कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मेलम्चीको १७ करोड लिटर उपत्यकामा

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाले दैनिक १७ करोड लिटर पानी वितरण सुरु गरेको छ । गत १५ चैतमा साढे ४ करोड लिटरबाट वितरण सुरु गरेको आयोजनाले सोमबारदेखि पूर्ण क्षमतामा पानी दिन थालेको हो ।

मेलम्चीको १७ करोड लिटर उपत्यकामा

पूरै पानी छोड्दा खासै समस्या नभएको आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए । ‘अब समस्या छैन, पूरै पानी आपूर्ति गर्छौं,’ उनले भने । मीनभवन, खुमलटार, अनामनगर, बालाजु, महाराजगन्ज, बाँसबारी र महाकाललगायतका वितरण केन्द्रमार्फत अहिले पानी वितरण भइरहेको उनले बताए ।

खत्रीका अनुसार भक्तपुर, कीर्तिपुरलगायत क्षेत्रमा पनि केही दिनभित्रै पानी वितरण गर्न लागिएको छ । ‘पाइप सफा गर्दै छौं,’ उनले भने, ‘अब पोखरीमा पानी हालेर वितरण सुरु हुन्छ ।’ आयोजनाले गत फागुनमा परीक्षणका लागि सुरुङमा पानी पठाएको थियो । त्यसपछि सुन्दरीजलसम्म पानी आइपुगेको थियो । हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पुरानै वितरण प्रणालीबाट पानी वितरण गर्दै आएको छ । अनामनगरमा भने नयाँ पाइपबाट पानी दिइएको छ । करिब ७ सयभन्दा बढी नयाँ धाराबाट अनामनगर क्षेत्रका उपभोक्ताले पानी पाएको केयूकेएलले जनाएको छ ।

केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले १ लाख ५१ हजार ग्राहकको घरमा पानी वितरण भरहेको बताए । काठमाडौंका केही स्थानमा वितरणमा आएको समस्या छिटै समाधान हुने उनको भनाइ छ । ‘महाराजगन्ज, चुनदेवीलगायतका क्षेत्रमा पानी नआएको गुनासो छ,’ उनले भने, ‘टोली नै खटाएर समाधान गर्दै छौं ।’ पहिलेको वितरण प्रणाली धेरै पुरानो हुँदा समस्या आएको उनले बताए ।


प्रकाशित : वैशाख ७, २०७८ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?