जात्रामय भक्तपुर

मध्यपुर थिमि नगरमा बिहीबार ३२ खटसहितको सिन्दूर जात्रा मनाइँदै 
लिला श्रेष्ठ

भक्तपुर — बिस्केट (बिस्काः) जात्राको पाँचौं दिन अर्थात् नयाँ वर्षको पहिलो दिन तान्त्रिक विधिपूर्वक उभ्याइएको लिङ्गो ढालिएको छ । चैत मसान्तको रातिसम्म भेलुखेलमा बाजागाजासहित लिङ्गो उभ्याउने प्रयास गरे पनि नसकिएपछि बुधबार दिउँसो क्षमापूजा गरेर तान्त्रिक विधिपूर्वक उभ्याइएको ५५ हात लामो लिङ्गो साँझ ढालिएको हो । 

जात्रामय भक्तपुर

दसकर्म विधान गरी लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधी अष्टमातृकाको प्रतीक आठवटा डोरीले बाँधी उभ्याइने प्रचलन छ । लिङ्गोको कोखामा झुन्ड्याइएका ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नास हुन्छ भन्ने धार्मिक मान्यता छ ।

अष्टमातृकाको प्रतीक मानिने लिङ्गोमा नाग–नागिनाको प्रतीकस्वरूप हलिपतका ध्वजा बाँधेर फहराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाइने परम्परा छ । लिङ्गो ढालिसकेपछि साँझ नै भेलुखेलबाट भैरवनाथ र भद्रकालीको रथ गाःहिटी पुर्‍याइएको छ । जात्राको आठौं दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ । यसलाई नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । जात्राको नवौं दिन वैशाख ५ गते बिहान तालाक्वस्थित उभ्याइएको ज्याठा गणेशको हात नभएको लिङ्गो ढालिन्छ र बेलुका जात्राको पहिलो दिन जस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गरिने परम्परा छ ।

बिस्केटलाई सहकालको देवताको प्रतीकका रूपमा समेत लिइने इतिहासविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । बिस्केट जात्राअन्तर्गत बिहीबार मध्यपुर थिमि नगरमा ३२ खटसहितको सिन्दूर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइँदै छ । मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूर जात्रा मनाइने परम्परा रहेको छ ।

जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दूर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ ।

सिन्दूर जात्रासँगै मध्यपुर थिमिको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइन्छ । गत वर्ष कोरोना महामारी संक्रमण रोकथामका लागि भन्दै जात्रा औपचारिक पूजामा सीमित गरे पनि यस वर्ष सयौंको उपस्थितिमा जात्रा मनाइएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जात्रालाई औपचारिक पूजामा सीमित गर्न अनुरोध गरेको थियो ।

अरू पर्वले पनि भक्तपुर जात्रामय बनेको छ । सूर्यविनायक नगरपालिका सिरुटार र दधिकोटको संगमस्थल चरखण्डी मन्दिरमा बुधबार स्नान गरी जात्रा मनाइएको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर चरखण्डीश्वर महादेवको पूजा गरे शरीरका सबै रोग नास भई पुण्य प्राप्त हुने जनविश्वास छ । सूर्यविनायकको चित्रपुर, ललितपुरको टीकाथलीस्थित गुप्तेश्वर महादेव, चाँगुनारायणको सुडाललगायत स्थानमा खटसहितको जात्रा मनाइएको छ ।

प्रकाशित : वैशाख २, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?