टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुने भएका छन् । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख ९ देखि विद्यालय बन्द गर्न लागेको जानकारी दिए ।

'वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोनासम्बन्धी विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ,' उनले भने ।

यस्तै टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेसन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिने बताएको छ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक आठ, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिए । टोखाले सङ्क्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्

भारतका केन्द्रीय मन्त्री जावडेकरलाई कोरोना

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ । मन्त्री जावडेकरले शुक्रबार साँझ ट्विट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।

‘आज मलाई कोभिड पोजिटिभ पुष्टि भएको छ । पछिल्ला २–३ दिन मेरो सम्पर्कमा आउनेहरुले कृपया स्वास्थ्य परीक्षण गराउनुहोला’ उनले ट्विटमा लेखेका छन् ।

भारतमा विगत केही दिनयता कोरोना संक्रमण भयावह बन्दै गएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार थप २ लाख १७ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको थियो । जुन एकै दिनमा थपिएको संक्रमित संख्याका हिसाबले कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । बिहीबार थपिएका संक्रमितसँगै भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड ४२ लाख नाघेको छ । संक्रमण बढ्ने क्रमसँगै मृत्युदर पनि चिन्ताजनक ढंगले बढेको छ । बिहीबारमात्रै १ हजार १८५ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

भारतका महाराष्ट्र, दिल्ली, मध्यप्रदेश, गुजराज, छत्तीसगढ, कर्नाटक, उत्तरप्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, केरलामा संक्रमण भयावह बन्दै गएको छ । संक्रमण बढेसँग अस्पतालमा बिरामीहरुको भीड पनि बाक्लिएको छ । अस्पतालहरुमा बेड, अक्सिजनको चरम अभाव सुरु भएको छ ।


प्रकाशित : वैशाख ३, २०७८ १८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×