१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पाटन अस्पतालमा आईसीयू बेड अभाव

जटिल खालका संक्रमित फर्कंदै,   महँगो शुल्क तिरेर निजीमा उपचार
प्रशान्त माली

ललितपुर — पाटन अस्पतालमा कोभिड–१९ का बिरामी बढ्न थालेपछि आईसीयू बेडको अभाव भएको छ । आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी धमाधम फर्किन बाध्य भएका छन् । 

पाटन अस्पतालमा आईसीयू बेड अभाव

आमालाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भए पनि बेड खाली नभएको भन्दै अस्पतालले भर्ना लिन नमानेको सिन्धुपाल्चोकका चिरञ्जीवी ढुंगानाले बताए । ‘बिहीबार अचानक ज्वरोले थला पर्नुभएको थियो, श्वासप्रश्वासमा पनि समस्या देखापरेपछि पाटन अस्पताल ल्याइयो,’ उनले भने, ‘महँगो खर्च तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएका छौं ।’

धापाखेलका मानबहादुर बस्नेतले पनि यही पीडा भोगे । उनका आमाबुबालाई कोरोना संक्रमण भयो । आमालाई श्वास फेर्न गाह्रो भएपछि उनले पाटन अस्पताल पुर्‍याएका थिए । तर आईसीयू बेड नपाउँदा निजी अस्पतालमा उपचार गराइरहेका छन् । उनको बुबाको भने होम आइसोलेसनमा उपचार भइरहेको छ ।

अस्पतालमा भेन्टिलेटर १७ र आईसीयू बेड २१ वटा छन् । कोभिड–१९ को दोस्रो लहर चल्न थालेपछि संक्रमितको संख्या प्रत्येक दिन बढ्दै जाँदा नयाँ बिरामीले आईसीयू बेड पाउन छाडेका छन् । ‘बिरामीको संख्या बढ्दै गएकाले आईसीयू र भेन्टिलेटर पाउन मुस्किल परेको हो,’ पाटन अस्पतालका निर्देशक डा.रवि शाक्यले भने, ‘तर बिरामीलाई सधैंभरि आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था हुँदैन ।’ नयाँ आईसीयू खरिद गरेर तुरुन्तै स्थापना गरिहाल्न सक्ने अवस्था नभएको उनले बताए ।

‘कोभिडको उपचार गर्न २ सय ६० बेड छुट्याएका छौं,’ उनले भने, ‘बेड क्षमता बढाउन पनि सकिन्छ ।’ अस्पतालमा जम्मा ६ सय ५० बेड छन् । अहिले अस्पतालमा कोभिडका ८० जना बिरामी भर्ना भएका छन् । हाल कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढ्न थालेको डा. शाक्यले बताए । ‘दैनिक ८ सयदेखि एक हजार पुगेको छ,’ उनले भने, ‘चैत २५ देखि हालसम्म ६ हजारभन्दा बढीले भ्याक्सिन लगाइसकेका छन् ।’ अस्पतालले अन्य रोगको उपचारका लागि आउने बिरामीमा शंका लागेमा पीसीआर टेस्ट पनि सुरु गरेको छ ।

प्रकाशित : वैशाख ४, २०७८ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?