काठमाडौं महानगर र सिसडोलवासीबीच सहमति भएन

काठमाडौँ — काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच भएको वार्ता सफल हुन नसकेपछि उपत्यकाको फोहोर अझै नउठ्ने भएको छ । महानगर र सिसडोलवासीबीच बुधबार र बिहीबार वार्ता भएको थियो ।

काठमाडौं महानगर र सिसडोलवासीबीच सहमति भएन

बिहीबारको वार्तामा महानगरका मेयर विद्यासुन्दर शाक्य बीचमै उठेर हिँडेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको फोहोरमैला प्रभावित शिक्षक व्यवस्थापन संघर्ष समितिका संयोजक अनिश शर्मा ढुंगानाले बताए । ‘त्यसपछि हामीले विद्यार्थीलाई नियमित रूपमा सडकमै पढाएर विरोध गर्ने भनेका थियौं,’ उनले भने, ‘पछि मेयरसाबको आँखाको समस्या भएको थाहा पाएपछि मानवताका हिसाबले पनि थप सडक संघर्ष नगर्ने तर फोहोरको अवरोध भने यथावत् राख्ने निर्णय गरेका छौं ।’ वार्ता सकारात्मक भए पनि शुक्रबार सहमति हुन नसके थप सडक संघर्ष गर्ने उनले बताए ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सिसडोलवासीसँग बृहत् छलफल भए पनि सहमति हुन नसकेको बताए । ‘मेयर अस्वस्थ हुनुहुन्थ्यो, छलफलमा केही समय सहभागी भएपछि उहाँ उपचारका लागि निस्किनुभयो,’ उनले भने, ‘त्यसपछि सिसडोलवासीले मेयरसाबकै अगाडि छलफल गर्ने भनेपछि वार्ता स्थगित भयो ।’ सिसडोलवासीसँग भोलि पनि वार्ता हुने भएकाले छलफल गरेर फोहोर व्यवस्थापनको समस्यालाई टुंग्याउने उनले बताए ।

सिसडोलवासीले महानगर र सरकारसँग यसअघि भएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आएका छन् । सिसडोल ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्नेलगायत यसअघि भएका सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

काठमाडौं महानगरसहित उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने काम चैत १३ देखि पूर्ण रूपमा बन्द छ । काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर १३ वर्षदेखि सिसडोलमा विसर्जन गरिँदै आएको छ । हाल दिनहुँ १२ सय मेट्रिक टन फोहोर सिसडोल पुर्‍याइन्छ । काठमाडौं महानगरबाट मात्रै दिनहुँ ५ सय मेट्रिक टन फोहोर निस्किन्छ । दीर्घकालीन फोहोर व्यवस्थापनका लागि सरकारले नुवाकोटकै बन्चरेडाँडामा १७ सय रोपनी जग्गा अधिग्रहण गरी ल्यान्डफिल साइट निर्माण गरिरहेको छ ।

प्रकाशित : चैत्र १९, २०७७ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?