समुदायले बनायो आइसोलेसन- उपत्यका - कान्तिपुर समाचार

समुदायले बनायो आइसोलेसन

प्रशान्त माली

ललितपुर — गुठी बाहिर ‘टच लेस’ सेनिटाइजर र कोभिड–१९ का बारेमा जानकारीमूलक सूचना टाँसिएको छ । भुइँतलाको थाममा अक्सिजन सिलिन्डर बाँधिएका छन् ।

तौल, सुगर, प्रेसर, ज्वरो नाप्ने थर्मोमिटर तयारी अवस्थामा राखिएको छ । छुट्टै भान्साकोठा छ । अशक्त र अपांगता भएकाहरूका लागि ह्विलचियर र ट्वाइलेट सिट (कुर्सीमा बसेर दिसापिसाब गर्न मिल्ने) को पनि व्यवस्था छ ।

यो दृश्य पाटनको च्यासलस्थित च्यासः मंका खलःको गुठी घरमा कोरोना संक्रमितलाई राख्न बनाइएको आइसोलेसन सेन्टरको हो । संक्रमितको संख्या बढेर अस्पतालमा शय्या नपाउने अवस्था रहेको भन्दै च्यासलवासीले स्थानीय स्रोतसाधन र जनशक्तिमा ५ शय्याको आइसोलेसन सञ्चालनमा ल्याएका हुन् । यसमा मुख्य भूमिका च्यासः मंका खलः, च्यासल युवा क्लब र च्यासल युथ रेडक्रस सर्कलको छ । सेन्टरमा एक चिकित्सक र तीन जना नर्स परिचालन गरिएको छ । च्यासः मंका खलः (समूह) का अध्यक्ष श्याम व्यञ्जनकार भन्छन्, ‘पैसा भएर सञ्चालनमा ल्याएका होइनौं । मुलुकको भयावह स्थिति देखेर सेवाभावले चलाएका हौं ।’

सेन्टरमा प्रयोग गरिएका शय्या च्यासल क्लबका खेलाडीका लागि तयार गरिएको हो । सेन्टर सञ्चालनमा आएपछि घरमा स्थान अभाव भएका, अक्सिजन चाहिने र छिनछिनमा हेरविचार गरिरहनु पर्ने बिरामीलाई बढी लाभ पुग्ने उनको भनाइ छ । डा. समिरा व्यञ्जनकारले सेन्टर राम्रोसँग सञ्चालनमा ल्याउन सके कोरोनाको नयाँ भेरिएन्ट समुदायमा फैलिन सक्ने खतराबाट केही हदसम्म मुक्ति मिल्ने दाबी गरिन् । ‘समुदायस्तरमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको सायद यो मुलुककै पहिलो हो,’ उनले भनिन्, ‘यसले अन्य समुदायलाई पनि स्थानीय जनशक्ति प्रयोग गरेर चलाउन सकिन्छ भन्ने प्रेरणा मिलेको छ ।’

उनले बिरामीको संख्या बढेमा शय्या थप्न सकिने पनि बताइन् । ‘अहिलेसम्म एक जना पनि भर्ना हुनुभएको छैन,’ उनले भनिन्, ‘हामीसँग स्थान पनि छ, आवश्यक परेमा अन्य ३ जना सिनियर डाक्टर र नर्स पनि छन् ।’ सरकारले उपचार गर्न नसकेको भनी हात उठाइरहेका बेला सेन्टर सञ्चालनले मनोबल बढेको स्थानीय प्रदीप व्यञ्जनकार बताउँछन् । यहाँ बसेको, उपचार, औषधि र खानाको पनि कुनै शुल्क तिर्नु पर्दैन ।

प्रकाशित : वैशाख २१, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्

रोनाल्डो आएपछि खस्किएको युभेन्टस

मार्का

मार्का — एक समय इटालियन सिरी ‘ए’ मा युभेन्ट्स छुनै नसकिने गरेर अगाडि थियो । त्यसैले युभेन्टसले लगातार सात लिग उपाधि जितेको थियो । इटालीको घरेलु फुटबलको शीर्षस्थानमा युभेन्टसको प्रतिस्पर्धा कोहीसँग थिएन ।

त्यसैले युभेन्टसले सन् २०१८ मा एउटा अझ उचाइको लक्ष्य बनायो । यसैक्रममा भित्र्याएको थियो युभेन्टसले पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डो । तर त्यसै समयपछि युभेन्टसका खराब दिन सुरु भए, टोलीका योजना जतिले वास्तवमै गति लिन सकेन ।

यी पोर्चुगाली खेलाडीले ‘ओल्ड लेडी’ लाई पक्कै पनि थप दुई सिरी ‘ए’ उपाधि दिलाए । तर युरोपमा भने युभेन्टसले खासै केही गर्न सकेन । अझ अहिले त यी ७ नम्बरका खेलाडी छँदाछँदै युभेन्टसले घरेलु लिगको उपाधि पनि गुमाएको छ । त्यसो भनेको सन् २०११ यता पहिलोपल्ट युभेन्ट्स सिरी ‘ए’ जित्न असफल रह्यो । यस्तो हुन्छ भन्ने लगभग तय भइसकेपछि पछिल्ला केही समयदेखि सबैको नजर यिनै पाँचपल्टका बालोन डे’अर विजेतामाथि थियो ।

हुन पनि रोनाल्डो आफैं केही खराब लयमा थिए । युभेन्टसले जितेका खेलमा पनि उनले गोल गर्न सकिरहेका थिएनन् । आइतबार युभेन्टसले युडिनेजीमाथि प्राप्त पुनरागमन जितमा रोनाल्डोले दुई गोल गरे, तर धेरैले यसलाई ख्यालै राखेनन् । बरू सबैले उल्टै भनिरहेका थिए, लिग उपाधि पो त खोसियो, युभेन्टसको कब्जाबाट । सन् २०२०–०२१ को सिजनको सुरुआतमै लगभग स्पष्ट भइसकेको थियो, यसपालि युभेन्टसलाई सजिलो छैन ।

लिगको सुरुमा केही समय एसी मिलान अगाडि रह्यो । पछि एसीलाई उछिनेर इन्टर मिलान अगाडि रह्यो । अन्ततः इन्टरले नै उपाधि जित्यो । तर कुनै पनि समय युभेन्ट्सले शीर्षस्थानका लागि चुनौती पेस गर्न सकेन । युरोपमा युभेन्टसले केही गर्न नसकेकोमा सायद माफी दिन सकिन्थ्यो होला । तर युभेन्टसले त्यस्तो टिमविरुद्ध जित निकाल्न सकेन, जसका विरुद्ध यो टिमले आरामले जित्ने छ भनेर अपेक्षा गर्न सकिन्थ्यो । जित्नैपर्ने खेलमा पनि युभेन्टसको केही चलेन ।

त्यसैले त युभेन्टसमा रोनाल्डोको पहिलो सिजन अयाक्सको हातबाट बाहिरियो । सन् २०१९–२०२० मा युभेन्टसलाई लियोनले माथ दियो । यसपल्ट युभेन्टसको बाटो छेक्ने काम एफसी पोर्टोले गरेको थियो । त्यसो त टिमको यो खस्कँदो प्रदर्शनप्रति रोनाल्डोलाई मात्र दोष दिन कसरी सकिन्छ र ? तर एउटा सत्यतथ्य के पनि हो भने युभेन्टस रोनाल्डोबिना नै राम्रो थियो । त्यसैले युभेन्टस सन् २०१५ देखि २०१७ बीच दुई अवसरमा च्याम्पियन्स लिगको फाइनलसमेत पुगेको थियो । भन्न कर लाग्छ, पक्कै पनि रोनाल्डो आएपछि युभेन्टसको ब्रान्ड बलियो भएको छ । मैदानबाहिर रोनाल्डोले युभेन्टसलाई केही बढी नै कमाउन मदत गरेको छ । त्यसमाथि रोनाल्डो आफैंले युभेन्टसका लागि सधैं सम्झनलायक गोल पनि गरेका छन् । सत्य के पनि हो भने जतिबेलादेखि रोनाल्डो टुरिन आए, यी तीन सिजन टिमको प्रदर्शन झन् पो खस्कन थालेको छ । यो यस्तो सत्य हो, जसलाई पटक्कै नकार्न सकिन्न ।

प्रकाशित : वैशाख २१, २०७८ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×