समान श्रम, ज्यालामा विभेद

मजदुरीमा पुरुषजति नै खटिने गरेका महिलाले श्रमको उचित मूल्य पाएनन्
लिला श्रेष्ठ

भक्तपुर — उदयपुर गाईघाटकी अञ्जु र उनका पति श्रीधर कार्की ढलानको काम गरेर गुजारा चलाउँछन् । अञ्जु बिहान उठेदेखि रातिसम्मै काममा खटिएकी हुन्छिन् । ‘बिहान उठ्यो, घरको सरसफाइ गर्‍यो, खाना पकाईवरी बालबच्चालाई विद्यालय पठाएपछि काममा जान हतार हुन्छ,’ उनले भनिन्, ‘दिनभर जोइपोइ सँगै काममा व्यस्त हुन्छौं ।’

समान श्रम, ज्यालामा विभेद

पतिपत्नी नै ढलानका लागि मसला घोल्ने, गिट्टीबालुवा बोक्नेलगायतका समान श्रम गर्छन् । अञ्जुले पाउने र श्रीधरले पाउने ज्यालामा भने भिन्नता छ । ‘लोग्ने मान्छेले १ हजारदेखि बाह्र सय रुपैयाँसम्म ज्याला पाउँछन्, हामी आइमाईलाई ७ सय ५० रुपैयाँ दिइन्छ,’ उनले भनिन्, ‘भारी बोक्ने, मसला बनाउने काम त एउटै हो, धेरैथोरै मात्र होला ।’ दिनभरको ज्याला–मजदुरीले मात्र अञ्जुको कर्तव्य पूरा हुँदैन । कामबाट फर्किएपछि बेलुकाको चुलोचौका पनि उनकै हातमा छ । ‘लोग्ने मान्छेलाई घरको जिम्मेवारी छैन,’ उनले भनिन् ।

झापा गौरादह घर भई बानेश्वर बस्ने शर्मिला र बलराम परियारका पतिपत्नी ढलानका काम गर्न बनेपासम्म पुग्छन् । अञ्जुको जस्तै शर्मिलाको कामको प्रकृति पनि उही छ । ढलानको काम गरेरै शर्मिला दम्पतीले तीन छोरी र एक छोरालाई शिक्षादीक्षा दिइरहेका छन् । उनीहरू ढलानका लागि मसला घोल्ने, गिट्टीबालुवा बोक्नेलगायत समान श्रम गर्छन् । तर ठेकेदारले ज्यालामा भेदभाव गर्ने गरेको शर्मिला बताउँछिन् ।

उल्लिखित उदाहरण त प्रतिनिधि मात्र हुन् । दिनभर सँगै काममा खटिएका महिला र पुरुषले पाउने ज्यालामा अन्य क्षेत्रमा पनि यस्तै अन्तर पाउने गरिएको छ । ‘हामी दुवै जना काममा उत्तिकै खटिन्छौं । तर हामीले पाउने ज्यालामा विभेद छ,’ शर्मिलाले भनिन्, ‘३ देखि ५ सय रुपैयाँको अन्तर छ ।’

बालुवाखानीमा काम गर्न झापा गौरादहबाट भक्तपुर छिरेका उनीहरू खानी बन्द भएयता ढलानको काममा लागेका हुन् । कोभिड–१९ को बढ्दो संक्रमणका कारण झन्डै नौ महिना कामविहीन उनीहरू डेढ महिनायता ढलानको काममा व्यस्त छन् । ‘आजकल काम पाइरहेका छौं । एक दिन पनि खाली बस्नुपरेको छैन, काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेको बनेपासम्म ढलान टोलीमा पुग्छौं,’ शर्मिलाले भनिन् । जुनसुकै काममा पनि महिलाको ज्याला आधा प्रतिशत नै कम भएको उनी बताउँछिन् ।

लोकतन्त्र, गणतन्त्र जे आए पनि महिलाको कामको उचित मूल्यांकन नहुने उनको गुनासो छ । ‘चुलोचौका, बालबच्चाको स्याहारको त मूल्यांकन नै छैन,’ उनले भनिन्, ‘बाहिर पतिपत्नी सँगै काम गर्दा पनि पुरुष र महिलामा भिन्नता देखाउँछन्, आखिर खटाइ उत्ति नै हो ।’ अझ ज्याला वा ठेक्कामा काम गर्दा महिला नआइदिओस् जस्तो व्यवहार देखाउने उनीहरूको गुनासो छ । ‘पुरुषले भन्दा महिलाले दोब्बर खटेर काम गरेका हुन्छन्,’ काभ्रे बनेपाकी आरती श्रेष्ठ भनिन्, ‘घरधन्दा गर, लुगा धोऊ, सरसफाइ गर, छोराछोरी स्याहारसुसार गर, सासूससुरा स्याहार अनि पतिसँगै ज्याला–मजदुरी पनि गर । समानता त पहुँचवाला महिलाका लागि मात्रै रहेछ, ज्याला–मजदुरीमा लागू हुने कहिले ?’ सार्वजनिक बसमा आरक्षण सिटको वकालत गर्नेले ज्यालाको विभेदलाई देख्न नसकेको मजदुरी गर्ने महिलाहरूको गुनासो छ ।

सोमबार १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा ज्यालादारीमा काम गर्ने महिला मजदुर भने पुरुषसरह श्रममा व्यस्त देखिन्छन् । समान कामको समान मूल्यांकन हुन नसक्दा महिला पछाडि पर्न बाध्य भएको सरोकारवाला बताउँछन् । ‘एक मजदुर महिला बिहानबेलुका चुलोचौका भ्याएर दिनभर पतिसँगै भारी बोक्छन् । तर ज्याला लिने बेला आधा मात्र,’ सूर्यविनायक नगरउपप्रमुख जुना बस्नेतले भनिन्, ‘जबसम्म राज्यले महिलाको कामको मूल्यांकन गर्न सक्दैन, तबसम्म अवस्था उस्तै रहन्छ ।’

प्रकाशित : फाल्गुन २५, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?