कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डढेलो निभाउन जाँदा जलेर मृत्यु

जलेको शरीर रुखमा अड्केको अवस्थामा फेला
२०६१ देखि २०७५ चैत ५ सम्म मुलुकभर डढेलोले १०६ जनाको ज्यान लियो
प्रशान्त माली

ललितपुर — वनमा लागेको डढेलो निभाउने क्रममा जलेर ललितपुरको वाग्मती गाउँपालिका–७ गिम्दी, उर्लामा एक जनाको मृत्यु भएको छ । जिल्लाकै अति विकट र जोखिमयुक्त क्षेत्र मानिने उर्लाको धराप डाँडा सामुदायिक वनमा लागेको डढेलो निभाउन जाँदा ५९ वर्षीय सन्तलाल सिंगारको मृत्यु भएको हो ।

डढेलो निभाउन जाँदा जलेर मृत्यु

बुधबारदेखि सम्पर्कविहीन भएका सिंगारको शव भोलिपल्ट मात्रै जलेर रूखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ‘वनमा लागेको आगोको लप्काले घर भेटाउन खोज्यो । घर बचाउन डढेलो निभाउन जाँदा उनी चिप्लिएर रूखमा

अड्किएको देखिन्छ,’ महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र थापाले भने, ‘रूखमा नअड्किएको भए ज्यान जोगिन पनि सक्थ्यो ।’ घटनास्थल अति विकट क्षेत्र भएकाले पनि घटनाबारे ढिलो जानकारी मिलेको प्रहरीको भनाइ छ । नयाँ घाँस र पालुवाको लोभमा कसैले वनमा आगो लगाएको हुन सक्ने थापाको अनुमान छ । ‘आगो लगाउने व्यक्तिको खोजी भइरहेको छ,’ उनले भने ।

सामान्य परिवारका सिंगारका एक छोरा र श्रीमती छन् । गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन छलफल भइरहेको बताए । ‘गाउँपालिकाको बैठकमा प्रस्ताव लैजाने तयारीमा छौं,’ उनले भने ।

उर्ला लगनखेलबाट करिब ४५ किलोमिटर दक्षिणमा पर्छ । दक्षिणी ललितपुरलाई उपत्यकाका तीन जिल्लामा डढेलोको ‘हटस्पट’ को रूपमा समेत लिइन्छ । गत साउनयता मात्रै यहाँका लेले, आस्राङ, भट्टेडाँडा, कालेश्वर, चौघरे, ठूलादुर्लुङ, बगुवालगायत ८ स्थानमा डढेलो लागिसकेको छ । जसबाट करिब ३० हेक्टरभन्दा बढी वनक्षेत्रमा क्षति पुगेको छ । प्रहरीको तथ्यांकअनुसार २०६१ देखि २०७५ चैत ५ सम्म मुलुकभर डढेलोले १०६ जनाको ज्यान लिएको थियो ।

सबैभन्दा बढी २०६६ मा ४९ जनाको मृत्यु र ९ जना घाइते भएका थिए । यो वर्ष मात्रै खोटाङ र गुल्मीमा गरी दुई जनाको मृत्यु भइसकेको छ । वन विभागका प्रवक्ता बलराम पौडेलले प्रत्येक वर्ष डढेलोका बारेमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेको बताए । ‘डढेलो नियन्त्रण गर्न गृह मन्त्रालयमा जस्तो स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वयको अभाव छ,’ उनले भने, ‘प्राकृतिक प्रकोप भएकाले पनि नियन्त्रणमा त्यति सजिलो छैन ।’

प्रकाशित : चैत्र ३१, २०७७ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?