जसले कोरोनाले लगेका बुबाको खबर आमालाई सुनाउन सकेनन्- उपत्यका - कान्तिपुर समाचार

जसले कोरोनाले लगेका बुबाको खबर आमालाई सुनाउन सकेनन्

लक्षण देखिनेबित्तिकै अस्पताल पुर्‍याउन पाएको भए बुबालाई बचाउन सकिन्थ्यो कि भन्नेमा उनलाई थकथकी लागिरहेको छ
‘एक जना दिदीले दाहसंस्कार गर्नुभयो भन्ने सुनें, हामीले त बुबाको नाममा केही पनि गर्न सकेका छैनौं’
सुशीला तामा‌ङ

काठमाडौँ — अवस्था सामान्य थियो भने यतिबेला उनी सेतो वस्त्रमा हुने थिए । परिवारसँगै बाबुको मृत्यु संस्कारमा जुटिरहेका हुन्थे । तर उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेढ साताको बसेर शनिबार साँझमात्रै घर फर्किएका छन् ।

कोरोनाबाट निको भएको खुसीभन्दा बढी उनमा वियोगको घाउ छ । ‘बुबाको मृत्युको खबर आमालाई कसरी सुनाऊँ ?’ टेकुका डिकेन सुवालले भने, ‘अझ काजकिरिया गर्न पनि बाँकी नै छ ।’ आफू कोरोनामुक्त भए पनि सुक्खा खोकी लाग्ने गरेको उनले सुनाए ।

अघिल्लो शुक्रबार उनले बुबा शंकरराज सिंह सुवाललाई कोरोना संक्रमणकै कारण टेकु अस्पतालमा गुमाए । डिकेनकी आमा, श्रीमती र छोरालाई समेत संक्रमण भयो । ‘अस्पताल ल्याएको चार/पाँच दिनपछि बुबा बित्नुभएको खबर पाए पनि चुपचाप मन दह्रो बनाएर बसें,’ उनले भने, ‘मेरो छोरा र आमालाई अझै बुबा बित्नुभएको खबर थाहा छैन ।’ बुबाको मृत्युको खबर सुन्नुबाहेक अरू केही गर्न नसकेकोमा उनले दुखेसो पोखे । ‘हामी सबै हस्पिटलमै थियौं । हस्पिटल, वडा अध्यक्ष र एक जना दिदीले बुबाको दाहसंस्कार गर्नुभयो भन्ने सुनें । बुबाको नाममा हामीले केही पनि गर्न सकेका छैनौं,’ उनले भावुक हुँदै सुनाए । उनका अनुसार सुवाल केही वर्षदेखि मुटुका बिरामी थिए । मुटुमा पेस मेकर राखिएको उनलाई कोरोनाको लक्षण देखिएको थियो । संक्रमण भएको थाहा पाएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याएको डिकेनले बताए । ‘फोक्सोमा संक्रमण बढिसकेकाले बुबालाई तत्काल आईसीयूमा राख्नुपर्ने भयो । बल्ल टेकुमा आईसीयू वार्ड पाएपछि बुबासहित हामी पनि भर्ना भएका थियौं,’ उनले भने । पाँच दशकभन्दा बढी कला सिर्जनामा बिताएका सुवाल पछिल्लो समय पनि उत्तिकै सक्रिय थिए । ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापनादेखि नेपालमा आधुनिक चित्रकला विकासमा योगदान पुर्‍याएका उनको मृत्युमा छोराले अन्तिम संस्कारसमेत गर्न पाएका छैनन् । सुवाल ‘मेम्बर अफ आर्टिस्ट सर्कल’ का सदस्य तथा आधुनिक कलाकार समाज (सोमा) का अध्यक्षसमेत थिए ।

डिकेनकी आमा र श्रीमतीलाई सुवालको निधनपछि तुरुन्तै ललितपुरस्थित स्टार अस्पतालमा सारिएको थियो । शय्या अभावका कारण डिकेनलाई भने पुनः टेकुमै ल्याइयो । अस्पतालमा दैनिक देखिने भयावह अवस्थालाई उनले नजिकैबाट नियालिरहेका छन् । घरमा अब अभिभावकत्व बहन गर्नुपर्ने भएकाले मनलाई बलियो बनाउने प्रयास गरिरहेको उनले बताए । निको भएर उनकी आमा र श्रीमती शुक्रबार घर फर्किएका छन् । छोरा होम आइसोलेसनमा छन् । भर्खर तंग्रिएकी ७० वर्षीया आमाले आफ्ना श्रीमान्को मृत्युको खबर कसरी सहलिन् भन्ने चिन्ताले उनलाई अझै सताइरहेको छ । उनले सुनाए, ‘शरीर र अन्य रोगका कारण आमाको स्वास्थ्य अवस्था ठीक छैन । त्यही भएर हामीले अझैसम्म केही भनेका छैनौं । अब बिस्तारै सबै मिलाउनुपर्छ भन्ने सोचमा छु ।’

मृत्युसँग लडिरहेको सिंगो परिवार र आँखै अगाडि बुबाको जीवनको अन्तिम समयलाई बेहोरेका डिकेन कोरोनाले लाचार बनाएको सुनाउँछन् । यसलाई कमजोर नठान्न सबैप्रति उनको आग्रह छ । लक्षण देखिनेबित्तिकै अस्पताल पुर्‍याउन पाएको भए बुबालाई बचाउन सकिन्थ्यो कि भन्ने उनलाई थकथकी लागिरहेको छ । ‘अहिलेको अवस्थामा कोरोना भएको थाहा पाएपछि घरमा नै निको होला कि भनेर बस्नु हाम्रो ठूलो गल्ती हो,’ उनले भने, ‘अहिले मेरो परिवारले भोगेर थाहा भयो । भोलि अर्को परिवारले पनि यस्तै भोग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।’

प्रकाशित : वैशाख १९, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

प्रदर्शनीमा ४९६ कलाकृति

सुगमदेखि दुर्गम क्षेत्रसम्मका कलाकारहरु आ–आफ्ना कलाकृतिसँगै सहभागी
सुशीला तामा‌ङ

काठमाडौँ — प्रवेशद्वारबाट सोझै हेर्दा देखिन्छ कलाकृतिका लहर । वरिपरि आ–आफ्नै सुरमा अवलोकन गर्दै मन्त्रमुग्ध सहभागी । कलाकै सेरोफेरोमा रहेर छलफलमा व्यस्त रहेका कलाकारहरू अर्को खेमामा छन् । यतिबेला राजधानीको नक्सालस्थित रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कलामय बनेको छ । 

गत बिहीबारदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ मा देशभरबाट ४ सय ४४ जना कलाकारका ४ सय ९६ कलाकृति समावेश छन् । विधागत रूपमा नै गठित मूल्यांकन छनोट समितिद्वारा चयन गरिएका कलाकृतिहरू मात्र प्रदर्शनीमा छन् । हस्तकला, शिल्पकला, परम्परागत तथा आधुनिक मूर्तिकला, चित्रकला, लोककला, कार्टुनकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाकृतिहरू प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ । मुलुकभरका कलाकार तथा कलाप्रेमीहरूका लागि प्रदर्शनी राष्ट्रिय कला महोत्सवका रूपमा रहेको चित्रकार सञ्जय बान्तवाले बताए । ‘देशका सुगमदेखि दुर्गम क्षेत्रसम्मका कलाकारहरू आ–आफ्ना कलाकृतिहरूमार्फत सहभागी हुनुभएको छ,’ उनले भने, ‘यो प्रदर्शनी हामी कलाकारहरूको कामको मूल्यांकन गर्न महत्त्वपूर्ण अवसर हो ।’ राष्ट्रिय तथा क्षेत्रीयस्तरमा नै सम्मान र पुरस्कारसमेत वितरण हुने भएकाले कलाकारका लागि विशेष हुने उनको भनाइ छ ।

प्रतिष्ठान परिसरमा नै नवनिर्मित अरनिको प्रदर्शनी कक्ष अझ विशेष छ । प्रतिष्ठानले यसै वर्षदेखि आफ्नै भवनमा प्रदर्शनी सुरु गरिएको चित्रकार तथा चित्रकला विभागका प्रमुख सुष्मा राजभण्डारीले बताइन् । उक्त कक्षमा प्रवेश गर्नेबित्तिकै परफर्मेन्स आर्ट, प्रतिस्थापन कला, मूर्तिकला, कार्टुन, समकालीन तथा आधुनिक चित्रकलाहरू प्रदर्शनमा छन् । जहाँ अग्रजदेखि युवा कलाकारहरूका कलाकृतिहरू अवलोकन गर्न सकिन्छ । कलाकृतिहरूमा प्रकृति, धर्म, समाज, मानव र राजनीतिसम्मका विषयवस्तुहरू इंगित छन् । पछिल्लो समय विश्वलाई नै आतंकित बनाइरहेको कोरोना महामारीलाई समेत कलाकृतिहरूमा देखिन्छ ।

प्रदर्शनीमा परम्परागत तथा लोककलाको दाँजोमा समकालीन तथा आधुनिक कलाहरूको नै प्रभुत्व देख्न सकिन्छ । यसमा पनि वास्तुकला तथा मूर्तिकलाभन्दा चित्रकला नै बढी हावी छ । कार्टुनकलामा भने पछिल्लो राजनीतिक घटनाक्रमलाई चोटिलो व्यंग्य गरेको पाइन्छ ।

केही वर्षदेखि प्रदर्शनीहरूमा समकालीन तथा आधुनिक चित्रकलाहरू अधिकतम सिर्जना भइरहेको चित्रकार बान्तवाले आफ्नो कलाकृतितर्फ इसारा गर्दै सुनाए । उनले घोडालाई शक्ति र संघर्षको प्रमुख बिम्ब बनाई चित्रमा उतारेका छन् । जसमा महिलाको आकृतिलाई केन्द्रित गर्दै उनले सपना र स्वतन्त्रतालाई क्यानभासमा नै तीव्र वेगमा उडिरहेको र दौडिरहेको चित्रण गरेका छन् ।

प्रतिष्ठान परिसरमा प्रवेश गर्दा दायाँतर्फको एक कक्षमा भने सुन्दर परम्परागत पौभा तथा थांका कलाहरू प्रदर्शन गरिएका छन् । जेनेन्द्र राई शाक्य, जुजुकाजी महर्जन, चन्द्र लामालगायतले हिन्दु तथा बौद्ध धर्मशास्त्रका अनेक पक्षहरूलाई कलाकृतिहरू उतारेका छन् । प्रदर्शनीले छायामा परेका कलाकारहरूलाई हौसला तथा कला सिर्जनामा प्रोत्साहन दिने थांका चित्रकार लामाले बताए । साढे दुई दशकभन्दा लामो उनको कला यात्रामा उनले प्रतिष्ठानको राष्ट्रिय प्रदर्शनीमा उनले सहभागिता जनाएको यो दोस्रो पटक हो । औपचारिक कला शिक्षा र ज्ञान नभएकाले सिर्जनामा मात्र तल्लीन रहेको उनले सुनाए । उनले भने, ‘हामी थांका चित्र बनाउन र बेच्नमा नै व्यस्त हुँदै आएका छौं । कलाका रूपमा प्रचार र प्रदर्शनी गर्नुपर्छ नै, खासै थाहा नै छैन ।’ प्रदर्शनीले उनी जस्ता समग्र कलाकारहरूलाई समेटिनुपर्ने लामाको आग्रह छ ।

परिसरकै एक कक्षमा भने लोककला प्रदर्शनीमा छ । मिथिला क्षेत्रको लोकजीवन, धर्म, परम्परा, सौन्दर्य तथा आधुनिकतातिर लम्किरहेको मिथिलावासी, स्वतन्त्रतातिर उन्मुख मिथिलाका नारीहरूलाई मिथिला चित्रकलाहरूमा प्रस्तुत गरिएका छन् । समुदायमा नै प्राप्त गर्न सकिने विभिन्न वस्तुहरूबाट निर्मित हस्तकलाका सामग्रीहरूले प्रदर्शनीको शोभा बढाइएको छ । मिथिला चित्रकलामा पनि परम्परागतसँगै आधुनिकताको प्रवेश भएको चित्रकार तथा लोककला विभागका प्रमुख मिथिलादेवी यादवको मत छ । सप्तरीकी रुविकुमारी कर्णले महामारीबाट जोगिन मास्क लगाउने, साबुनपानीले हात धुने सामाजिक दूरी कायम गर्नेलगायतका सचेतनालार्ई मिथिला चित्रमार्फत प्रस्तुत गरेकी छन् । यादवले भने मैथिल समाजमा पतिको सुस्वास्थ्यका लागि महिलाहरूले मानिने वट् सावित्री व्रत तथा पूजालाई चित्रमा उतारेकी छन् ।

प्रदर्शनीमा नेवारी लोककलालाई समेट्न नसकेकामा राजभण्डारीले दुःख व्यक्त गरिन् । ‘हामी आफ्नो मौलिक कला बिर्सेर आधुनिक कलाका नाममा अरूको सिर्जनालाई सिको गरिरहेका छौं । यो कला विकासमा राम्रो पक्ष हुँदै होइन ।’ देशमा परम्परागत कला सिर्जनामा रहेका थुप्रै कलाकारहरू छायामा परिरहेकाले प्रतिष्ठानले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने उनको धारणा छ । उनले भनिन्, ‘कलाकार र कलालाई पहिचान गरी यसलाई अब सिर्जना मात्र होइन, कला उद्योगका रूपमा व्यवसाय बनाउन जरुरी छ ।’

प्रकाशित : वैशाख ८, २०७८ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×