३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सडकैपिच्छे ज्यानमारा खाल्डाखुल्डी

सडकको नाजुक अवस्थाले पछिल्लो ५ वर्षमा १२७ वटा दुर्घटना 
विद्या राई

काठमाडौँ — डेढ महिनाअघि गौशालादेखि तिलगंगातर्फ जाँदै गर्दा सडकको खाल्डामा परी सुकेधाराका विद्वान राई दुर्घटनामा परे । स्कुटर पछाडि बसेका साथी र उनी देब्रेतर्फ सडकमा बजारिए । ‘केही ओरालो परेको बाटोमा खाल्डा छल्दाछल्दै झ्याप्पै त्यहीं लडियो,’ उनले भने, ‘मेन रोडमा धन्न पछाडिबाट अरू गाडी परेनन् र बाँचियो ।’ 

सडकैपिच्छे ज्यानमारा खाल्डाखुल्डी

सडक खाल्डाखुल्डीमा परेर सवारी दुर्घटनामा पर्ने उनी प्रतिनिधि पात्र मात्रै हुन् । सडकैपिच्छे सानाठूला खाल्डाखुल्डीले दैनिकजसो सवारी दुर्घटनाको जोखिम हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारी बताउँछन् । ‘पहिलेभन्दा खाल्डाखुल्डी धेरै कम भएका त छन्, तर नयाँ पनि थपिँदै छन्,’ उनले भने, ‘जसलाई पनि खाल्डा छलेरै अघि बढूँ भन्ने हुन्छ । स्पिडमा सवारी चालकले टाढाबाट खाल्डा देख्दैनन्, नजिकै आइपुगेपछि ब्रेक लगाउँदा पछाडिबाट आइरहेकाले अर्को सवारीले ठक्कर दिन्छ ।’ ट्राफिक महाशाखा तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा सडकको नाजुक अवस्थाकै कारण काठमाडौं, ललितपुर र भक्तपुरका सडकमा एक सय २७ वटा दुर्घटना भएका छन् ।

यातायात विज्ञ आशिष गजुरेलले पछिल्लो समय धेरैजसो खाल्डाखुल्डी पुरिइसकेको भए पनि दुर्घटनाको जोखिम अझै रहेको बताउँछन् । ‘खानेपानीको लाइन पुरानो छ, भित्र लिंक भइदिन्छ । खन्दा खाल्डाखुल्डी हुन्छ । वर्षात्मा पानी जमेर, समयमै मर्मतसम्भार नगर्दा दुर्घटनाका स्रोत हुन्,’ उनले भने । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले खाल्डाखुल्डी पुर्दै गए पनि नयाँ थपिँदै गएकाले काम नदेखिएको बताए । ‘हामीले मर्मत गरिसकेका थियौं, मेलम्चीको खानेपानीले गर्दा फेरि खाल्डाखुल्डी बन्न सुरु भयो,’ उनले भने । उनका अनुसार उपत्यकामा विभागको कार्यक्षेत्रभित्र पर्ने दुई सय ५० किमि मुख्य सडकमा दैनिक १० ठाउँ सडक खनिन्छ । महिनामा तीन सय खाल्डाखुल्डी थपिन्छन् । यसबाहेक स्थानीय सरकारको मातहत र करिडोरहरूमा खाल्डाखुल्डी गनिसाध्य छैनन् ।

सडकमा मात्रै होइन फुटपाथमा समेत खाल्डाखुल्डीका समस्या छन् । पैदलयात्रीहरूलाई हिँडडुल गर्न समस्या हुन्छ । विशेषगरी अपांगता भएका व्यक्तिहरू अनाहकमा सास्ती खेप्न बाध्य छन् । दृष्टिविहीन व्यक्तिलाई खाल्डाखुल्डी भएको ठाउँ पहिचान गर्नै गाह्रो हुन्छ । कालीमाटी बस्ने दृष्टिविहीन शिव अग्रवाल फुटपाथमा हिँड्ने क्रममा खाल्डामा परे । झन्डै ६ फिट गहिरो खाल्डामा परेका उनको देब्र हात भाँचियो । ‘बिहान सहजै हिँडेर गएको बाटो बेलुकी फर्कंदा ज्यानमारा खाल्डा बनिसकेका हुँदा रहेछन् । पहिल्यैदेखिको खाल्डो भए यहाँनेर छ है भनेर सचेत भइन्थ्यो, सानोतिनो खाल्डामा दिनदिनै परिरहिन्छ, निकै गाह्रो छ,’ उनले भने ।

चाबहिल, गौशाला, कपन, सुकेधारा, चक्रपथ, महाराजगन्ज, कलंकी, टेकु, माइतीघर, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुनेलगायत मुख्य सडकहरूमै सानाठूला थुप्रै खाल्डाखुल्डी छन् । करिडोर, भित्री सडकहरूमा उस्तै समस्या छ । आँखाले देखे पनि शरीरले थेग्न नसकेपछि खाल्डाखुल्डीमा हिँडडुल गर्न समस्या हुने गरेको शारीरिक अपांगता भएकी मन्डिखाटार बस्ने देवु पराजुलीले सुनाइन् । पोलियोका कारण उनको दायाँ खुट्टा कमजोर छ । हिँडडुल गर्न सहायताका लागि क्यालिपर प्रयोग गर्नुपर्छ । राष्ट्रिय अपांग महासंघकी केन्द्रीय सदस्य उनी भृकुटीमण्डपस्थित कार्यालय धाउँदा चारपांग्रे बनाइएको स्कुटर चलाउँछिन् । खाल्डाखुल्डीले गर्दा दायाँबायाँ मोड्न गाह्रो हुन्छ । सन्तुलन बिग्रेर लड्ने डर उत्तिकै हुन्छ । ‘हेर्दा कालोपत्रे नै गरेको देखिए पनि जताततै सानाठूला खाल्डाखुल्डी छन् । पेलेर आउने सवारीसाधनसँग जोगिएर नहिँडे त ज्यानै जोखिममा पर्छ,’ उनले भनिन् ।

कतिपय ठाउँमा त सडकमै ढल व्यवस्थापन गरिएको हुन्छ । सडक सतहभन्दा तलमाथि गरेर बनाइने मंगालले पनि दुर्घटनाको जोखिम बढाएको हुन्छ । ‘एक तमास गइरहेका बेला त्यही ढलमाथि ठोक्किएर पनि दुर्घटना हुने गर्छ,’ शंखमूल बस्ने मीना तामाङले बताइन् । सडक र फुटपाथलाई मैत्रीपुर्ण र खाल्डारहित बनाउन सडक विभाग र सम्बन्धित निकायले निरन्तर मर्मत गर्नुपर्ने यातायात विज्ञ गजुरेल बताउँछन् । ‘खाल्डा सानो हुँदै पुरिहाल्नुपर्‍यो । यो काम नियमित गर्ने हो भने सडकमा खाल्डाखुल्डीको सास्ती नै हुँदैन ।’ सडक विभागका महानिर्देशक थापाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग कार्यदल नै गठन गरेर सडक मर्मत गर्न र मेलम्चीको काम सक्नेबित्तिकै खाल्डाखुल्डी पुर्ने कार्य तुरुन्तै गर्न लगाएको बताए ।

प्रकाशित : वैशाख १३, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?