हानिकारक कस्मेटिक उत्पादन गर्ने एक उद्योगी पक्राउ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हानिकारक कस्मेटिक उत्पादन गर्ने एक उद्योगी पक्राउ

गोदाम, बिक्री स्थलमा शिलबन्दी
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले हानिकारक मेहेन्दी र कस्मेटिक उत्पादन गरी बिक्री गर्ने हबिब काला कोकिला हिनाज उद्योगमा शिलबन्दी गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुगमनमा उक्त उद्योगको उत्पादनस्थल, भण्डारण तथा बिक्री स्थलहरु शिलबन्दी गरिएको हो । त्यसक्रममा संलग्न एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

विभागका प्रवक्ता शिवराज सेडाईका अनुसार गोप्य सूचनाका आाधरमा ती उद्योगमा अनुगमन गरिएको थियो । त्यसक्रममा विदेशीका ट्रेडमार्क/ब्राण्ड प्रयोगगरी जनस्वास्थ्यमा हानी नोक्सानी पुग्नेगरी अप्रमाणित रसायन मिश्रण गरी मेहेन्दी लगायतका तीन दर्जनभन्दा बढी प्रकारका कस्मेटिक बस्तुगोप्य भण्डारण, आयात र बिक्री गरेको फेला परेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ विपरीत अनुचित व्यावसायिक क्रियाकलाप गरेको फेला परेपछि शिलबन्दी गरिएको विभागले जनाएको छ । ‘कलंकीस्थित मेहन्दी र मलतानी माटो प्याकिङ गर्ने उद्देश्यसहित घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको रहेछ । उद्योगमा बिना केमिस्ट आफ्नो हिसाबले सामान प्याकिङ गर्ने गरेको देखियो । हानीकारक हुने बस्तु उत्पादन गरेको देखिएकाले तत्काल शिलबन्दी गरेका छौं,’ प्रवक्ता शिवराज सेडाईले भने, ‘त्यसमा संलग्न उद्योगको गाडीसहित एक जनालाई पक्राउ गरेका छौं ।’ विभागका अनुसार उक्त उद्योगमा साइनबोर्ड पनि छैन । उद्देश्य प्याकिङ गर्ने भनिए पनि आयात पनि गरेको देखिन्छ । ‘मेड इन इन्डिया’ उल्लेख पर्याप्त र्‍यापर पनि फेला परेको छ । ‘धेरै शंकास्पद देखिएको छ,’ उनले भने, ‘थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएका छौं ।’






प्रकाशित : चैत्र २४, २०७७ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी प्रदेशसभाका दुई सदस्य कारबाहीमा

दल परित्याग गरेको प्रदेशसभामा जानकारी
घनश्याम गौतम

रूपन्देही — निर्वाचित दल परित्याग गरेका लुम्बिनी प्रदेशसभाका दुई सदस्य कारबाहीमा परेका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको चैत १३ गतेको निर्णय अनुसार दल परित्याग गरेका रूपन्देहीको निर्वाचन क्षेत्र नं १ ख का दधिराम न्यौपाने र गुल्मीको निर्वाचन क्षेत्र नं २ ख का दिनेश पन्थीको पद मंगलबारको प्रदेश सभाको बैठकले रिक्त भएको घोषणा गरेको हो । दुवै प्रदेशसभा सदस्यले माओवादी परित्याग गरी प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीमा केन्द्रीय सदस्य बनेका छन् ।

दुवै जनालाई नेकपा माओवादीको लुम्बिनी प्रदेशसभाको राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ एवं दफा ३२ को उपदफा १ को खण्ड ख बमोजिम कारबाही गरिएको पत्र सभामुख पूर्णबहादुर घर्तिले सभालाई जानकारी गराएका हुन् । उक्त दफामा दल परित्याग गरेको खण्डमा सोही पार्टीको संसदीय दलको निर्णय र पार्टीले कारबाही गरेको जानकारी प्रदेशसभालाई दिएको उक्त पद रिक्त हुने व्यवस्था छ ।

दुई प्रदेशसभा सदस्य कारबाहीमा परेसँगै लुम्बिनी प्रदेशसभामा अब प्रदेशसभा सदस्यको संख्या ८५ भएको छ । माओवादी केन्द्रका २० सांसदबाट १८ जना भएका छन् ।

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन पनि मंगलबार रातिदेखि अन्त्य हुने भएको छ । सभा अन्त्य सम्बन्धी प्रदेश प्रमुख धर्मनाथ यादवको पत्र सभामा पढेर सुनाइएको थियो । सभा अन्त्य गर्न सोमबारको मन्त्री परिषद्को बैठकले सिफारिस गरेको थियो । चैत १८ गतेबाट सुरू भएको सातौं अधिवेशन पांचवटा बैठक मात्र बसेर अन्त्य भएको हो ।

प्रकाशित : चैत्र २४, २०७७ १५:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×