७ महिनासम्म पनि बनेनन् एचडीयू- उपत्यका - कान्तिपुर समाचार

७ महिनासम्म पनि बनेनन् एचडीयू

स्वास्थ्य मन्त्रालयको बेवास्ता, जनशक्ति अभाव र उपकरण खरिदमा ढिलाइले धेरैजसो अस्पतालमा यो कक्ष पूर्ण रुपमा सञ्चालनमा आएन
प्रशान्त माली

काठमाडौँ — उपत्यकाका अधिकांश अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका बेड भरिसकेकाले नयाँ बिरामी सहजै भर्ना हुन सक्ने अवस्था छैन । ललितपुरको पाटन अस्पताल, किस्ट मेडिकल कलेज शिक्षण अस्पताललगायतले आईसीयू र भेन्टिलेटरको खोजीमा आउने बिरामीलाई धमाधम फर्काइरहेका छन् ।

उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आइसक्दा सरकारले गत वर्ष नै घोषणा गरेको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा ल्याउने योजना भने अलपत्र छ । आईसीयू बेड अभाव भएका बेला जटिल बिरामीका लागि पनि एचडीयू प्रभावकारी मानिन्छ । यसमा मेडिकल अक्सिजन उपलब्ध हुनुका साथै मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा, शरीरको तापक्रमलगायत थाहा पाउन सकिने मोनिटरसमेत जडान हुन्छ ।

स्वास्थ्य मन्त्रालयले गत कात्तिकमा उपत्यकासहित सातै प्रदेशमा गरी एक हजार ९ सय २५ वटा एचडीयू बेड सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । जसअनुसार हालसम्म उपत्यकाका अस्पतालमा ८ सय ७५ वटा र प्रत्येक प्रदेशमा एक सय ५० बेडका दरले सञ्चालनमा आइसक्नुपर्ने थियो । तर मन्त्रालयको बेवास्ता, जनशक्ति अभाव र उपकरण खरिदमा ढिलाइले धेरैजसो अस्पतालमा यो सेवा पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । मन्त्रालयको तथ्यांकअनुसार हालसम्म देशैभर ७ सय ३० बेड सञ्चालनमा आएका, ६ सय बेडका लागि उपकरण खरिद गरिएको र बाँकी ५९५ बेडको खरिद प्रक्रिया नै थालिएको छैन ।

उपत्यकाका पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल (टिचिङ) र वीर अस्पतालमा एक/एक सय बेड सञ्चालनमा ल्याइने बताइएको थियो । तर टिचिङमा ५० र वीरमा ५५ बेड तयार भए पनि पाटनका यसको कुनै सुरसारै छैन । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार सरकारले योजना ल्याउनुअघि नै अस्पताल आफैंले ६० बेडको एचडीयू सञ्चालनमा ल्याइसकेको थियो । ‘सरकारले कात्तिकमा योजना ल्याए पनि पुस/माघतिर संक्रमण दर निकै कम भइसकेको थियो । तैपनि खरिद गर्न मन्त्रालयलाई पत्र पठाएँ तर त्यति चासो दिइएन । बजेट निकासा पनि भएन,’ उनले भने ।

मन्त्रालयको तथ्यांकअनुसार नेपाल प्रहरी अस्पताल, दहचोक अस्पताल, सिभिल सर्भिस अस्पताल, आर्मी अस्पताल, एपीएफ अस्पतालले ५०/५० बेडको एचडीयू सञ्चालनमा ल्याइसकेका छन् । त्यस्तै, मनमोहन कार्डियाक सेन्टर र भक्तपुर नगरपालिका अस्पतालले २५ बेडमा सेवा दिन थालिसकेका छन् । मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर प्रादेशिक अस्पतालले २५/२५ बेडको उपकरण खरिद गरी सञ्चालनको तयारीमा छन् ।

थापाथलीको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कीर्तिपुरको आयुर्वेद अस्पतालमा ५०/५० बेड तथा पाटनको मानसिक अस्पताल र नरदेवी अस्पतालमा २५/२५ बेड सञ्चालनमा ल्याउन उपकरण खरिद गरेका छन् । तर जनशक्ति अभाव हुँदा सञ्चालनमा आउन सकेको छैन । क्रमशः ५० र २५ बेडको एचडीयू राख्ने बताइए पनि धुलिखेल अस्पताल र कान्ति बाल अस्पतालमा सेवा सुरु भएको छैन । प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता कौशल मिश्राले मन्त्रालयसँगको समन्वयमा जनशक्ति बाहिरबाट लिने क्रममा रहेको बताइन् । ‘यहाँ महिलासँग सम्बन्धित मात्र उपचार हुन्छ । पुरै क्षमतामा सञ्चालन गर्न १० जना डाक्टर र २८ जना नर्स आवश्यक पर्छ,’ उनले भनिन् ।

ललितपुरको गोदावरी नगरपालिकाले बज्रबाराही चापागाउँ अस्पतालमा ७ जना चिकित्सक र १३ जना नर्सको व्यवस्था गरी २५ बेडको एचडीयू सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन अभाव हुन नदिन २७ वटा सिलिन्डर तयारी अवस्थामा राखिएको छ । नगर प्रमुख गजेन्द्र महर्जनका अनुसार सिलिन्डर सकिएका तत्काल अक्सिजन दिन मिल्ने चार वटा अक्सिजन कन्सन्टेटरको पनि व्यवस्था गरिएको छ । ‘संक्रमितको संख्या बढेर चिकित्सकहरू अपुग भएमा नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मी खटाइनेछ । त्यतिले पनि अपुग भए निश्चित अवधिका लागि करारमा लिइनेछ,’ उनले भने ।

बज्रबाराही चापागाउँ अस्पतालका निमित्त प्रमुख हिराबहादुर कार्कीले एचडीयूको २५ बेडमध्ये ५ वटा प्रसूति हुने महिलाका लागि छुट्याइएको बताए । ‘बिरामी कतै रेफर गर्नुपरेमा अस्पतालमा छुट्टै एम्बुलेन्सको व्यवस्था गरेका छौं,’ उनले भने ।

सातै प्रदेशमा गरी एक हजार ५० बेडको एचडीयू स्थापना गर्ने सरकारको योजना थियो । तर हालसम्म वाग्मती र गण्डकी प्रदेशले मात्र १५०/१५० बेडको एचडीयू स्थापना गरेका छन् । प्रदेश १ र लुम्बिनीमा १/१ सय बेड, कर्णालीको हुम्ला, सुर्खेत र जाजरकोटमा ७५ बेड, सुदूरपश्चिममा एक सय २५ बेडका लागि मात्र उपकरण खरिद भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रविन खड्काले बाँकी बेडको खरिद प्रक्रियामै रहेको बताए । ‘अन्य प्रदेशमा जस्तै यहाँ प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र भनेर छुट्टै संरचना छैन,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अस्पतालहरूलाई छिट्टै एचडीयू सञ्चालनमा ल्याउन ताकेता गरिहेको बताए । ‘रिपोर्ट माग्दा किस्ट अस्पतालले खरिद प्रक्रियामा रहेको भनी पठाएको छ । नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौं मेडिकल कलेज र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले १/२ दिनमै सञ्चालनमा आउने भनेका छन्,’ उनले भने, ‘मानव अंग प्रत्यारोपण केन्द्रले पनि चाँडै सञ्चालनमा ल्याउने रिपोर्ट पठाएको छ ।’ उनका अनुसार २५ बेडको एचडीयूका लागि आवश्यक उपकरण खरिद गर्न मन्त्रालयले ३ करोड रुपैयाँ बजेट विनियोजन गर्ने गर्छ ।

प्रकाशित : वैशाख १८, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

४० किलो चामलले तीन कट्ठा घरघडेरी लिलाममा

झूटा तमसुक बनाएर गरिबको शोषण गर्ने क्रम रोकिएन
सुनिता बराल

महोत्तरी — भोक मेटाउन साहुबाट उधारोमा लिएको चामलले महोत्तरी धिरापुरकी तेतरीदेवी सहनीले कुनै दिन परिवारकै उठीबास हुन सक्छ भन्ने सोचेकी पनि थिइनन् । तर त्यही उधारो चामलले उनको परिवार अहिले बिखलबन्दमा छ ।

मिटरब्याजीबाट अन्यायमा परेका महोत्तरीको मटिहानी–१ धिरापुरका महिला । बायाँबाट पहिलो तेतरी देवी ।

मटिहानी नगरपालिका–१ धिरापुरकी तेतरीले गाउँका साहु जगदीश साहसँग सात वर्षअघि ४० किलो चामल उधारो लिएकी थिइन् । त्यसबापत जगदीशले सादा कागजमा तेतरीको औंठाछाप लगाएका थिए । चामल लिएको एक वर्षपछि साहले पैसाको ताकेता गर्न थाले । तेतरीले गाउँकै अर्का व्यक्तिसँग ऋण मागेर २० हजार जगदीशलाई बुझाइन् । तर हिसाब चुक्ता भए होला भनेर सोचेकी तेतरीलाई एक वर्षपछि अर्को झड्का लाग्यो । २० हजार दिएको वर्ष दिनपछि फेरि जगदीशले तेतरीसँग ९ लाख लिनु छ भन्दै कागज देखाएर पैसा माग्न र धम्काउन थाले । खाँदै नखाएको ऋणको कागज देखाउँदा आफू छाँगाबाट खसे जस्तै भएको तेतरी बताउँछिन् ।

तेतरीले पटकपटक आफूले पैसा नलिएको र चामलको पैसा दिइसकेको भन्दै पञ्चायत राखिन् । पञ्चायतमा तेतरीले पैसा नतिर्ने बताएपछि जगदीशले तेतरीविरुद्ध एक वर्षअघि महोत्तरी जिल्ला अदालतमा मुद्दा नै हाले । तेतरीले फेरि पञ्चायत बोलाइन् । तेतरीबाट १ लाख लिएर गाउँ पञ्चायतले मुद्दा फिर्ता लिन आग्रह गरेपछि जगदीशले सहमति जनाउँदै गाउँलेकै अगाडि उनीसँग १ लाख रुपैयाँ लिए । ऋण गरेर जगदीशलाई १ लाख बुझाइसकेकी तेतरीविरुद्धको मुद्दा जगदीशले भने फिर्ता लिएनन् । अनेक जालसाजी कागजात पेस गरेर अदालतमा उनी झनै बलियो रूपमा उभिए । मुद्दा किनारा लाग्ने क्रममा अहिले महोत्तरी जिल्ला अदालतले तेतरीको तीन कट्ठामा रहेको घरघडेरी लिलाम गर्न आदेश दिएको छ । अदालतले समेत घर खाली गर्न पत्र दिएपछि आफू राज्यबाट समेत चरम अन्यायमा परेको तेतरी बताउँछिन् । जगदीशले आफूलाई पटक–पटक घरबाट निस्कन धम्की दिएकाले उनी अहिले जिल्ला प्रशासन कार्यालयदेखि अन्य निकाय र व्यक्तिलाई गुहार गरिरहेकी छन् ।

जिल्लामा जगदीशजस्तै मिटरब्याजीको समूह नै सक्रिय रहेका कारण गरिब तथा विपन्न समुदायको उठीबास लाग्दै आएको छ । महोत्तरीमा झूटा तमसुक बनाएर गरिबको शोषण गर्ने क्रम रोकिएको छैन । मिटरब्याजीको परिचय बनाएका धिरापुरका अर्का व्यक्ति विनोद साहको दबदबा अन्य पालिकामा समेत छ । विनोदले आफूमाथि अन्याय गरेको पिपरा गाउँपालिका अतराका रामसागर मण्डलको भनाइ छ ।

चार वर्षपहिले उनले घरव्यवहार चलाउन विनोदसँग डेढ लाख ऋण लिएका थिए । डेढ लाखको ब्याज जोड्दै ६ लाख रकम बुझाइसक्दा पनि विनोदले ४० लाख तिर्नुपर्ने भन्दै धम्क्याइरहेको मण्डलले बताए । अहिले विनोदले ४० लाख तिर्न दबाब दिँदै जेल जान तयार हुनू भनेर डर देखाउने गरेको मण्डलले गुनासो गरे । मटिहानी धिरापुर घर भएका मिटरब्याजी भनेर चिनिने एकै परिवारका जगदीश साह, विनोद साह र राजकुमार साहले धिरापुरको एकै टोलका गरिब तथा दलित २५ परिवारको उठीबास लगाउन खोजेको पीडित उर्मिला देवीको भनाइ छ ।

महोत्तरीकै भंगाहा नगरपालिकामा पनि मिटरब्याजी अनुरुद्ध साहको धन्दाले गरिब परिवारको उठीबास लागेको छ । मिटरब्याजी साहले नगरभित्रका करिब दुई सय घरपरिवारलाई झूटा र जालसाजी कागजपत्र बनाएर पैसा असुलिरहेका छन् । अनुरुद्धले गाउँलेमाथि झूटा कागज गरेर ऋणको भारी बोकाउने गरेको र गाउँका महिलामाथि यौनहिंसासमेत गरेको भनेर केही समयअघि प्रहरीमा उजुरीसमेत दिएका थिए । अहिले पनि भंगाहाका दर्जनौं गरिब परिवारविरुद्ध फर्जी कागजात बनाएर दर्ता गराएका मुद्दा जिल्ला अदालतमा विचाराधीन छन् ।

यस्ता धन्दा गर्ने जोकोहीलाई छानबिन गरी कारबाही गरिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । ठगिएँ भन्दै धेरै गरिब तथा विपन्न परिवार न्याय माग्न आउने गरेको जिल्ला प्रहरी कार्यालयले पनि बताएको छ । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले प्रहरीले उनीहरूका विषयमा केही गर्न नसकेको महोत्तरीका एसपी दिनेश आचार्यको भनाइ छ ।

प्रकाशित : वैशाख १८, २०७८ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×