कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विद्यालय बन्द गराउँदै स्थानीय तह

सीमा तामाङ

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिपछि स्थानीय तहले विद्यालय बन्दबारे निर्णय गर्न थालेका छन् ।

विद्यालय बन्द गराउँदै स्थानीय तह

मन्त्रालयले कोभिड–१९ संक्रमण फैलिए विद्यालय बन्द वा खुला राख्ने निर्णय सम्बन्धित स्थानीय तहले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा गर्न सक्ने जनाएको थियो । सोही निर्णयअनुरूप काठमाडौं जिल्लाका विभिन्न नगरपालिकाले विद्यालय बन्दको निर्णय गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाले वैशाख ३ गते शिक्षक/विद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ । संक्रमण देखिएका विद्यालयमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्‍चालन गर्न पनि निर्देशन दिइसकेको महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए । ‘विद्यार्थी/शिक्षकमा संक्रमण देखिएको अवस्थामा तत्काल विद्यालय बन्द गर्ने र महानगरलाई जानकारी गराउनुपर्नेछ,’ उनले भने, ‘विद्यालयमा संक्रमण देखिएको खण्डमा संक्रमितको स्वाब संकलन गर्नसमेत महानगरले भ्यान पठाउनेछ ।’

टोखा नगरपालिकाले यही वैशाख ९ गतेदेखि एक साता विद्यालय बन्द गर्ने जनाएको छ । नगरपालिकाले दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले आइतबारदेखि ४ दिन परीक्षाका लागि तयारी, वैकल्पिक विधिको कक्षा तथा परीक्षाका लागि तयार गर्न विद्यालय खोलिने जानकारी दिए । ‘आजदेखि ४ दिनसम्म हरेक विद्यालयले बाँकी अवधिको कार्ययोजना तयार गर्नेछन्,’ उनले भने, ‘१६ गतेदेखि मात्र भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।’ सरकारले विद्यालयको हकमा स्थानीय तह आफैंले निर्णय गर्ने अधिकार दिएकोले टोखामा आपत्कालीन अवस्था सिर्जना नभएको खण्डमा १६ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरिने उनले बताए ।

शंखरापुर नगरपालिकाले हालसम्म कुनै निर्णय नगरेको जनाएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बौधराज निरौलाले कुनै समस्या नदेखिएकाले निर्णय गरिनसकेको बताए । ‘आपत्कालीन अवस्था सिर्जना भएमा विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने योजना छ,’ उनले भने । सोमबार बैठक बस्ने भएकाले हालसम्म कुनै निर्णय नलिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्यायले बताए । ‘महानगरसँग जोडिएको हुनाले महानगरले जे निर्णय गर्छ, हामीले पनि त्यही गर्नुपर्ने हुन्छ,’ उनले भने । उपाध्यायले वार्षिक परीक्षा अगाडि सारेर यो शैक्षिक सत्र अन्त्य गर्ने सोचाइमा रहेको जनाए । नगरपालिकामा सामुदायिक विद्यालय १९ र संस्थागत विद्यालय १ सय १५ वटा छन् ।

तारकेश्वर नगरपालिकाले उच्च सतर्कताका साथ विद्यालय सञ्चालन गरिरहेको जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले पूर्वप्राथमिक तह (मन्टेश्वरी/ईसीडी कक्षा) ७ गतेदेखि १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । आधारभूत तथा माध्यमिक तहका विद्यालय भने अभिभावकको सहमतिअनुसार विद्यार्थी संख्याका आधारमा सिफ्टमा सञ्चालन गराउने नगरपालिकाका शिक्षा शाखाका प्रमुख गोविन्द शर्माले बताए । ‘विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्नुपर्नेछ,’ उनले भने, ‘सिफ्टमा कक्षा सञ्चालन गर्दा पनि ४ घण्टाभन्दा बढी पाइने छैन ।’

प्रकाशित : वैशाख ६, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?