३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बालकुमारी जात्रा सुरु

प्रशान्त माली

ललितपुर — सुनाकोठीमा महादेवको प्रतीकका रूपमा आइतबार ६४ हात अग्लो लिंगो ठड्याएसँगै बालकुमारी जात्रा सुरु भएको छ । जात्रा चैत शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म तीन दिन मनाइन्छ । पहिलो दिन गुठीघरका देवतालाई पूजा गरेर ‘छ्योला बू’ भनी उत्सव मनाइएको छ ।

बालकुमारी जात्रा सुरु

ऐतिहासिक लिंगो ठड्याउँदा गुठियारहरूले बालकुमारी मन्दिर प्रांगणमा बसेर इन्द्र बाजा बजाएर स्वागत गरेका थिए । लिंगोको टुप्पोमा पञ्चरत्न कपडा, राष्ट्रिय झन्डा, कुसी स्वाँ (एक प्रकारको फूल) र कागती राखिएको छ । टुप्पोदेखि तल फेदसम्म नागको प्रतीकका रूपमा विभिन्न देवीदेवताको चित्र अंकित हल पता (प्राचीन थांका) ले सजाइएको छ ।

इन्द्र बाजा खलक काशीलाल महर्जनले जात्रा स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य नीति मापदण्ड पालना गरेर मनाइने बताए । जात्राका अवसरमा भृगारेश्वर महादेव मन्दिर परिसर रहेको १२ फिट अग्लो एउटै ढुंगाबाट निर्मित त्रिशूलमा बहुमूल्य हीरामोती र सुनका पाताले सजाइएको छ । दोस्रो दिन सोमबार गणेश, बालकुमारी, कुमार र महादेवको मूर्तिलाई साँझ छुट्टाछुट्टै शिखर शैलीको खटमा राखी जात्रा गरिन्छ । बेलुका गुठियारहरूले बालकुमारीको खटलाई पीठमा लैजान्छन् ।

अन्तिम दिन बालकुमारीको खटलाई गणेश, कुमार र महादेवको खटले परिक्रमा गराइन्छ । पूर्णिमाको दिन लिंगो ढालिन्छ । ढलेको लिंगोको टुप्पोमा राखिएको कागती प्राप्त गर्नेलाई सन्तान लाभ हुने जनविश्वास छ ।

प्रकाशित : वैशाख १३, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?