२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नब्बे सालमा भत्केका मन्दिर अझै ठडिएनन्

कति मन्दिर थिए, कति पुनर्निर्माण भए भन्ने अभिलेख नै छैन । समयमा पुनर्निर्माण नहुँदा कतिपय सम्पदा लोप भइसकेका छन् ।
प्रशान्त माली

काठमाडौँ — ललितपुरका ८२ वर्षीय अनन्तकान्त आचार्य राजोपाध्यायले पाटन दरबार क्षेत्र मूलचोकस्थित मनमानेश्वरी देवीको मन्दिरमा दैनिक पूजापाठ नगरेकै तीन दशक बित्यो ।

नब्बे सालमा भत्केका मन्दिर अझै ठडिएनन्

लिच्छवि राजा मानदेवको इष्टदेवताको मन्दिर १९९० सालको महाभूकम्पमा भत्किएपछि मूर्ति दरबारकै मू छेँ (आँगम घर) मा सारियो । झन्डै ३० वर्षअघि आँगम घरबाटै मूर्ति चोरिएपछि मनमानेश्वरीको पूजा नै रोकियो । त्यतिबेला मन्दिर बनाउन धेरै पहल गरे पनि हालसम्म पुनर्निर्माण हुन नसकेको राजोपाध्याय बताउँछन् ।

१९९० मा भत्केको बहादुर शाह भवनको उत्तरपट्टिको लिच्छविकालीन मू छेँ पनि पुनर्निर्माण हुन सकेको छैन । दरबार क्षेत्रकै उमामहेश्वर र भस्मेश्वर मन्दिरको समस्या पनि उस्तै छ । यीबाहेक पाटन सुन्धारामा ध्वस्त बनेको ढुंगाबाट निर्मित ग्रन्थकुट शैलीको उमामहेश्वर मन्दिर, क्वाबहाल टोलको १७ वटा गजुर भएको राधाकृष्ण मन्दिर, स्वठ र सौगलको कृष्ण र शिव मन्दिर पनि पुनर्निर्माण हुन सकेका छैनन् । पुनर्निर्माण नहुँदा हौगः टोलको मन्दिर पनि अस्तव्यस्त अवस्थामा छ ।

युनेस्कोको विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रमा १९९० सालमा भत्केर पुनर्निर्माण हुन नसकेका यी केही सम्पदा हुन् । प्रलयकारी भूकम्पले वसन्तपुर, भक्तपुर दरबार क्षेत्र, बौद्धनाथ र स्वयम्भूनाथ स्तूपामा पनि क्षति पुर्‍यायो । समयमा पुनर्निर्माण नहुँदा कतिपय सम्पदा भने लोप भइसकेका छन् । काठमाडौं उपत्यका संरक्षण ट्रस्ट (केभीपीटी) का नेपाल निर्देशक रोहित रञ्जितकारका अनुसार विसं १९१७ तिर प्रकाशित किताबमा १८९० सालको महाभूकम्पले धेरै मठमन्दिर भत्किएको उल्लेख छ । ‘कति मन्दिर थिए, कति पुनर्निर्माण भए, त्यसको तथ्यांक अहिलेसम्म राख्न सकिएको छैन,’ उनले भने, ‘अन्य ठाउँको भन्दा उपत्यकाका तीन दरबार क्षेत्रको सम्पदामा भएका क्षति पत्ता लगाई पुनर्निर्माणमा सबैले चासो दिनुपर्छ ।’

सन् १८९९ मा अस्ट्रियन फोटोग्राफर कुर्ट बोएकले पाटन दरबार क्षेत्रमा खिचेको तस्बिरमा ढुंगाबाट निर्मित शिखर शैलीको तीनवटा मन्दिर देखिन्छ । ती कृष्ण मन्दिर (च्यासीः देग), शिव मन्दिर र लक्ष्मीनाराण मन्दिर हुन् । अहिले कृष्ण मन्दिर मात्रै छ । शिव मन्दिर गुम्बजमा सीमित छ भने लक्ष्मीनारायणको सिँढीमा पसल राखिएको छ । माथ्लो तला पर्यटकहरू बसेर तस्बिर खिच्ने कौसीको रूपमा परिणत भएको छ । पहिले यी तीनै मन्दिर एकै आकार प्रकारका थिए । १९९० को भूकम्पमा तीनवटै भत्किए । शिव र लक्ष्मीनारायण मन्दिरको सामान जम्मा गरेर च्यासीःदेग मन्दिर मात्र बनाएको रञ्जितकार बताउँछन् । केभीपीटीले १४ वर्षअघि वसन्तपुर क्षेत्रका सातवटा मन्दिर जीर्णोद्धार गरेको थियो । त्यसक्रममा कालभैरवको पूर्वपट्टि नारायण मन्दिरको टुँडाल वरिपरि अन्य मन्दिरको पनि जीर्णोद्धार गरिएको थियो । यसले पनि दरबार क्षेत्रमा त्यतिबेला अन्य मठमन्दिर भएको पुष्टि हुने उनले बताए ।

सम्पदा समयमा पुनर्निर्माण हुन नसक्नुमा सरकारको मात्र नभई स्थानीयवासीको पनि कमजोरी रहेको सरोकारवालाहरू बताउँछन् । ‘ललितपुर महानगरले उपभोक्ताले काम थाल्ने गरी भस्मेश्वर मन्दिर पुनर्निर्माण गर्न २०७६/७७ मा ५० लाख बजेट विनियोजित गरेको थियो,’ मंगल टोल सुधार संघका सचिव रवि दर्शनधारीले भने, ‘हुन त यो बजेट पुनर्निर्माणको हकमा धेरै थोरै हो तर सम्बन्धित टोलबासीले पुनर्निर्माणका लागि समिति गठनमा ध्यान नदिएपछि बजेट फ्रिज भयो ।’ केभीपीटीले उमामहेश्वर पुनर्निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको उनले बताए । मू छेँका लागि ललितपुर महानगरले गत वर्ष छुट्याएको २० लाखबाट भुइँतलासम्मको काम भइसकेको छ । भूकम्पले भत्केका पाटनका मन्दिर मात्र पुनर्निर्माण गर्न अर्बौं बजेटले नपुग्ने दर्शनधारी बताउँछन् ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सबै सम्पदालाई एकैपल्ट समेट्न नसकिने बताए । विभागलाई वार्षिक ५० करोड हाराहारीमा मात्र बजेट आउने भएकाले सबैतिर काम गर्न नसकिने उनको भनाइ छ । सम्पदा समयमा पुनर्निर्माण हुन नसक्दा पर्यटकबाट धानिएका होटल, रेस्टुरेन्ट तथा हस्तकला व्यवसायी प्रत्यक्ष मारमा छन् ।

प्रकाशित : वैशाख ५, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?