पत्रकार महासंघ कान्तिपुर शाखा अध्यक्षमा गिरी- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकार महासंघ कान्तिपुर शाखा अध्यक्षमा गिरी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले द काठमाडौं पोष्टका पत्रकार अनिल गिरिको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ ।

बुधबार सम्पन्न निर्वाचनले उपाध्यक्षमा बुद्धिसागर मरासिनी, महिला उपाध्यक्षमा फातिमा बानु र सचिवमा सुरज कुँवर चुनेको छ ।

त्यसैगरी सहसचिवमा कृष्णशरण पौडेल, समावेशी सहसचिवतर्फ चन्दनकुमार मण्डल र कोषाध्यक्षमा यज्ञ बञ्जाडे चुनिएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा किशोर बस्नेत, प्रकृति दाहाल, कृष्णा प्रसाईं, नुमा थाम्सुहाङ, बुनु थारु, सुजाता मुखिया, रामकृष्ण श्रेष्ठ, उपेन्द्रराज पाण्डेय, गोविन्द अर्याल, सीमा तामाङ र क्रान्ति पाण्डे चुनिएका छन् ।

शाखाले महासंघको सर्वोच्च निकायका रुपमा रहेको राष्ट्रिय परिषद्‌मा राजेन्द्र बस्नेत, जितेन्द्र साह र अंश्रिका देवानलाई सदस्य चुनेको छ भने प्रदेश परिषद् सदस्यमा दिनेश यादव, दिनेश रेग्मी, विनोद घिमिरे, लक्ष्मी भण्डारी, नुमाकान्त पौडेल, पुष्कर पन्थी, विशेश्वर श्रेष्ठ र सुशिला तामाङ चुनिएका छन् ।

थापाथलीस्थित कान्तिपुर मतदान केन्द्रमा बुधबार प्रदेश र केन्द्रका लागि कान्तिपुर प्रतिष्ठान शाखाका १ सय १३ र रेडियो कान्तिपुर शाखाका २६ गरी १ सय ३९ जना मतदाता थिए । मतदानमा यी दुवै शाखाका १ सय २६ मतदाता सहभागी भएका थिए ।

यसैबीच बुधबारै रेडियो कान्तिपुर शाखाले पत्रकार बासु खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, सचिवमा सुरज राजथला, कोषाध्यक्षमा बिनु बस्नेत चुनिएका छन् । त्यसैगरी सदस्यमा प्रेम सागर भट्टराई, नवराज भण्डारी र रवि श्रेष्ठ चुनिएका छन् । रेडियोले राष्ट्रिय परिषदमा परमानन्द खनाल र प्रदेश परिषदमा प्रतिक्षा खनाल र अनिल परियारलाई चुनेको छ ।

दुवै शाखाले निर्विरोध कार्यसमिति सहितका पदाधिकारी छानेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७७ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्

सहरी वनको सौन्दर्य

अमेरिकाको फिलाडेल्फियामा नागरिकले रूख रोप्न माग गर्नुभन्दा करिब ४ सय वर्षअघि नै नेपाली राजा जयस्थिति मल्लको पालामा सहरमा रूख रोप्नु र हुर्काउनुपर्छ भन्ने चेतनाको विकास भएको थियो ।
उत्तमबाबु श्रेष्ठ

काठमाडौँ — सन् १७९२, फिलाडेल्फिया, अमेरिकाका नागरिकहरूले त्यहाँका मेयरसमक्ष ज्ञापनपत्र मार्फत एउटा माग राखे । त्यो माग धारा, बिजुली, सडक, ढल निकासजस्ता सहरी पूर्वाधारहरूको निर्माणका लागि थिएन । त्यसमा सहरका पाँचवटा सार्वजनिक चोकहरूलाई बेवास्ता गरिएकोमा चिन्ता जाहेर गर्दै मेयरको ध्यानाकर्षण गराइएको थियो ।

र, भनिएको थियो, ‘रूखबिरुवाले हावा शुद्ध बनाउने कुरा अकाट्य भएकाले ती चोकहरूमा रूख बिरुवा रोप्नका लागि हामी जोडदार माग गर्छौं ।’ जनताका मागलाई मेयरले सुने र त्यसको दुई वर्षपछि ती चोकहरूमा लहरेपीपलका रूखहरू रोपिए । बान्की मिलाएर रूख रोपिएको त्यो ठाउँ बिस्तारै जनता विचरण गर्ने स्थानको रूपमा परिणत भयो । सहरका रूख बिरुवालाई सम्भार र हेरचाह गर्नका लागि भनेर सन् १८९६ देखि त्यहाँ तालिमप्राप्त जनशक्ति (अर्वोलोजिस्ट) को भर्ती गरिन थालियो । फिलाडेल्फियालाई अमेरिकी अन्य सहरले पनि सिको गर्न थाले र जन्मियो— सहरमा व्यवस्थित सहरी वन बनाउने उपक्रमको सिलसिला ।

अमेरिकाको फिलाडेल्फियामा नागरिकले रूख रोप्न माग गर्नुभन्दा करिब ४ सय वर्षअघि नै नेपाली राजा जयस्थिति मल्लको पालामा सहरमा रूख रोप्नु र हुर्काउनुपर्छ भन्ने चेतनाको विकास भएको थियो । फूल र बगैंचाको हेरचाह गर्नका लागि भनेर छुट्टै समुदाय (माली) को उपस्थितिले त्यसको प्रमाण दिन्छ । मल्लको पालामा मानिसहरूलाई मूलबाटो, पानीको मुहान, इनारवरपर रूख रोप्न लगाइन्थ्यो । बाटो वरपरका रूख काट्नेलाई ठूलो जरिवाना गरिन्थ्यो र जेल सजायसम्म दिइन्थ्यो । मल्ल राजाहरूको सार्वजनिक ठाउँमा रूख रोप्ने परम्परालाई थप परिष्कृत गर्दै राणाहरूले आफ्नै दरवारभित्रका बगैंचाहरूमा रूख रोप्न थाले । अहिले पनि राणाकालीन दरबारका चौघेराभित्र त्यस्ता केही रूख बाँचिरहेका देख्न सकिन्छ । दिनेशराज भुजू र नारायणप्रसाद गैह्रेले गरेको अध्ययनअनुसार, काठमाडौंमा निकै पहिले रोपिएको रूख (सल्ला) कुमारी मन्दिरमा पनि भेटिन्छ । डेन्ड्रोक्रोनोलोजीको सहायताले उनीहरूले त्यो रूख सन् १८७३ तिर रोपिएको अनुमान गरेका छन् । सिहंदरबारको बगैंचामा रोपिएको अर्को सल्लाको रूख पनि उक्त दरबार बनाउने बेलातिर अर्थात् सन् १९०० तिर चन्द्रशमशेरको पालामा रोपिएको उक्त अनुसन्धानले देखाएको छ । चन्द्रशमशेरले आफू युरोप घुमेर आएपछि त्यहाँबाट प्रभावित भई सयौं रूख सडक किनारामा रोप्न लगाएका थिए । मंकी पजल ट्री भनिने अरुक्यारियालाई युरोपबाट ल्याएर लैनचौरमा त्यही बेला रोपिएको थियो ।

रूख रोप्नुपर्छ भन्ने शताब्दीपहिलेकै त्यो विकसित चेतना यतिखेर हाम्रा सहरहरूमा गायब छ । पुर्खाले रोपिदिएका ती ऐतिहासिक रूखलाई काठमाडौं उपत्यकामा ‘विकास’ ले खाइदिएको छ । परिणामत: हाम्रो सहर उराठलाग्दो कंक्रिटको जंगलमा फेरिएको छ । शिव पोख्रेलले गरेको अध्ययनअनुसार, काठमाडौंमा खुला ठाउँ र सहरी वनको क्षेत्रफल करिब २.३ वर्ग किलोमिटर (४.६७ प्रतिशत) मात्रै छ । उक्त हरित क्षेत्रलाई काठमाडौंको जनसंख्याले भाग गर्ने हो भने प्रतिव्यक्ति १ वर्गमिटरभन्दा कम हरियाली क्षेत्र पर्छ । जबकि विश्व स्वास्थ्य संगठनले कम्तीमा प्रतिव्यक्ति ९ वर्गमिटरका दरले सहरमा खुला हरियाली क्षेत्र हुनुपर्छ भनेको छ । त्यसकारण, अन्तर्राष्ट्रिय सहरी मापदण्डअनुसार हामी उपत्यकावासी सहरमा होइन, साँघुरो ठाउँभित्र खुम्चिएर, टाँसिएर, एकआपसमा ठोक्किँदै उकुसमुकुसमा बसिरहेका छौं । तर विडम्बना मुलुकका अन्य सहरले पनि यही ‘यथास्थितिवादी विकास मोडल’ पछ्याइरहेका छन् ।

सहरी वनका फाइदा

सहरी वनले वातावरणीय मात्रै होइन आर्थिक, सामाजिक, मनोवैज्ञानिक, मानव स्वास्थ्यसँग सम्बन्धित थुप्रै फाइदा दिने कुरा अध्ययनहरूले देखाएका छन् । जस्तै, कार्बन सोस्ने काम । सहरका कलकारखाना, यातायातका साधन, भवनहरूबाट उत्सर्जन हुने कार्बनलाई सहरी वनले सोस्ने काम गर्छ । सहरका भवन, सडकलगायतका भौतिक संरचनाहरूले सूर्यबाट प्राप्त तापलाई कम सोस्छन् तर हरित संरचनाको तुलनामा बढी ताप उत्सर्जन गर्छन् । त्यसरी उत्सर्जित ताप सहरमा थुप्रिँदा सहर उच्चतापीय टापुमा रूपान्तरित भएको हुन्छ । त्यसैले सहरको भित्री भागको तापक्रम बाहिरी क्षेत्रको भन्दा अक्सर २–३ डिग्री सेल्सियससम्मले बढी हुन्छ । जसलाई सहरी तापको टापु (अर्बन हिट आइल्यान्ड) भनिन्छ । तर सहरमा प्रशस्त हरित संरचनाहरू भएमा तिनीहरूको छहारी र पातबाट पानी फाल्ने (ट्रान्स्पिरेसन) प्रक्रियाको शीतलताले सहरको बढ्दो तापक्रमलाई न्यूनीकरण गर्न मद्दत गर्छ । अस्ट्रेलियाको एडेलेड सहर गरिएको अध्ययनले सहरमा हुने हरियालीले दिउँसोको तापमानलाई ५–६ डिग्रीसम्म कम गराउन सक्ने देखाएको थियो । त्यसकारण सहरी वन अहिले जलवायु परिवर्तनको कारण बढ्दो र भविष्यमा बढ्ने सहरी तापमानलाई नियन्त्रण गर्न उपयोगी पूर्वाधार हो । यसअतिरिक्त, जलवायु परिवर्तनको कारक कार्बन सोस्ने भएकाले सहरी वन जलवायू परिवर्तन न्यूनीकरणको उपाय पनि हो ।

मानव जाति सहरमा बस्न थालेको करिब ७ हजार वर्ष मात्र भएको छ तर रूखबिरुवासँगको सामीप्यता हाम्रो उत्पत्ति भएदेखिकै हो । त्यसकारण रूखबिरुवासँग हाम्रो जन्मजात (इभोलुसनरी इन्स्टिङ्ट) नाता सम्बन्ध छ । हामीलाई हरियालीको सामीप्यले आनन्द र मानसिक शान्ति दिन्छ । हरियाली वातावरणमा बस्ने मानिसहरूमा डिप्रेसन कम हुने अध्ययनहरूले देखाएका छन् । त्यसैगरी प्राकृतिक वातावरणमा खेलेर हुर्कने बच्चाहरूको मानसिक वृद्घिदर राम्रो हुने अन्य अध्ययनहरूले देखाएका छन् । बढ्दो सहरीकरणसँगै बढिरहेको मानसिक स्वास्थ्य समस्यालाई रोक्न, हाम्रा बच्चाहरूमा देखिएको स्क्रिन (मोबाइल, ट्याब, टीभी) को लतलाई कम गर्दै बाहिर हिँडडुल गराउने वातावरण बनाउन पनि सहरी वन आवश्यक छ ।

हाम्रोजस्तो प्रदूषित सहरमा सहरी वनले प्रदूषणको प्रभाव कम गर्छ । रूखबिरुवाको पातलगायतका सतहमा वायु प्रदूषणका कारक मानिने मसिना धूलोका कणहरू टाँसिने दर सिमेन्टको संरचनामा भन्दा ३० औं गुणा बढी हुन्छ । त्यस्तै, सहरी वनले ससाना स्तनधारी जीव, चराचुरुंगी, कीरा आदिलाई आश्रय र बासस्थान प्रदान गरी जैविक विविधता संरक्षणका लागि सहयोग पुर्‍याउँछ । प्रशस्त खुला हरियाली भएको ठाउँको घरजग्गाको मूल्य पनि बढी हुन्छ । काठमाडौंको दरबारमार्गलाई सडकका दुवैपट्टि रोपिएका रूखहरूले गर्दा पनि धेरैले मन पराएका हुन् । सहरी वनले वर्षातको पानी सोसेर बाढी नियन्त्रणमा सहयोग गर्छ । अध्ययनहरूले सहरी वनले शारीरिक सक्रियता र सामाजिक आत्मीयता बढाउन भूमिका खेल्ने देखाएका छन् । यी सबै फाइदाहरूको आर्थिक मूल्य ठूलो छ । उदाहरणका लागि अस्ट्रेलियाको राजधानी क्यानवेरामा एक शताब्दीपहिले रोपिएका ४ लाख रूखले यतिखेर वार्षिक १ करोड पचास लाख डलर बराबरको सेवा–सुविधा दिइरहेका छन् । बेलायतमा भएका सहरी वनहरूले त्यहाँ वायु प्रदूषणको प्रभाव न्यूनीकरणका लागि गरेका योगदानको आर्थिक मूल्य एक बिलियन पाउन्ड बराबर छ ।

सहरी वनको फरकपन

सहरी वन यसले दिने सेवा–सुविधा, यसको घनत्व, रोपिने प्रजाति, क्षेत्रफल हरेक हिसाबले अन्य वन क्षेत्रभन्दा फरक किसिमको जंगल हो । विश्व खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार, सहरी क्षेत्र वरपर हुने एउटा वा केही रूखको समूहलाई सहरी वन भनेर बुझिन्छ । यसअन्तर्गत सडक किनारामा रोपिएका, पार्क, बगैंचामा लगाइएका केही रूख र सहरमा भएका बाक्ला जंगल सबै पर्छन् । त्यसैले, सहरी वनको व्यवस्थापनअन्तर्गत एउटा विशिष्ट रूखको रोपण र स्याहारदेखि ठूलो क्षेत्रमा ‘ल्यान्डस्केप लेभल’ मा संरक्षण गर्नेसम्मका कुरा समेटिन्छन् । बस्ती भएको ठाउँमा रोपिने भएकाले यसका लागि सहरी योजनासम्बन्धी ज्ञान हुनु जरुरी छ । त्यसैले, सहरी वन व्यवस्थापनका लागि सहरी विकास, बागवानी, वन विज्ञान, ल्यान्डस्केट अर्किटेक्ट, वातावरण विज्ञानलगायतका विभिन्न विधाको समष्टिगत ज्ञान आवश्यक छ ।

नेपालमा भने सहरी वन व्यवस्थापनका लागि हालसम्म यस्तो बहुविधागत संस्था नै छैन । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले सहरी वनको संरक्षण संवद्र्धन, उपयोग, अनुगमन र नियमन गर्ने भनिएको छ । त्यसका लागि चाहिने प्राविधिक सहयोग डिभिजन वन कार्यालय वा सब–डिभिजन वन कार्यालयले उपलब्ध गराउने कुरा वन ऐनमा उल्लेख छ । अन्तरसंस्था सहकार्य नेपालको ठूलो समस्या भएकाले यस्तो संरचनागत प्रणाली निकम्मा हुने पक्का छ । संरचनागत व्यवस्थापनको अभावकै कारण यसअघि उपत्यकाभित्र ३० हजार रूख रोप्ने, प्रतिघर दुई बिरुवा अनिवार्य गर्ने योजना कार्यान्वयन भएन । उपत्यकामा १ लाख बिरुवा रोप्ने दुई वर्षअघिको कार्यक्रम पनि सफल भएन । संरचनागत प्रणाली अभावको प्रभाव हाम्रा सहरी वनमा देख्न सकिन्छ । सडकवरपर सीमित संख्यामा रोपिएका बिरुवा सहरी वनको विज्ञानमा आधारित नभएर मनमौजी ढंगले रोपिएका छन् । त्यसकारण, सहरी वन व्यवस्थापनका लागि कम्तीमा महानगर र उप–महानगरपालिकाभित्र छुट्टै निकायको गठन अनिवार्य छ, जसले यहाँको भू–उपयोग र पूर्वाधार निर्माणमा सहरी वनको अवधारणालाई पनि समेट्न सकोस् ।

सहरी वन व्यवस्थापनका लागि सहरी वन विकास कोषको निर्माण गर्न सकिन्छ । हाल प्रचलित सहरी वनको अभ्यासमा सडकवरपर र पार्कमा निजी क्षेत्रले सामाजिक उत्तरदायित्वका लागि रूख रोपेको पाइन्छ । भिन्न निकायको काम भएकाले त्यसमा योजना र एकरूपता देखिँदैन । उपत्यकाको वातावरणको भयावह अवस्था हेर्दा जोसुकैले पनि आर्थिक सहयोग गर्न सक्ने एउटा सहरी वन कोष बनाएर त्यसअन्तर्गत सहरी वन निर्माण र विस्तारलाई युद्घस्तरमा लान सकिन्छ । उक्त कोषअन्तर्गत काठमाडौं भ्याली विकास प्राधिकरणले पहिचान गरेका खाली ठाउँहरूमा तत्कालै सुहाउँदो बिरुवा रोप्न सकिन्छ ।

उपत्यकामा सन् १९९० पछि विस्तार भएका सीतापाइला, गोंगबु, बालाजु, नयाँबजार, सिनामंगल, कपन, बौद्घजस्ता क्षेत्रमा सहरी वन लगभग देखिँदैनन् । यतिखेर ठूलो संख्यामा प्लटिङ भइरहेका गोदावरी, लुभु, भक्तपुर, चोभार कीर्तिपुर, थानकोटमा पनि पुरानै नियति दोहर्‍याउन नदिन कम्तीमा प्लटिङ अनुमति दिँदा सहरी वनको मापदण्डलाई कडाइका साथ लागू गर्न सकिन्छ ।

अन्त्यमा, सहरी वन सडक, भवनजस्तो रातारात बन्ने पूर्वाधार होइन, रूख हुर्कन लागि दशकौं लाग्छ । त्यसकारण नयाँ बिरुवा रोप्नु त छँदै छ तर वर्षौं लगाएर हुर्काइएका रूखहरूको संरक्षण पनि जरुरी छ । अहिलेको हाम्रो यथास्थितिवादी विकासको मोडलले सहरी वनलाई विकासको बाधक ठान्छ, त्यसको अभावमा हाम्रो सहर बस्न अयोग्य हुँदासम्म पनि । जयस्थिति मल्लले सयौं वर्षअघि बुझेको सहरी वनको आवश्यकतालाई हामीले बुझ पचाउँदा यहाँ आइपुगेका छौं । सहरी वन विकासको बाधक होइन, सहरको फोक्सो हो भनेर हामीले कहिले आत्मसात् गर्ने ?

(बिहीबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट )

प्रकाशित : चैत्र २५, २०७७ १९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×