेवारी हाम्रो हो,’ उनले भने, ‘यसमा हामी कटिबद्ध छौं ।’

प्रकाशित : वैशाख २६, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?