१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आइसोलेसन निर्माणमा जुटे स्थानीय तह

लिला श्रेष्ठ

भक्तपुर — कोरोना भाइरसको दोस्रो लहरले समुदायमा महामारीको रूप लिएपछि स्थानीय तह आइसोलेसन व्यवस्थापनमा जुटेका छन् ।

आइसोलेसन निर्माणमा जुटे स्थानीय तह

चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरपालिकाले नेपाल इन्जिनियरिङ कलेज दुवाकोटमा १ सय शय्याको आइसोलेसन केन्द्र व्यवस्थापन गरेको छ । नगरपालिकाले बिहीबार चाँगुनारायण अस्पताललाई ‘कोभिड अस्पताल’ का रूपमा सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

हाल १७ शय्याको चाँगुनारायण अस्पताललाई ३० शय्यासम्म वृद्धि गर्ने र नगरपालिकाले कोभिड विशेष शव वाहन, एम्बुलेन्स सञ्चालनलाई निरन्तरता दिएको जनाएको छ । होम आइसोलेसनमा बस्न सक्ने वातावरण नभएका कोरोना संक्रमितका लागि आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख मिश्रले बताए ।

कोभिड–१९ संक्रमण न्यूनीकरण प्रयासका क्रममा भक्तपुर नगरपालिकाले बिहीबारदेखि सामान्य संक्रमितहरूका लागि ५० शय्याको आइसोलेसन केन्द्र र जटिल बिरामीहरूको उपचारका लागि २५ शय्याको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा ल्याएको छ ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकाले पीसीआर ल्याब सञ्चालनलाई निरन्तरता दिँदै ७ भेन्टिलेटरसहित ९ शय्याको आईसीयू, १४ शय्याको एचडीयू, अक्सिजन प्लान्ट, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शय्याको आइसोलेसन सुचारु गरेको छ । यसअघि कोरोनाको पहिलो लहरको महामारीमा नगरपालिकाले सोही केन्द्रमा ५० शय्याको आइसोलेसन सञ्चालन गरेको थियो । कोरोनाको नयाँ भेरियन्ट पहिलेको तुलनामा कडा र बढी संक्रामक भएका र जटिल तथा गम्भीर प्रकृतिका बिरामीको संख्या बढेकाले एचडीयूसहितको आइसोलेसन शय्या बढाएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

भक्तपुर अस्पतालले २५ शय्याको हाइकेयर युनिटसहित ६८ शय्याको आइसोलेसन कक्ष सञ्चालन सुरु गरेको छ । अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार आइसोलेसन कक्षमा ६ शय्याको आईसीयू, २५ शय्याको हाइकेयर र ३७ शय्याको जनरल युनिट रहन्छ । हाल अस्पतालको आइसोलेसनमा ३० संक्रमित छन्, जसमध्ये ४ जना आईसीयू उपचाररत छन् । आवश्यकताअनुसार अस्थायी संरचना निर्माण गरेर आइसोलेसन कक्षको संख्या बढाउन सकिने उनले बताइन् ।

कोरोना कहरकै अवधिमा प्रदेश अस्पतालहरूमा उत्कृष्ट अस्पताल बनेको भक्तपुर अस्पताल २ सय शय्या क्षमतामा विस्तार गर्ने लक्ष्य छ । अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. अनुसार चालु आर्थिक वर्षभित्र ७५ शय्याको अस्पताललाई २ सय शय्यामा विस्तार गर्ने तयारी छ ।

‘श्री चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट १९६१ मा स्थापित १५ शय्याको अस्पताल २०६० देखि ७५ शय्या सञ्चालित छ । दिन प्रतिदिन बिरामीको चाप बढ्दै गएकाले अस्पताल प्रशासनले २ सय शय्या क्षमता विस्तारको तयारी थालेको जनाएको छ । अस्पताल सञ्चालनको १ सय १६ वर्षपछि भक्तपुर अस्पतालमा आईसीयू सेवा दिन सुरु भएको छ । कोभिड–१९ संक्रमण महामारीकै अवधिमा ६ वटा भेन्टिलेटरसहित आईसीयू सेवा सञ्चालन गर्न सुरु भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौतमले बताइन् ।

वाग्मती प्रदेशद्वारा सञ्चालित भक्तपुर अस्पतालमा ७५ शय्याको एचडीयू, बालबालिकाका लागि ६ शय्याको एनआईसीयू सञ्चालन तथा ल्याप्रोस्कोपी, सिस्टेस्कोपी, हिस्टेस्कोपी, अर्थोस्कोपी, इन्डोस्कोपीलगायत सेवा विस्तारको तयारी रहेको जनाएको छ । नाक/कान/घाँटी, मुटु रोगको ओपीडी सेवा र मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई परिमार्जनसहित सञ्चालनमा ल्याउने डा. गौतमले बताइन् ।

प्रकाशित : वैशाख १७, २०७८ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?