हटाइए काठमाडौं प्लाजाका पसल- उपत्यका - कान्तिपुर समाचार

हटाइए काठमाडौं प्लाजाका पसल

कान्तिपुर संवाददाता

काठमाडौँ — सम्झौता अवधि सकिएको झन्डै ९ महिनापछि कन्सेप्ट डेभलेपमेन्ट प्रालिले काठमाडौं प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत असारमा सम्झौता अवधि सकिएको र सोही कम्पनीसँग नयाँ सम्झौता नभएपछि कम्पनीले विभिन्न कारण देखाएर भवन खाली गराउन ढिलाइ गरिरहेको थियो ।

लामो समयदेखि बहालमा रहेको काठमाडौं महानगरपालिकालाई उक्त भवन नयाँ दरअनुसार भाडामा दिइने गत वर्ष नै सरकारले निर्णय गरिसकेको छ । महानगरपालिकालाई एउटै भवनमा सबै कार्यालय हुँदा आफ्ना काम अघि बढाउन सजिलो हुने अपेक्षा गरिएको छ । झन्डै पाँच वर्षदेखि महानगर पूरै बहालको घरमा छ ।

२०५० सालमा राजदरबार सम्पत्ति व्यवस्था विभागले प्लाजालाई २७ वर्षका लागि कम्पनीलाई भाडामा दिन सम्झौता गरेको थियो । नेपालमा अन्तरिम संविधान लागू भएसँगै २०६४ मा नेपाल ट्रस्टको कार्यालय स्थापना भएर विभागअन्तर्गत सम्पत्ति ट्रस्टमा गएको थियो । त्यसैका आधारमा काठमाडौं प्लाजाको सम्पत्ति २०६५ मा नै ट्रस्टअन्तर्गत भएको थियो । ट्रस्टले पनि २०७७ असारसम्मका लागि सम्झौतालाई निरन्तरता दिएको ट्रस्टका प्रवक्ता तुलसी गौतमले बताए ।

उनका अनुसार विभागको सम्झौता ट्रस्टले त्यतिबेला नवीकरण गरेको थियो । उक्त अवधि गत असार २ गतेसम्म रहेको थियो । ट्रस्टले गत वर्ष नै अवधि पुगेको भन्दै नयाँ मूल्य दिन सूचना जारी गरेपछि कम्पनीले पुरानो दरमा नै गर्न माग गरेको थियो ।

उपप्रधानमन्त्री तथा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षताको सञ्चालक समितिले पुरानो मूल्यमा दिन नसकिने भन्दै पुनः नयाँ मूल्यका बारेमा सोच्न कम्पनीलाई भनेको ट्रस्टले जनाएको छ । ‘कम्पनीले नयाँ भाडा दरमा नजाने भनेपछि नै उसलाई खाली गर्न भनिएको थियो,’ उनले भने ।

प्रकाशित : वैशाख ८, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

कोभिडको जोखिमसित नजिस्कौं

सम्पादकीय

पछिल्ला तथ्यांक र परिदृश्यहरूले भन्दै छन्— कोभिड–१९ को महामारीले फेरि भयावह रूप लिँदै छ । स्थितिलाई कुन हदसम्म डरलाग्दो चरणमा पुग्न दिने या रोकथाम तथा नियन्त्रणका लागि सम्भव भएसम्मका प्रयास गर्ने भन्नेचाहिँ सरकारको अग्रसरता र नागरिकको सतर्कता दुवैमा भर पर्छ ।

छिमेकी भारतका कतिपय प्रान्तहरूमा जस्तो स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था नेपालमा आउन नदिन यतिबेला सबैको सत्प्रयास चाहिएको छ । नागरिक अटेरी र गैरजिम्मेवार अनि सरकार अनुत्तरदायी र अक्षम भैरहुन्जेल कोरोनाले कसैलाई टेर्ने छैन । त्यसैले परिस्थितिलाई थप बिग्रन नदिन सम्बन्धित सबैले आ–आफ्नो दायित्व पूरा गर्नैपर्छ ।

केही सातायता कोभिड–१९ बाट संक्रमित र सिकिस्त बिरामी हुने दर तीव्र रूपमा बढिरहेको छ । करिब एक महिनायता मात्रै दैनिक संक्रमितको संख्या ५० गुणाले बढिसकेको छ । गत चैत १ गते ५३ जना नयाँ संक्रमित थपिएका थिए भने सोमबार यो संख्या १ हजार २ सय ८१ पुगेको छ । परीक्षण गर्नेमध्ये करिब १९ प्रतिशतमा संक्रमण पाइएको छ । यो फगत तथ्यांक होइन, हामी सचेत भएनौं भने त्रासदीपूर्ण भविष्यको संकेत पनि हो । यो हामी सबैलाई सजग गराउनका लागि बजेको खतराको घण्टी हो । संक्रमितको संख्या दैनिक हजारबाट उक्लिँदै गर्दा त अस्पताल चहार्दा–चहार्दै बिरामीको ज्यान जाने अवस्था आइसकेको छ । हामीले थप लत्तो छाड्दै गयौं भने कस्तो स्थिति आउला भन्ने अन्दाज अहिल्यै गरेर सम्बन्धित सबै पूर्ण जिम्मेवार बन्नुपर्छ ।

अहिलेको स्थितिमा सर्वोत्तम उपाय भनेकै स्वास्थ्य मापदण्डहरू पालना गरी संक्रमणबाट जोगिनु हो । यसका निम्ति मन्त्रिपरिषद्को सोमबारको बैठकले जनस्वास्थ्य मापदण्ड पालना र सेवा सञ्चालनसम्बन्धी सर्तहरू निर्धारण पनि गरेको छ । सबै तह र तप्काबाट यी सर्तहरूको पालना हुनु अपरिहार्य छ । खासगरी, सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाउने मापदण्ड सर्वसाधारणका लागि मात्रै हो जस्तो गरिनुहुन्न । विभिन्न तहका राज्य–अधिकारीदेखि राजनीतिक दलका नेताहरूसम्मले पनि यो आदेशलाई मान्नुपर्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित सत्तारूढ एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक होस् या मंगलबार गरिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति पूजा कार्यक्रम, कुनैमा पनि यो मापदण्डको पालना गरिएको थिएन । जनमानसमा यसको सही सन्देश गएको छैन । अगुवाहरूले नै बाटो बिराएपछि अरूलाई नियम मान्न लगाउन मुस्किल पर्छ भन्ने यथार्थ सम्बन्धित सबैले ख्याल गर्नुपर्छ । फेरि पनि के चाहिँ भुल्नु हुँदैन भने जोगिने भनेको आफैं हो । अरू कसैले मापदण्ड पालना गरेनन् भन्दैमा आफूले पनि नियम नमान्ने गल्ती कसैले गर्नु हुँदैन ।

अहिले सहरी क्षेत्रमा वैशाख मसान्तसम्मका लागि विद्यालयहरू बन्द गरिएका छन्, होटल तथा रेस्टुरेन्टलाई समयसीमा तोकिएको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिमखाना, स्विमिङ पुललगायत भीडभाड हुने ठाउँलाई वैशाखभर बन्द गरिएको छ । धार्मिकस्थलमा वैशाख मसान्तसम्म नित्य पूजा मात्रै गर्न/गराउन आदेश दिइएको छ । यी सबैको उद्देश्य अनावश्यक भीडभाड हुन नदिनु हो, यो पक्षलाई सबैले हेक्का राख्नुपर्छ । सरकारले सार्वजनिक यातायात तथा हवाई यातायातका यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने र सेनिटाइजर प्रयोग गर्नुपर्ने भनेको छ । वास्तवमा, घरबाहिर निस्किएका हरेकले नै मास्क लगाउने, बेलाबेलामा सेनिटाइजर प्रयोग गर्ने र एकअर्काबीच दूरी कायम राख्नुपर्ने मापदण्डको अनिवार्य पालना गर्नुपर्छ । संक्रमणको जोखिम निकै बढेकाले कसैले पनि कुनै कुरामा हेलचेक्र्याइँ गर्नु हुन्न ।

देशभित्र फैलिसकेको संक्रमणको साङलो चुँडाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको दायरा फराकिलो र प्रभावकारी बनाउनुपर्छ । र, भारतबाट संक्रमण बोकेर आउनेले समुदायमा नसारून् भन्ने पक्षमा पनि त्यत्तिकै ध्यान दिइनुपर्छ । यसका निम्ति त्यताबाट आउने सबैले निश्चित दिनसम्म आफूलाई ‘क्वारेन्टिन’ मा राख्नैपर्छ । सरकारले पनि नाकाहरूमा पर्याप्त जनशक्ति खटाई नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षणलगायतका व्यवस्थापनलाई चुस्त बनाउनुपर्छ । भारतको सीमानाकामा पायक पर्ने स्थानमा कम्तीमा एक हजार जनासम्मका लागि होल्डिङ सेन्टर बनाउने सरकारी निर्णयको अविलम्ब कार्यान्वयन हुनुपर्छ । बाहिरबाट आएको व्यक्ति निश्चित अवधिसम्म वा परीक्षणबाट संक्रमित नभएको पुष्टि नहुँदासम्म अलग्गै बसे–नबसेको निगरानी सम्बन्धित वडा तहहरूले अनिवार्य रूपमा गर्नुपर्छ ।

अर्को पक्ष, जनशक्ति र पूर्वाधार व्यवस्थापन अभावमा उपचार नपाई बिरामीको ज्यान जाने अवस्था कसैगरी निम्तिन दिनु हुँदैन । अहिले देखिन थालिसकेको अस्पतालले भर्ना लिन नमानेर उपचार नपाई ज्यान गुमाउनुपर्ने अवस्थाप्रति स्वास्थ्य मन्त्रालय गम्भीर हुनुपर्छ । बिरामीलाई भर्ना लिएर उपचार गर्नुपर्ने पेसागत दायित्वबाट भाग्ने छुट अस्पतालहरूलाई मिल्नु हुँदैन । अन्यत्र ‘रिफर’ गर्नुपर्ने बिरामीका हकमा पनि सोहीअनुसारको व्यवस्था मिलाइनुपर्छ । आफ्नो दायित्वबाट भाग्ने अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले कारबाही गर्नुपर्छ । यो पाटोमा ध्यान नदिने हो भने भोलि संक्रमितको संख्या अकासिँदै जाँदा पहुँचविहीन सिकिस्त बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ । मुलुकलाई त्यो बाटोमा हिँडाउनु हुन्न । र, सरकारले अस्पतालहरूका सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन र जनशक्तिको समुचित व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ ।

सबैले के ख्याल राख्नुपर्छ भने महामारीले भयावह रूप लिने भनेकै सरकारी अकर्मण्यता र नागरिकको लापरबाहीका कारणले मात्रै हो । त्यसैले स्थितिलाई धेरै बिग्रन नदिई नियन्त्रणमै राखिराख्न आ–आफ्नो स्थानबाट सबैको उचित प्रयत्नको खाँचो छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×