१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फुटपाथमा मनपरी पार्किङ

नियम उल्लंघन गर्नेलाई छैन कारबाही, पैदलयात्रु सडकबाटै हिँड्न बाध्य, दुर्घटनाको जोखिम बढ्दो
विद्या राई

काठमाडौँ — दृश्य एक : बुधबार ११:३० बजे
नयाँ बानेश्वरको निजामती कर्मचारी अस्पतालभित्र अन्दाजी दुई सय सेवाग्राहीको लाइन । अस्पताल गेट र आसपासदेखि मीनभवन कलेज जाने गल्लीसम्मको फुटपाथभरि १३७ थान बाइक र स्कुटर पार्किङ । पाँच थान मात्रै ट्याक्सी पार्किङ गर्न तोकिएको सडक छेउमा लहरै २३ थान ट्याक्सी र निजी गाडीहरूको पार्किङ ।

फुटपाथमा मनपरी पार्किङ

सवारीधनीलाई एकपछि अर्को पार्किङ गरिएका बाइक र स्कुटरको बीचबाट आफ्नो सवारी निकाल्न हम्मे–हम्मे परिरहेको थियो । फुटपाथ ढाकेरै पार्किङ गरिएको हुँदा पैदलयात्रीहरू चेपिएर हिँडिरहेका थिए ।

दृश्य दुई : १२:१२ बजे 

बुद्धनगर जाने बाटो अल्फाबेटा हाउस अगाडि फुटपाथ ३५ थान बाइक र स्कुटर पार्किङ गरेर ढाकिएको थियो । पैदलयात्रीहरू फुटपाथ नपाएर सडकबाटै हिँडिरहेका देखिन्थे । सार्वजनिक सवारी हुइँकिएर आउँदा अत्तालिएर बाइक र स्कुटरमा ठोक्किने गरी फुटपाथपट्टि लाग्थे ।

दृश्य तीन : १२:२० बजे

एक यात्रुवाहक बस र टिपर बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडिको फुटपाथमै पार्किङ गरिएको थियो । त्यसमाथि ७८ थान बाइक र स्कुटर खचाखच पार्किङ । फुटपाथमा ठाउँ नपुगेपछि पार्किङ निषेध भनी ट्राफिक चिह्न टाँसिएका बिजुली खम्बानेर सडक ओगटेर पाँच थान गाडी र ट्याक्सी पार्किङ गरिएका थिए । अदालतको फुटपाथमा नअटेका ९१ बाइक र स्कुटर ठाउँ–ठाउँ राखिएका फलैंचा जाने बाटो नै बन्द हुने गरी नागरिक उड्डयन प्राधिकरण हुँदै सडक कार्यालयसम्मको फुटपाथमा पार्किङ गरिएका ।

माथिका यी प्रतिनिधिमूलक दृश्यले काठमाडौंका फुटपाथमै सवारी पार्किङ गरिँदाका सास्तीलाई उजागर गर्छन् । पैदलयात्रीहरूले यात्रा गर्दाका असहजता, जोखिम तथा फुटपाथमै पार्किङ गर्नुपर्ने बाध्यतालाई समेत प्रस्ट पार्छन् । बुधबार मध्याह्न साढे ११ बजेदेखि साढे १२ बजेसम्म स्थलगत रिपोर्टिङमा पुग्दा कोटेश्वर–माइतीघर सडक खण्डको नयाँ बानेश्वर, बुद्धनगर र बबरमहल क्षेत्रमा बाइक र स्कुटर ५५६ थान तथा टिपर, यात्रुवाहक बससहित ट्याक्सी र निजी गाडीहरू ३८ थान फुटपाथमा पार्किङ गरिएको थियो ।

‘अस्पतालको यति ठूलो कम्पाउन्ड छ, छुट्टै पार्किङ भए हुन्थ्यो, हाम्रो पनि बाध्यता छ, पार्किङ नभएपछि पेटीमै हाल्नुपर्छ,’ निजामती अस्पतालका सेवाग्राही पुरानोठिमीका सुवरत्न कार्कीले भने, ‘त्यसमाथि एकपछि अर्को पार्किङ गरिएको हुन्छ, निकाल्न असहज हुन्छ, हेल्मेट, सवारी सुरक्षित हुँदैनन् ।’ काठमाडौं जिल्ला अदालत परिसरमा भेटिएका सेवाग्राही कपनका गोपाल पौडेलले पनि उही समस्या सुनाए ।

फुटपाथ पार्किङले ओगटेपछि पैदलयात्रीहरूलाई यात्रा गर्न झनै जोखिम छ । दृष्टिसम्बन्धी अपांगता भएका युवराज लामा पैदलयात्रा गर्दा जहिल्यै फुटपाथमा पार्किङ गरिएका सवारीमा ठोक्किन्छन् । ‘आँखा देख्ने भएपो यहाँनेर पार्किङ छ भनेर थाहा पाइन्थ्यो, छलेर, चेपिएर भए पनि हिँडिन्थ्यो होला, आँखै नदेख्ने भएपछि सबैतिर उस्तै लाग्छ, हिँड्दाहिँड्दै ठोक्किइन्छ,’ उनले भने ।

सडकहरू पैदलयात्रीमैत्री नहुँदा यस्तो समस्या भएको दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरूका लागि अधिकारकर्मी पर्वत बिष्टले बताए । ‘ठूला गाडी रोकेको छ भने त सेतो छडीले पनि भेट्दैन, बीचमा खाली हुन्छ नि त, सुइँसुइँ जाँदा झ्याम्मै निधार ठोकिन्छ, टेकटायल पार्किङले ढाकेको हुन्छ, फुटपाथ छोडेर सडकमै जोखिमपूर्ण यात्रा नगरे विकल्पै छैन,’ उनले भने । टेकटायल दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरूलाई पैदलयात्राका लागि बाटो पहिल्याउन सहजताका लागि बिछ्याइने विशेष प्रकारको टायल हो । दृष्टिसम्बन्धी अपांगता भएका, ह्वीलचियर प्रयोगकर्ताहरूका लागि फुटपाथको पार्किङ मुख्य अवरोध भएको छ । उनीहरूले दैनिक यस्तो समस्या भोग्छन् । अपांगता भएका व्यक्तिहरूको बढी आउजाउ हुने रत्नपार्क, बागबजार, लगनखेल, सुकेधारा, कपन र हाइवेहरूमा यस्तो समस्या रहेको बिष्टले जानकारी दिए ।

नेपाल सडक मापदण्ड २०७० ले पैदलयात्रुको चापअनुसार फुटपाथको चौडाइ निर्धारण गरेको छ । १५ मिनेटभित्र पाँच सय जनासम्म आवतजावत गर्ने फुटपाथमा १.५ मिटर, पाँच सयदेखि १५ सय जना हिँड्ने ठाउँमा २ मिटर, १५ सयदेखि २५ सय जना हिँड्ने ठाउँमा २.५ मिटर र २५ सयदेखि ३५ सय जनासम्मको चाप भए ३ मिटर चौडाइको फुटपाथ बनाउनुपर्ने व्यवस्था छ ।

सडकमा ह्वीलचियर अट्ने गरी १.५ मिटर चौडाइ भएको फुटपाथ निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख छ । तर, अपांगता भएकालाई मात्रै होइन, सामान्य पैदलयात्रुले पनि फुटपाथमा जोखिम व्यहोर्नुपरेको छ । ‘फुटपाथ त हामी पैदलयात्रीका लागि हो नि तर पार्किङले भरिभराउ हुन्छ, बाइक र स्कुटर फुटपाथमै कुदाइदिन्छन्,’ रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौंमा अध्ययनरत सोनी भट्टराईले भनिन्, ‘फुटपाथमै हिँडूँ बाटो छैन, सडक छेउमा हिँडूँ ठूलो गाडी कतिबेला हुइँकिएर आएर किचेर मार्ला भन्ने डर ।’

‘काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ मा जथाभावी पार्किङ गर्नेलाई पहिलो पटकका लागि १ हजार र दोस्रो पटकदेखि प्रत्येक पटक ५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार दैनिक ५०० सानाठूला सवारीसाधन फुटपाथ र सडकमा पार्किङ गरिएकै कारण कारबाहीमा पर्छन् । जरिवाना तिरेपछि सवारीधनीले फिर्ता पाउँछन् ।

तर फुटपाथ र सडकमा पार्किङ गर्ने क्रम रोकिएको छैन । पैदलयात्रीको सास्ती जस्ताको तस्तै छ । ट्राफिक प्रहरी महाशाखा प्रवक्ता अधिकारीले सडक सुविधा, स्रोतसाधन र पहुँचको उपलब्धताअनुसार सहज मान्नुपर्ने बताए । ‘यो साह्रै ठूलो अपराध पनि होइन, कसैले कहाँ पार्किङ गर्ने थाहा पाउँदैनन्, देश सुहाउँदो भेषअनुसार चल्नुपर्‍यो, विदेशमा जस्तो सडक सुविधा छैन, पार्किङ स्थल छैनन्, आफ्नो जागिरका लागि सबैले अधिकारका कुरा गर्छन्,’ उनले भने, ‘उपत्यकामा दैनिक १५ लाख ठूलासाना सवारी गुड्छन्, १२ सय ट्राफिक छन्, ट्राफिक पर्याप्त नभएपछि मुख्य चोकको जाम हेर्ने कि फुटपाथतिरको पार्किङ हेर्ने, भेटेजति हामीले कारबाही गरिरहेका छौं ।’

प्रकाशित : वैशाख ९, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?